Literature

हाउडी पुराण

आजसम्मको पौराणिक इतिहास केलाएर हेर्ने हो भने विभिन्न पुराणहरूका बारेमा विभिन्न विद्वान्हरूले प्रकाश पारिसकेको देखिन्छ । तर ‘हाउडी पुराण’ का बारेमा आजसम्म कसैले केही नलेखेको हुनाले लेख्ने काम गरेको हुँ । यो पुराण कहिले लेखियो र यसक लेखक को हुन् भन्ने सम्बन्धमा अझै यकिन हुन सकेको छैन तापनि यो पुराणको किताब ‘बेबिलोनको ह्याङ्गिङ गार्डन भित्र छ’ भनेर मेरा एक जना मित्र भन्नुहुन्छ । कतै म जस्तो ८० के.जी. तौल भएका हेमानका व्यक्तिलाई पनि त्यस पुराणका पाता पल्टाउन हम्मेहम्मे पर्छ भन्ने अनुमान गरिएको छ । मेरो विचारमा यत्रो ‘हाउडी पुराण’ का रचनाकार व्यास नभएर उनका बुढाबाबु नै हुनु पर्छ । त्यसैले यो पुराण अठार पुराणभित्र नपरेर उन्नाइसौं पुराणभित्र पर्छ । पाँडे पुराण, साँढे पुराण, भालुपुराण, भुँडी पुराण, आलु पुराण, पिँडालु पुराण, मायालु र बैंसालु पुराण, संसद् पुराण आदि विभिन्न पुराणहरूमध्ये सबै भन्दा महत्वपूर्ण पुराण ‘हाउडी पुराण’ नै हो । यस पुराणभित्र विभिन्न काण्डहरू छन्, जस्तै धार्मिका काण्ड, आर्थिक काण्ड, राजनीतिक काण्ड, शैक्षिक काण्ड, भौगोलिक काण्ड, साहित्यिक काण्ड आदि । यस पुराणका धार्मिक काण्डभित्र धेरै चाखलाग्दा कुराहरू अध्ययन गर्न सकिन्छ । सगर राजाका साठीहजार छोराहरू एउटै रानीबाट एकै पटक जन्मिएका थिए भनेर ‘हाउडी पुराण’ रचयिताका नाति व्यासले आफैं लेखेका छन् । अब तपाईं एउटा नानी जन्माउन बेथा लाग्दै गरेकी अाफ्नी श्रीमती र साठीहजार नानीहरू जन्माउन तम्तयार भएकी सगर राजाकी श्रीमतीको पेटको तुलना गर्नुहोस् । ‘हाउडी पुराण’ को महत्व आफैं स्पष्ट भइहाल्छ । अनि उनै व्यासले श्रीकृष्णका सोर हजार एकसय आठ ओटी रानी थिए भनेर पनि लेखेका छन् । यस्ता कुरा लेखेको हुनाले पनि यस पुराणलाई भनेजति र सक्तो सहयोग पुगेको छ । यसमा आजका महिलाहरूले ईष्र्या गर्नुपर्ने कुनै जरुरी छैन । अचेल यत्रतत्र पुराण लाग्दैछन् । एकजना  व्यासाचार्यले पुराणकाे साङ्गेका दिन जजमानकी धर्मपत्नी दान थापेर धर्म गरेको कुरा पनि यसै काण्डमा पढ्न पाइन्छ । अब तपार्इँ यस पुराणका आर्थिक काण्डमा उल्लेख भएका विभिन्न कुराहरूको अध्ययन गर्न सक्नुहुन्छ । हाम्रा देशका एक जना मन्त्री र अर्का एक जना पत्रकारकाे  बहस पनि यसै काण्डभित्र पर्छ । पत्रकारकाे अन्तर्वार्तामा हाम्रा देशका मन्त्रीजी  भन्छन्- ‘विगत दिनको तुलनामा हाम्रो देश धेरै धनी भएको छ, देशको आम्दानीले देशलाई ओढ्नु ओछ्याउनु भइको छ ।’ यो सुनेर पत्रकार भन्छन् – ‘कति होला त हाम्रो देशको वार्षिक आमदानी मन्त्रीजी ?’ गौरवपूर्ण स्वरमा मन्त्रीजी उत्तर दिन्छन् – ‘चार खरब !’  आश्चर्य मान्दै पत्रकार भन्छन् –  ‘बाह…यो जम्मै आफ्नै देशको आमदानी……?’ पत्रकारको यो उच्छ्वासमय  वचन सुनेर मन्त्रीजी भन्छन् – ‘यसमा त्यस्तै गाेड जति मात्र वैदेशिक सहयोगबाट प्राप्त भएको छ । यस बाहेक अरू जम्मै आफ्नै देशको आमदानी हो ।’ यी कुराहरू सुनेर मलाई पनि यो काण्ड धेरै राम्रो लागेको छ । यो ‘हाउडी पुराणान्तर्गत’ आर्थिक काण्डमा वर्णन गरिएको मन्त्री माननीय सम्वाद पढ्नाले यस लोकमा सुख सम्पत्ति पाई परलोकमा पनि मुक्ति मिल्नेछ । आर्थिक काण्डपछि राजनीतिक काण्ड शुरु हुन्छ । यो पनि आर्थिक काण्ड भन्दा कम महत्वपूर्ण छैन । राजनीतिक काण्डभित्र गलैंचा काण्ड, गाई काण्ड, झोडा काण्ड आदि अनेक विशेष काण्ड पनि छन् । यो काण्डमा आफ्ना आफ्नै इष्ट देवताहरू छन् । यिनीहरूको नाम यहाँ उल्लेख गर्नु भन्दा सम्झेर जान्नु नै वेश हुन्छ । विशेष गरेर ‘हाउडी पुराण’ को राजनीतिक काण्ड वाचन गर्ने पण्डित सारै सिपालु हुनुपर्छ । हात्तीलाई भुसुना र भुसुनालाई हात्ती बनाउन सक्ने वाचकी उपवाचकीको मात्र आवश्यकता पर्छ यहाँ । झापामा पनि यस पुराणका वाचकीहरू प्रशस्त छन् । यहाँका झन्डै भू.पू. माननीय र निर्वाचित माननीयजीहरूले जताततै बिजुली निकालिदिएर झिलिमिली बनाइदिएका छन् । घरघरै पैनी, वर्षामा हिले पुल र चैत वैशाखमा धुले पुलको सारै राम्रो प्रबन्ध मिलाइदिएको छ । झापाका एकजना वरिष्ठ ००२१% माननीयजीले माइकबाट गाउँपिच्छे भन्नु भएको थियो, “सबै क्षेत्रमा मेरो भोट सोलिड छ, मलाई नै भोट दिनुहोला ।” होला तानि भनेर आफूले पनि चिल्लै भोट उहाँलाई नै दिइयो । उहाँले भनेको सोलिड ठीकै रहेछ, किनभने लगभग १ लाख खसेकोमा उहाँको बाकसमा झन्डै दुईसय दस जति भोट खसेको रहेछ । अर्का एकजना अझ वरिष्ठ राजनीतिक कार्यकर्ताको बारेमा पनि यसै काण्डको गफडी अध्यायमा पढ्न पाइन्छ । उहाँलाई ‘कति वर्षको हुनुभो हजूर ?’ भनेर प्रश्न गर्दा यही २०३९ सालको क्षयमासमा साठी लागेको कुरा बताउनुहुन्छ । “नेपालमा राजनीति गर्न लागेको कति भयो र केके गर्नुभयो ?” भन्ने प्रश्नको उत्तरमा उहाँ यसो भन्नुहुन्छ—‘मैले २०१९ सालदेखि पञ्चायतमा हात हालेको हुँ । त्यसपछि ७ वर्ष प्रधानपञ्च, साढे नौ वर्ष जिल्लापञ्चायतको सदस्य, १३ वर्ष जति सभापति र १५ वर्ष जति माननीय भएर अन्त्यमा स्व. महेन्द्रको पालामा ६ वर्षसम्म भारतको राजदूत पनि चलाएँ ।’’ “हजूर संयुक्त राष्ट्रसंघको सदस्य पनि हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ मैले त….।” भन्ने कुराको उत्तरको रूपमा उहाँ भन्नुहुन्छ,—“अँ……१२ वर्षजति त्यो काम पनि गरेर अनुभव बटुलें, अनि त्यो काम कान्छाबालाई गर्दै गर है भनेर छाड्न बाध्य भएँ । किन बाध्य भएँ भनौला, त्यहाँ बस्ता संयुक्त राष्ट्रसंघको महासचिब खाइदेउ कि खाइदेउ, भनेर दिक्क लाए । अब आफूलाई इन्टेस नभएको कुरो के खाइरनु, अब बूढो पनि भइयो भनेर छाडेको । त्यो पद आजीवन हजूरकै लागि भयो, हजूरले बसिदिनै पर्छ भनेर ओहो……. कति हैरानी पारेका भने……..!” हाउडी पुराणको अर्काे काण्डको नाम भौगोलिक काण्ड हो । यस काण्डमा धेरै चाखलाग्दा कुराहरू पर्छन् । यस काण्डको अन्तरराष्ट्रिय होइन राष्ट्रिय पण्डितमा मेरो नाम लिँदा तपाईंहरूलाई पाप लाग्दैन बरु धर्मै हुन्छ । किनेभने मैले जापान, बेलायत, रुस, अमेरिका, अष्ट्रिया, अफ्रिका, कोरिया आदि धेरै देश विदेश घुमेको छु । जोन केनेडीसँग एक वर्षसम्म सँगै बाख्रा चराइयो भने राष्ट्रपनि ब्रेजनेभ र मैले एउटै गुरुबाट रुद्री पढेका हौं । भारतको त कुरै छाडौ…..। भारतका बारेमा ता के कुरा गर्ने ? भारतका पूर्वप्रधानमनत्री जवाहारलालकी छोरी इन्दिरा गान्धी कसकी मितिनी हुन्, थाहा छ तपाईंहरूलाई ? तपाईंहरू भन्नुहोला यसलाई त संसारकै जोग्राफीको ज्ञान रहेछ…….। भन्नु उसो होइन, यो कुरामा अलिक गडबड भएको छ, किनभने कुनै देशमा पनि म एक वर्ष भन्दा कम बसेको रेकर्ड छैन, तर आफ्नो अभाग नै भनौं जोग्राफीमा भने नौ महिना भन्दा बढी बस्ने मौकै परेन । त्यसकारण त्यस देशका बारेमा भने मलाई कमै मात्र थाहा छ ।” उप¥युक्त काण्डहरूबाहेक हाम्रो देशमा शैक्षिक काण्डको त्यत्तिकै महत्व छ । यसबाट हाम्रो शैक्षिक, साहित्यिक, सांस्कृतिक गतिविधिको राम्रोसँग अध्ययन गर्न सकिन्छ । शिक्षाको गुणस्तर बढाउनका लागि अथदेखि इतिसम्मका व्यक्तिहरू कटिबद्ध भएका छन् । एक कक्षामा १०० देखि १५० सम्म विद्यार्थी राखेर तिनलाई राम्रो शिक्षादीक्षा दिएर गुणस्तर बढाउन हामी शिक्षकहरू सफल भएका छौं भने विद्यार्थीहरूको संख्याका अनुपातमा शिक्षक दरबन्दीको समुचित व्यवस्था नमिलाइदिएर सम्बन्धित निकाय अझै गौरवान्वित भएको छ । छातीमा हात राखेर नढाँटी भन्ने हो भने हामी कतिपय शिक्षक भनाउँदाहरू पनि हाउडीको भरमा ठगबहादुरको वारेस लिई पैसो पचाउने मेलो गर्छाैं । भन्नु हुँदैन, नाक रहँदैन भने जस्तै कतै कतै कक्षामै राउन्नेका भाइको पाठ खेलिरहेका हुन्छौं । शिक्षक मात्र होइन विद्यार्थीहरू त झन् के छन्, छन् ! कुनकुन अनिवार्य विषय हुन् र कुनकुन इच्छाधीन विषयहरू हुन् भनेर करीब करीब उनीहरू सबैलाई थाहा भइसकेको हुन्छ । खालि कसैले भन्न मात्र नसकेको हो, तिनका विषयमा अभिभावकहरू केही भनुन् त आफ्नै छोराछोरी परे, अनि शिक्षकहरू केही भनुन् त आफ्नै विद्यार्थी परे । आकाशतिर फर्केर थुक्ता आफ्नै मुखमा ता पर्छ नि ! होइन र……..अब आयो इच्छाधीन विषयको कुरा । यी विषयहरूमा हिजोआज प्रायः धेरैजसो विद्यार्थीहरूले राजनीति, गुन्डावृत्ति र लफङ्गेनीति विषयहरू लिएका हुन्छन्, किनभने यी विषयहरू पढ्न त्यति कठिन पर्दैन र उनीहरूको नाम ‘हाउडी पुराण’को पानामा सदासदाका लागि लेखिन्छ । हुनत भनाइ र गराइमा धेरै अन्तर भएको कारण भन्न भन्दा गर्न बहुत मुस्किल छ । विचरा विद्यार्थीहरूले पनि कतितिर भ्याउन् । बिहान घरबाट एक अँगालो किताब बोकेर नहिंडी हँुदै हुुँदैन । विद्यामन्दिर मात्र होइन चलचित्र मन्दिर पनि भ्याउनै प¥यो । यसो भएपछि बिचराहरूले परीक्षामा ‘हाउडी’ उत्तर नदिए के दिउन् त बरा….! हाउडी पुराणको साहित्यिक काण्डको पनि हिजोआज अलेलि नाम चल्न थालेको छ । नेपाली साहित्यका कविहरू जतासुकै छ्यास्छ्यास्ती छन् । यस काण्डका एकजना आशु कवि लेख्छन्— नाम्लो बिना भारी बोक्न सकिंदैन, दाँत बिना हड्डी टोक्न सकिंदैन, अनि रक्सी बिना नाच्न सकिँदैन, झन् कान्छी बिना बाँच्न सकिंदैन । त्यस्तै अर्का एक जना कविले–

विहङ्गम विकराल भीमकायरूपी क्षितिजको व्योमशीलाको सुशीलाले आधारशीलाको एउटा हिमाङ्कित कृष्णशीलामा निर्विकल्प पञ्चायती व्यवस्थाले असंलग्न परराष्ट्रनीतिमा आँच आउन नदिने दिनानुदिन साइँली र मेरो प्रेम बढाएको छ । आदि लेखेर ‘युगकवि’ को दर्जा पाएका छन् । ‘अपि मासं मसं कुर्यात्, छन्दोभङ्गं नकारयेत्’ जस्ता सिद्धान्त मान्ने अर्का एकथरी कवि देख्दा हामी तीनछक्क पर्छौं । ‘कान्छीको भुँडी क्या राम्रो, जेठीको तिघ्रा झन् राम्रो’ जस्ता गीत गाएर लोकप्रिय सफल गायक भएका व्यक्तिहरू तपाईं हाम्रै सामुन्ने छन् । यसरी ‘हाउडी पुराण’ ले धेरैजसो क्षेत्र ओगटेको छ तापनि यसको महात्म्य भने त्यति लामो छैन । महात्म्यमा उल्लेख भएअनुसार यो पुराण छोटो अनि मोटो छ, यसको महिमा अपार एवम् असार छ, जुन व्यक्तिले यो पुराण एक पटकसम्म पनि पढ्ने वा सुन्ने काम गरेको छैन त्यसको जिन्दगी बेकार छ, पढेर पनि एक खित्का नछाड्नेले अर्काे जन्ममा आफंैलाई धिक्कार्छ । उप¥युक्त महिमाका अतिरिक्त यस पुराणका मुख्य तीन विशेषताहरू छन् भन्ने कुरा रामेको बाबु च्यामेलाई पनि थाहा छ । यो पुराण जसले मन लगाएर पढ्छ, त्यसको नाक, जसले ध्यान दिएर सुन्छ, त्यसको आँखा र जसले एक टक लगाएर हेर्छ त्यको कान सोझै स्वर्ग जान्छन् यसमा कुनै सन्देह छैन । हाउडी पुराण (२०५२)

Standard
Literature

नमस्कारका केही उत्तरआधुनिक अर्थहरु

नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । यसका पर्यायका रूपमा नमस्ते, दर्शन, जयनेपाल, अभिवादन, लाल सलाम आदि शब्दहरु प्रयोग, प्रचलनमा रहेका छन् । उपर्युक्त शब्दहरुका आआफ्नै विशेषता छन् । प्रस्तुत लेखमा नमस्कार शब्दको मात्र शैक्षिक ( शिक्षक–विद्यार्थी केन्द्रित ) र राजनीतिक अर्थहरु केलाउने जमर्को गरिएको छ । यसमा पनि दृष्टार्थ भन्दा अदृष्टार्थलाई र अभिधार्थ भन्दा व्यङ्ग्यार्थलाई कोट्याउन खोजिएको छ । यो लेखकको नितान्त आत्मपरक हेराइ हो । नमस्कारका अर्थहरुलाई यसप्रकार लिन सकिन्छ —
१.शैक्षिक अर्थ— नमस्कार शब्द मात्र होइन वाक्य पनि हो । उद्देश्य र विधेय नभएको अथवा कर्ता, कर्म, क्रिया नभएको पदलाई कसरी वाक्य भनिन्छ ? भन्नुहोला, तर बनिन्छ, मजाले बनिन्छ; किनभने उद्देश्य र विधेय यसका गर्भमै छन् । कसैले नमस्कार भन्ने बित्तिकै नमस्कार थाप्ने व्यक्तिले स्वतः कुरा बुझ्छ । किन कर्ता, कर्म, क्रिया नलगाई नमस्कार गरिस् ? भनेर रिसाउँदनैन ।
नमस्कारको सामान्य शाब्दिक अर्थ अभिवादन हो र यसभन्दा बढी अरु पनि हो; तर स्थान, समय, परिस्थिति अनुसार यसका विविध अर्थ हुन सक्छन् । यसका कायिक, वाचिक र मानसिक अर्थहरु सामयिक र पारिस्थितिक हुन्छन् । नमस्कारको एउटा ढिकुटी विद्यालय हो । अर्थगत रूपमा प्रथमिक तह र निम्न माध्यमिक तहका विद्यार्थीहरुको नमस्कार अभिधात्मक हुन्छ भने माध्यमिक तहभन्दा माथि यसको अर्थ अभिधात्मक र व्यञ्जनात्मक दुबै हुन्छ, तर तुलनात्मक रूपमा व्यञ्जनात्मक अर्थ बोकेको नमस्कारको प्रयोग अत्यधिक मात्रामा भएको पाइन्छ । सबै विद्यार्थी चाहिँ होइन अधिकांश विद्यार्थीहरु र तिनका अभिभावकहरु परीक्षा सुरु हुनुभन्दा केही दिन अघिदेखि दिनमा जतिपल्ट भेट्यो त्यतिपल्ट लामो लेघ्रो तानेर न म स् का र्र्र्र ‘‘सर ! भन्छन् । यो नमस्कार अलिक लद्दुलद्दु खालका विद्यार्थी र तिनका अभिभावकको हो । अब यहाँ नमस्कार को अर्थ अभिवादन नभएर विद्यार्थी पास गराइदिनू भन्ने लागेको छ । परीक्षा भएको केही दिनपछि नतिजा प्रकाशित हुन्छ, त्यसपछि पर्छ पढाउने शिक्षकलाई महाको फसाद । फेल हुने विद्यार्थी र तिनका अभिभावकहरुबाट पाएको नमस्कार शिक्षकले पचास प्रतिशत ब्याज लगाएर फिर्ता गर्नुपर्छ । अझ फेल हुने कुन्डले, मुन्द्रे, झ्याम्ले, खोयाबिर्के आदिले साइकल कुदाएकै बेला नमस्कार्र्ꜛ भने भने त्यो झन् खतरा हो । यसको अर्थ खबरदार !!! अब तँ मास्टरहरुलाई खतरा छ भन्ने हुन्छ भने यही वर्गका छात्राहरुले गरेको नमस्कारको अर्थ अर्कै हुन्छ । उनीहरुको नमस्कारबाट मरीजा ! तेरो किरीया परोस् ! मास्टर भनाउँदा भुणे मोरा !!! भन्ने अर्थ ध्वनित हुन्छ ।
यति मात्र कहाँ हो र । पास हुने विद्यार्थी र अभिभावक पनि नमस्कार गर्नुपर्छ भनेर अर्कापटि फर्केर हिड्छन् । कथं जम्काभेट भइहाल्यो भने पनि नमस्कार्ꜛ भन्छन् आरोही स्वरमा । आरोही स्वरमा नमस्कार गर्नुको अर्थ अँ हामी आफैं पास भएका होइनौ, यहाँ हजुरले चैं पास गराइदिएको होला ! भन्ने हुन्छ । सबै विद्यार्थीमा यही कुरा लागू हुन्छ भन्ने छैन । पास हुने होस् या फेल हुने कुनैकुनै विद्यार्थी त सारै ज्ञानी हुन्छन् । यस किसिममका विद्यार्थीको नमस्कारमा कुनै किसिमको पूर्वाग्रही अर्थ ध्वनित भएको पाइदैन ।
प्राथमिक र निम्नमाध्यमिक तहका विद्यार्थीहरुको नमस्कार निश्छल एवं स्वच्छ हुन्छ भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ तापनि मेरो एउटा सानो पूर्वानुभवले सो निश्छलताको पुष्टि गर्ने छ । आजभन्दा ३८/३९वर्ष अघिको कुरा हो, त्यसबेला अहिलेको कनकाई उच्च मावि, कनकाई निमावि थियो । प्र अ म स्वयम् थिएँ । सुरुङ्गा बजारमा २/४ घर मात्र थिए । वजार पश्चिम बाक्लो जङ्गल थियो । त्यसबेला सो जङ्गलले चर्पीको काम पनि गरेको थियो । कुनै एक बिहानको घटना हो सधैंझैं म दिसा बस्न जङ्गल गएँ र अगाडि पानीको लोहोटा राखेर के बसेको मात्र थिएँ, नमस्कारको मसिनो आबाज आयो कानमा । त्यस्तो जङ्गलभित्र कसले, कहाँ, कसलाई नमस्कार गरेको आबाज आउँदैछ ! म छक्क परेँ । फोनको घण्टी बजेजस्तै गरी लगातार नमस्कारको आबाज आइरहेको थियो । आफनो दाहिनेतिर हेरेँ कोही थिएन, अगाडि हेरें कोही थिएन, देबे्रतिर हेरें कोही थिएन । ए बाबा कस्ले यसरी नमस्कार गर्दैछ भनेर यसो पछाडि मुन्टो फर्काएर हेरेको त सात कक्षामा पढ्ने आफ्नै विद्यार्थी मिल्ट्रीको सतर्क अवस्थामा उभिएर दुबै हात जोडेर मेरो दयनीय अवस्थालाई अभिवादन गर्दै रहेछ । मेरो सातोपुत्लो उड्यो । डरले होइन, अर्थोकै केले हो केले । दिसाले आफनो दिशा बदल्यो, फर्क्यो आफ्नै जन्मघरतिर । मैले त्यस निर्दोष विद्यार्थीको नमस्कार नफर्काइकन कुलेलम ठोकें । त्यो मेरो विवशता थियो; तर निकैबेरसम्म पनि त्यही ठाऊँबाट नमस्कारको आबाज आइरहेको थियो तापनि नमस्कार फर्काउन नसकेकोमा पछुतो गर्नु बाहेक मेरो कुनै उपाय थिएन । त्यसको भोलिपल्ट म विद्यालय जान सकिन, बिदा लिएँ र सोही दिन जङ्गलमा खाडल खने, झिक्राले बारें र बेलुका ढुक्कले अघिल्लो दिनको बाँकी कामसमेत खप्टिएर एकैचोटि पुरा गरें । वास्तविक विद्यार्थीको नमस्कार कतिसम्म शक्तिशाली हुँदो रहेछ भन्ने कुरा यसबाट अनुमान गर्न सकिन्छ ।
२. राजनीतिक अर्थ— नेताले जनतालाई गर्ने नमस्कार र जनताले नेतालाई गर्ने नमस्कारमा पनि अर्थतात्विक भिन्नता रहेको हुन्छ । विशेष गरी भोट माग्ने नेताहरु भोट हुनुअघि प्रत्येक भोटदाताका घरघरमा नमस्कार भन्दै हिंड्छन् दसै औंला जोडेर । दस औंला जोडेर नमस्कार गर्ने पनि आआफ्नै किसिमका कला हुन्छन् । मेरा एकजना अभिन्न मित्र नमस्कारका ठाउँमा नारायन नारायन भन्नुहुन्छ सधैं । हामी त्यसको अर्थ बुझेर नमस्कार भन्छौं । उहालेँ नाइटालाई बीच पारेर दुई हात जोडे पनि त्यसको अर्थ नमस्कार नै हुन्छ; तर भोट माग्ने नेताले दस औंला जोडेर गरेको नमस्कार र मेरा मित्रले दस औंला जोडेर गरेको नमस्कारमा आकाश र पातालको फरक छ । निहुर्मुन्टी न भएर दुई हात निधारमाथि राखी नमस्कार !!! भन्न थालेपछि नेता एकोहोरो हुँदा रहेछन् । यो दृश्य सारै हेर्न लायक हुन्छ । एकपटक एकजना निकै नाम चलेका नेताले भोट माग्ने क्रममा गौ मातासँग पिरती गाँस्तै गरेका शिववाहनलाई पनि एक नमस्कार ठोकेछन् । आफ्नो नाम मतदाता सूचीमा नभए पनि भोट माग्यो भनेर हो या अन्य कुनै कारणबाट हो शिववाहनले गौमातालाई यसो कोट्याएर आकाशतिर हेरी एक खित्का छोडेछन् । यस्तै छ नेताको नमस्कार गराइ ।
नेताले गरेको नमस्कारको वास्तविक अर्थ मतदातालाई त्यतिबेर थाहा नभए पनि माथि गएर मन्त्री भइसकेपछि थाहा हुन्छ । उनीहरु आफ्ना टाउकामा हात राखेर नेताले गरेको नमस्कारको यस किसिमको वर्णपरक भित्री अर्थ थाहा पाउँछन् –
न=नमस्कार
म=मलाई भोट दिएर माथि पठाउनु भयो भने
स्= सत्ते, गाईको मुत खाने होला
का= काठमाडौंमा बसी लाखौको कार चढेर
र= राष्ट्रको ढिकुटी रित्याएर भए पनि तपईंहरुको चिल्लै सेवा गर्नेछु ।
उपर्युक्त अर्थका अतिरिक्त अरू पनि धेरै व्यञ्जनात्मक अर्थ हुन सक्छन् नेताजीका नमस्कारमा । भोट जितेर मन्त्री भएपछि हिउँदमा धुले पुल र बर्खामा हिले पुल बनाइदिने प्रतिज्ञालाई पनि नमस्कारकै अर्थमा लिन सकिन्छ ।
यी त भए भोट हुनुभन्दा अघि गरिएका नमस्कारका अर्थ । भोट जितेपछि र मन्त्री भएपछि नमस्कार गर्ने पालो आउँछ मतदाताको । बिचरा निरीह मतदाताले भित्री हृदयदेखि गरेको नमस्कार खोलाको गीत हुन्छ । मन्त्रीक्वाटर र मन्त्रालयभित्र नमस्कार छिर्न पाउँदैन भने कारभित्र नमस्कार सुनिदैन । नेता/मन्त्रीले जनताको नमस्कार फर्काइहाले भने पनि त्यस नम्मस्कारको अर्थ यस्तो हुन्छ—
न= नमस्कार गर्या होला
म= म, मेरो परिबार र मेरा चम्चेसमेत
म= मर्सिडिज कार, मन्त्री क्वाटर र
स्= सिंहदरबारभित्र बस्याबेला
का= कान पटक्कै सुन्दिन अनि
र= रतन्धो र दिनान्धो पनि भएको छु ।
नेताले गरेको नमस्कारमा वर्णाक्षरात्मक अर्थ मात्र नलागेर शब्दवाक्यात्मक अर्थ पनि लाग्न सक्छ विद्यार्थी र अभिभावकले गरेको नमस्कारमा जस्तै । कुनैकुनै नेता वा मन्त्रीले मात्र अभर पर्दा नमस्कार फर्काउँछन्; तर सो नमस्कारको उच्चारण उर्ध्व अनुत्तानमा गरिएको हुन्छ । यस किसिमबाट गरिएको नमस्कार्र्ꜛको ध्वन्यार्थ हुन्छ – हामीले भोट दिएर जिताएका थियौं, अब हाम्रो क्षेत्रलाई सहयोग गर्नुपर्यो भनेर सहयोग माग्न आएका हौ भने जुन बाटो आएका थियौ खुरुक्क त्यही बाटो लाग । नत्र मेरो बडी गार्डले मुन्ट्याएर चारभन्ज्याङ कटाइदिन्छ, थाहा छ ? अब त सहयोगको कुरा सिब ! आफूलाई त पुग्या छैन ! ! !

Standard
Literature

मच्छड संस्कृति : झुलभित्र र बाहिर

मच्छड शब्दको अक्षरीकरण गर्दा यसमा दुई अक्षर रहेको पाइन्छ भने वर्णगत हिसाबमा म्+अ+च्+छ्+अ+ड् =मच्छड भएको देखिन्छ । यसमा दुईवटा स्वर र चारवटा व्यञ्जन गरी जम्मा छवटा वर्ण छन् । मच्छड अध्ययन तथा अनुसन्धान केन्द्रबाट गरिएको मच्छड शब्दको वर्णगत अर्थ यसप्रकार छ —
म् = मेचीदेखि महाकालीसम्मका मतदातालाई मोहित बनाएर मत लिई माथि पुगेका मतलबी माननीय र मन्त्रीहरूबाट मन्त्रित मनोमानी मान्छे मास्ने मानवाधिकारवादी महिला मच्छड अथवा मस्कोइटोहरू; अ=अँध्यारामा अतिक्रनण गरेर अकालमृत्यु गराउन सक्ने अख्तियार पाएको भए पनि; च् = (त्यस) चन्डाल चुसाहाको ज्यान चोर औँलाको चान्चुने चड्कनमै च्वाट्ट चुडिन सक्छ; छ = छाडा छाउरीले छक्याएर छेपारीमा छुरा धस्छ र छिद्र छिद्र पार्छ; अ = ऐजन ऐजन; ड् = डिस्को डान्स गर्दै देश डस्नेहरूको डाहभन्दा डङ्गुरबाट डराउँदै आएर पातलो डसनामा डल्लो परेर सुतेकालाई डसेर डेंगु सार्नेको डाह डबल कम हुन्छ ।
उपर्युक्त स्पष्टीकरणबाट मच्छड शब्दको अर्थ स्वतः स्पष्ट भएको छ । दिनभर भूमिगत हुनु र रातभर मिठो स्वरमा गीत गाएर गरिब मानिसहरूलाई डस्नु मच्छडहरूको काम, कर्तव्य र अधिकारभित्र पर्ने कुरा हो । यिनीहरूको संस्कृतिभित्र पर्ने केही झलकहरू यस लेखमा देखाउने जमर्को गरिएको छ ।
म सधैं झुल लगाएर सुत्छु । यो मेरा लागि नित्यकर्म जस्तै भएको छ । सुत्नुभन्दा अघि झुलभित्र पसेका सबै मच्छड बाहिर निकालेर सुत्नुपर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । तर म झुलभित्र पसेर निदाउनै नपाई झुलबाहिर भेला भएका विभिन्न पार्टीका मच्छडहरूमध्ये राष्ट्रिय स्तरका पार्टीप्रमुख र तिनका कार्यकर्ताहरू एक आपसमा विवाद गर्दै झगडा गर्न थाल्छन् । त्यहाँ कुनकुन पार्टीको प्रतिनिधित्व भएको छ भनेर यसो विचार गर्दा निम्न लिखित पार्टीहरू रहेको पाइन्छः
१. नेपाल भाइरस मलेरिया समाजवादी पार्टी,
२. अखिल नेपाल भाइरस स्वाइनफ्लु डिभलप्मेन्ट पार्टी,
३. भाइरस इन्सेफलाइटिस सारक एन्ड जनमारक पार्टी,
४. भाइरस डेंगु क्रान्तिकारी पार्टी,
५. भाइरस कालाजार तराई –इन्डिया एकता पार्टी,
६. भाइरस इन्फ्लुएन्जा पञ्चायत रिटर्न पार्टी
उपर्युक्त पार्टीबाहेक मच्छडका अन्य पार्टीहरू हाम्रो देशमा कार्यरत छन् । यिनीहरू चाहिं अन्तर्राष्ट्रिय स्तरमा पनि ख्यातिप्राप्त भएकाले यहाँ नाम उल्लेख गरिएको हो । माथि उल्लेख गरिएका पार्टीमध्ये केहीले एनोफिलिस जात–जातिको प्रतिनिधित्व गरेका छन् भने केहीले क्युलेक्स जात–जातिको प्रतिनिधित्व गरेका छन्, तर लिङ्गीय रूपमा यी सबै पार्टीभित्र भालेको प्रतिनिधित्व शून्य छ । मच्छडमा मातृसत्तात्मक शासन प्रणाली कायम रहेको हुनाले यसो भएको हुनसक्छ । शायद यिनीहरूले विश्वका अन्य मातृसत्तात्मक देशका मच्छडबाट सिकेर यो प्रणाली लागु गरेका होलान् ।
म सधैं झुलभित्र पूर्व–पश्चिम लमतन्न भएर सुत्छु । झुललाई घेरेर बसेका विभिन्न पार्टीका मच्छडहरू कोही मेरा दाहिनेतिर, कोही मेरा देब्रेतिर, कोही मेरा शिरतिर, कोही मेरा गोडातिर अनि कोही मेरा माथितिरको मेरो शरीरलाई विभिन्न भागमा विभक्त गरी आआफ्नो राज्य बनाउन चाहन्छन् । त्यसमा पनि आत्मनिर्णय सहितको अग्राधिकार हुनुपर्ने रे उनीहरूलाई । उनीहरूको झगडा सुन्दासुन्दै म निद्रामा मग्न हुन्छु ।
एकनिद्रा सुतेर उठ्दा पनि प्रान्तीय राज्यको वादविवाद अझ चर्किदै गरेको सुनिन्छ । पिसाप गर्न निस्कनै पर्छ रातमा एकदुई पटक । त्यति बेला ह्वार्रै मच्छडहरू पस्छन् र मलाई राति निन्द्रा न दिन भोक बनाउँछन् । के गर्नु हाइ काड्दै भए पनि सुत्नै पर्छ । जब म सुत्छु तब झुलभित्र पसेका मच्छडरूको नाटक सुरु हुन्छ । यो नाटक भानुभक्तले जेलभित्र देखेको नाटक भन्दा अलिक फरक हुन्छ । मृदङ्गो मुख लेपेन करोति मधुर ध्वनिम् भन्ने पुरानो सँस्कृतको उक्तिजस्तै मच्छडहरू कानमै आएर गीत गाउँदै परिक्रमा गर्छन् । सैनिकको मार्चपासमा सलामी अर्पण गरेजस्तै पालैपालो पार्टी नेताहरू क्रमशः भन्दै जान्छन्ः लालसलाम, जयनेपाल, नमस्ते, अभिवादन, सेबारो, जयरामजीकी आदि इत्यादि शब्दले दिने अर्थ बोकेका शब्दहरू । पार्टी नेता र कार्यकर्ताले गरेका नमस्तेऽर्थक कोमल शब्दहरूले म आफु फुस्लिएको र फुर्किएको थहा नपाइकन भुसुक्कै निदाएको नाटक गर्छु । म निदाएको सङ्केत बुझेपछि ठुलाखाले नेताहरू आआफ्ना कार्यकर्ताहरूलाई सुसूचित गर्दै भन्छन्— हामी खान नपाउन्जेल मात्र आआफ्ना पार्टीमा हुन्छौ । खाने कार्यमा हाम्रो जात–जाति एक हुन्छ । एक ढिक्का भएर चुस्ने कुरा हाम्रो अधिकार र कर्तव्यभित्र पर्छ । यस्तो सुवर्ण मौका आएका बेला सुतेका मनुवाको शरीरलाई एक मतमा निर्वाध चुस्न छाडेर प्रान्तीय रूपमा शरीरको भागबन्डा लगाउने कुरा गर्न थाल्यौं भने हामी भोकै हुन्छौ । खान नपाउँदा मात्र आत्मनिर्णय र अग्राधिकार सहितको जातीय राज्यको कुरा गर्ने हो । बुझ्यौ सबैले ! ल तयारी अवस्थामा बस । आक्रमण !!!
आफ्ना आदरणीय नेताहरूको आक्रमणकारी आदेश सुनेपछि सबै पार्टीका नेता तथा कार्यकर्ताहरू एक भएर दाहिने–देबे्र, पूर्व–पश्चिम, अगाडि–पछाडि सबैतिरबाट मेरो रगत चुस्न थाल्छन् । सहन नसकेर एकछिनपछि म उठ्छु । उनीहरू पुनः गाउन थाल्छन् । मेरो प्रशंसा गर्दै कोही मेरो भजन गर्न थाल्छन् भने कोही उफ्रीउफ्री नाच्न थाल्छन् । तर यसपटक म प्रसन्न हुन सक्दिन; किनभने चारैतिरको चुसाइले मलाई सारै दुखेको हुन्छ र उनीहरूको कूटनीति पनि मैले बुझिसकेको हुन्छु ।
केही प्रतिक्रिया नजनाई बिस्तारै म झुलबाट निस्किन्छु । झुललाई बाहिरबाट थिचथाच गरी मच्छडका नेता र कार्यकर्तालाई भित्रै थुनेर कोठा बाहिर सुत्छु झुल नलगाई । सबै नेता कार्यकर्ता झुलभित्र थुनिएका हुनाले म निस्फिक्री निदाउँछु । भोलिपल्ट पनि म हिजोकै ठाउँमा गएर सुत्छु झुलबिनै । बेलुका म सुतेपछि दुई÷चार पार्टीका नेता र कार्यकर्ताको आवाज पर्छ मेरा कानमा, तर ती पनि झुलतिरै जान्छन् मलाई नहेरी । शिकार झुलभित्रै छ भन्ने कुरामा विश्वस्त भएर उनीहरूले त्यसो गरेको हुनसक्छ । उनीहरू झुलभित्र पस्न खोज्छन् तर सग्दैनन् । झुलभित्र र झुलबाहिरका मच्छडका नेता÷कार्यकर्ताको घमासान वाक्युद्ध चल्छ । बाहिरकाले भन्छन्– तिमीहरू मात्र झुलभित्र बसेर रजाइँ र मोजमज्जा गर्ने ! तिमीहरू मात्र अघाउने, हामी चाहिँ भोकै बस्ने ! कि हामीलाई पनि भित्र लैजाऊ कि तिमीहरू पनि बाहिर आऊ । भित्रकाहरू एक कानले सुनेर अर्का कानले उडाउँछन् । सो वाक्युद्ध खान पाउने र नपाउनेका बिचको वाक्युद्ध होला भन्ने अनुमान लगाउँछु ।
तिनचार दिनपछि झुलभित्र के हुदैछ भनेर म हेर्न जान्छु । झुलभित्र घमासान रूपमा जातीय युद्ध चर्किरहेको हुन्छ । झुलबाहिर रहँदाकै भाषा बोलिरहेका हुन्छन् सबै पार्टी र जात–जातिका मच्छडहरूले । आत्मनिर्णयको अधिकार सहितको जातीय एवं दलीय राज्यका लागि मेरो सिरकलाई चारैतिर घेरेर परस्पर भिडिरहेका भाइरस–लामखुट्टे पार्टीहरू एक हप्तापछि सबै समाप्त हुन्छन् परस्पर मारामार गरेर । झुलभित्रको दृष्य हेरिरहेका झुलबाहिरका एनोफिलिस र क्युलेक्सका सङ्गठित पार्टीका नन्भाइरस नेता र कार्यकर्ताहरू सुटुक्क जङ्गल पस्छन्, आम सभा गर्छन् र विश्वभरिकै मच्छड एक हुने प्रण गर्छन् ।
०००

Standard