Literature

साहित्याकाशका हिरा

१. परिचय

कृष्णबहादुर पराजुली र नर्मदा पराजुलीका पुत्ररत्नका रूपमा झपाको शिवगन्ज ८ मा जन्मिएका हिरा पराजुली (२०१० … ) को स्थायी वसोवास भानु नगर भद्रपुरमा रहेको पाइन्छ । उनको साहित्यिक नाम चाहिं हिरा आकाश हो । यिनी आङ्ख Continue reading

Advertisements
Standard
Literature

सर्वजाको सार्विक पक्ष

Komal photo259927_106752439417415_395541_n

लेखक

झापाली स्रष्टा तेराख प्रयोगवादी लेखकका रूपमा परिचित छन् । पुस्तकाकार कृतिका रूपमा उनका निकै सिर्जनाहरू प्रकाशित छन् तापनि उनको सर्वजा उपन्यासको स्थूल अध्ययन गर्नु मात्र प्रस्तुत लेखको प्रमुख उद्देश्य हो । साहित्यका मूल विधाहरूमध्ये यो उपन्यास साहित्यिक गद्याख्यान अन्तर्गत रहेको देखिन्छ । यो बृहद् आकारको समसामयिक समाख्यान हो । आख्यानको सामान्य अस्तित्व सार्वकालिक र सार्वदेशिक हुन्छ । यस दृष्टिबाट हेर्दा प्रस्तुत उपन्यासको सामान्य अस्तित्व पनि उपर्युक्त अनुसारनै रहेको पाइन्छ । यो विधा सामान्य आख्यान नभएर एउटा महाख्यान हो । यसको महत्वपूर्ण घटकका रूपमा कथानक र समाख्याता रहेका हुन्छन् । यस उपन्यासको कथानक प्रमुख पात्र सर्वजालाई केन्द्रबिन्दु पारेर वर्तुलित भएको देखिन्छ तापनि त्यो वर्तुलाकारको रेखा ठाउँ ठाउँमा खण्डित भएको छ । सो खण्डित कथानकले पृथ्वीको आकारझैँ गोलो भएर पृथ्वीकै परिभ्रमण गरेको छ । त्यसो त बिचरा पृथ्वी माता पनि सहस्रशः खण्डित छन् र बिन्दु जत्रो उनको एक खन्ड नेपाल पनि सयौँ खण्डमा टुक्रिदै छ । यसरी हेर्दा सर्वजाको कथानकले समसामयिकता प्रदर्शन गरेको देखिन्छ ।
प्रस्तुत उपन्यासको दोस्रो घटक समाख्याता हो र यो म पात्रका रूपमा यहाँ आएको छ । म पात्रका मनोगत क्रियाकलाप नै उपन्यासका अन्तर्वस्तु बनेका छन् । मको पटक पटकको रूपान्तरणले भगवद्गीताको दोस्रा अध्यायको २२सौँ श्लोक— वासांसि जीर्णानि यथा विहाय, नवानि गृह्णाति नरोऽपराणि । तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही ।।
अनुसार पूर्वीय अध्यात्ममूलक पुनर्जन्मको गम्भीर प्रभाव उपन्यासमा परेको अनुभव हुन्छ । यस उपन्यासमा रहेको अन्तरङ्ग प्रथम पुरुषात्मक म पात्रलेसुरुदेखि अन्त्यसम्म अर्थात् सर्वजासँग मकोभेटदेखि उपसंहारसम्म आफ्नाे कथा आफैँ भनेको छ ।
प्रस्तुत उपन्यासमा तेराखले साहित्यको विधागत र रूपगत मानकलाई भत्काएका छन् । उपन्यासको स्थापित परिभाषाले यस कृतिलाई परिभाषित गन सक्तैन । उपन्यास संस्मरणात्म निबन्धजस्तो देखिनु प्रस्तुत उपन्यासको प्रयोगात्मक नवीनता हो । प्रत्येक कृतिले आप्mनो छुट्टै परिभाषा निर्माण गर्ने हुनाले यस कृतिको परिभाषा यसैलाई हेरेर निर्धारण गर्नुपर्ने हुन्छ ।
अन्य औपन्यासिक कृतिकोभन्दा सर्वजाको संरचना अलिक फरक किसिमको छ । यसरी हेर्दा यो अध्याय,भाग,परिच्छेदमा विभक्त छैन । यसभित्र छब्बीस उपशीर्षक रहेका छन् । अब यसलाई उपन्यास अथवा छब्बीसवटा कथाहरूको संग्रह जे पनि भन्न सकिन्छ । यस कृतिका पाठकहरूले छब्बीसवटा छुट्टाछुट्टै शाीर्षकलाई छुट्टाछुट्टै संरचना मान्न पनि सक्छन् । यसो गरेको खण्डमा यो कथा संगालो हुनसक्छ। ; तर छब्बीसवटा शीर्षकहरू परिच्छेद मानिए भने यो उपन्यास हुन्छ । यिनै संरचनात्मक विशेषताले गर्दा यसलाई समालोचकहरूले नवीन कृति मानेका छन् । यसबाहेक यस उपन्यासको अर्को फरक विशेषता के छ भने यसभित्र समायोजित प्रत्येक शीर्षकलाई उपन्यास मान्न सकिन्छ । यसरी हेर्दा सर्वजाले आफ्नाे गर्भमा प्रसस्त अरू उपन्यास बोकेको छ । विश्व ब्रह्माण्डको गर्भभित्र अनेकौं प्रणाली रहेझैं यस उपन्यासभित्र पनि ससाना उपन्यास रहेका छन् ।

यस उपन्यासकाे पहिलो विशेषता आध्यात्मिकता हो । यस विशेषतालाई समालोचक प्राडा गोविन्दराज भट्टराई, कुमारप्रसाद कोइराला र दधिराज सुवेदीले पुष्टि गरिसकेका छन् । यी समालोचकहरूको समालोचकीय दृष्टिसमेतलाई आधार मानी अध्ययन गर्दा प्रस्तुत उपन्यासले हिन्दूवैदिक दर्शनलाईसमेत आत्मसात गरेको पाइन्छ । उपन्यासभित्रको वृक्षश्राद्धको चर्चाले हाम्रा पूर्वीय कर्मकाण्डको रूपमा गरिने एकोद्दिष्ट श्राद्ध, महालय श्राद्ध मात्र होइन यीभन्दा अझ परसम्म पुगेर जीवित र मृत प्राणी मात्रको भलाइका लागि गरिनुपर्ने श्राद्धसंबन्धी विचार नयाँजस्तो देखिए तापनि यो नयाँ चाहिँ होइन । हाम्रा प्राचीन ऋषिमहर्षीहरूले श्राद्ध गर्नु अघि या पछि गरिने तर्पणको अन्त्यमा आब्रह्मस्तम्बपर्यन्तम् भनेर ब्रह्माण्डका यावत् स्थावर र जङ्गम प्राणी जगत्लाई तर्पण दिने प्रचलन अद्यावधि छँदैछ । यसैलाई यहाँ तेराखले वृक्षश्राद्ध भनेको पाइन्छ । यति मात्र होइन यस पुस्तकमा एउटा शीर्षक नै वसुधैव कुटुम्बकम् भन्ने पूर्वीय चिन्तनमा आधारित छ ।

अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्,

परोपकार पुण्याय पापाय परपीडनम्

भन्ने व्यासको धर्मसूत्रको समेत अनुसरण गरी यो उपन्यास लेखिएको मान्न सकिन्छ । सर्वजाको त्रि अक्षरलाई त्रिदेव,त्रिशक्ति,त्रिगुण, स्वरूपमा देख्नुलाई धार्मिक स्मन्वयवादका रूपमा नि सकिन्छ ।

यस उपन्यासको दोस्रो विशेषता मनोविश्लेषणात्मकता हो । यसलाई पनि समालोचकत्रयले नै पुष्टि गरेका छन् । खासगरी साहित्यको मनोविज्ञान भन्नाले लेखकका मनको,पाठकका मनको अथवा पात्रका मनको व्यवस्थित अध्ययन भन्ने बुझिन्छ । फ्रायडका अनुसार सपना र कविता अथवा काल्पनिक कृतिमा समानता पाइन्छ । तर यो कुरा यथार्थवादी साहित्यमा नभएर अतियथार्थवादी साहित्यमा लागु हुन्छ । ‘कलाकार मनस्तापी व्यक्ति भएकाले ऊ कलामा आफ्नै मनस्तापलाई व्यक्त गर्छ‘’ भन्ने फ्राइडको भनाइका आधारमा यो उपन्यास तेराखको मनस्तापको सफल उदात्तीकरणको नमुना हो । डा गोविन्दराजका भनाइमा यस उपन्यासको सम्पूर्ण कथा मनोवाद र एकालाप हो । त्यसमा पनि कामवासनाको उखरमाउलोबाट अन्तु डाँडामा बक्बकाउनु तथा यौनले धतुलाएको को पहाडी यात्रा र सर्वजाका दुई रूप जस्ता शीर्षकहरूमा उपन्यासकारको प्रतिनिधि पात्र मको मनोवाद कामवृत्तितिर उन्मुख मनःस्नायुविकृतिले ग्रस्त छ कि जस्तो लाग्छ । यसमा लेखकको भनाइ अभिधार्थक नभएर ध्वन्यार्थक भएको भए यो स्थिति ऋणात्मक बन्ने थियो ।

जैविक अद्वैतवाद यसको तेस्रो विशेषता हो । वृक्षश्राद्धबाट वनस्पतिजगत्प्रति श्रद्धाभाव प्रकट गर्नु, एकोऽहम् बहुष्याम भन्ने पूर्वीय मान्यताको अनुसरण गर्नु, रूपान्तरणमा विश्वास गर्नु तथा पृथ्वीमा भएका झारपात, वनस्पति, नदीनाला, पहाड,माटो, पानी, तेज वायु,आकाश आदि र मानिसमा एकत्वभाव राख्नु जस्ता कुराले एकोऽहम् द्वितीयो नास्ति भन्ने उक्तिकाे स्मरण गराउँछ । उपर्युक्त दुई भनाइमा पहिलोले आत्मा र दोस्रोले परमात्माको स्मरण गराउँछन् । यस विशेताको पुष्टि  पनि उपर्युक्त तिन जना समालोचकले गरेका छन् ।
यसको चौथो विशेषता दार्शनिकता हो । यस कृतिको मुख्य वेदान्त दर्शन जीव र प्रकृति अथवा पुरुष र पकृ्तिमा आधारित छ । यी दुवै कहिल्यै नजन्मने र कहिल्यै नमर्ने भएकाले पुरुषलाई अज र प्रकृतिलाई अजा भन्ने गरेको पाइन्छ । सर्वजाकी सर्वजाले प्रकृति र पुरुष दुबैको प्रतिनिधित्व गरेको देखिन्छ । यस उपन्यासकी प्रमुख पात्र सर्वजालाई परा शक्तिका रूपमा र पृथ्वी,जल,अग्नि,वायु,आकाश,मन,बुद्धि र अहङ्कार जस्ता विभिन्न तत्वलाई अपरा शत्तिका रूपमा लिन सकिन्छ । यसरी हेर्दा प्रस्तुत कृतिमा द्वैताद्वैतवादी दर्शनको प्रभाव परेको देखिन्छ ।  । समालोचक भट्टराई  सुवेदीद्वयले सर्वजामा पूवीैय दर्शन घुसेको छ भन्ने कुरा स्विकारेका छन्।

यसरी पात्रहरूमा मानवेतर शक्ति आरोपित गर्ने कला उत्तरआधुनिक अनेक आख्यानमा पाइन्छ  (भट्टरार्इ) ।

सर्वजा अपरम्परित छ, प्रयोगपरक छ, उत्तरआधुनिक छ । एउटै उपन्यासभित्र अनेक वाद मिसिनु उपन्यासको बहुलवादी चरित्र हो भने बहुलवादी चरित्र हुनु नै उत्तरआधुनिकता हो (कोइराला)।  

अन्त्यमा सिर्जनाको सिद्धान्तमा बहुलवाद नै उत्तरआधुनिक प्रयोग भनिदै आएको आजको सन्दर्भमा प्रस्तुत उपन्यास धेरै अगाडि बढेको अनुभव हुन्छ (सुवेदी,२०६१ )।

यसरी तिनजना समालोचकले यस उपन्यासको औपन्यासिक विशेषताका रूपमा रहेको उत्तरआधुनिकतालाई सकारेका छन् भने अर्का समालोचक राजेन्द्र सुवेदीको भनाइ भने अलिक फरक किसिमको छ । उनका विचारमा यो उपन्यास उत्तरसंस्कृतिको संयोजन हो । उनले उत्तरसंस्कृतिवाद किंवा उत्तरसंंरचनावादका विशेषता केलाउने क्रममा यसभित्र विभग्नता, विवस्तुता, विपात्रता, विपरिवेशात्मकता, विमिथकीयता, विधाविभग्नता जस्ता विशेषताको उल्लेख गरेका छन् । उत्तर संरचनावादलाई विकसित तुल्याउने प्रमुख चिन्तकहरू रोलाँ बार्थ,जाक लकँ, जाक डेरिडा हुन् भने उत्तरआधुनिकताको सिद्धान्त प्रतिपादनमा पनि यिनिहरूकै महत्त्वपूर्ण भूमिका रहको पाइन्छ । यसरी हेर्दा उत्तरसंस्कृतिवाद, उत्तरसंरचनावाद र उत्तरआधुनिकतावाद उस्तैउस्तै देखिन्छन् । यसो हुँदा उपर्युक्त सबै समालोचकको कुरा ठ्याक्कै मिलेको देखिन्छ । उपर्युक्त वादहरूका आलोकमा सर्वजाको अध्ययन गर्दा यसका प्रमुख प्रवृत्तिहरू निम्नानुसार रहेका पाइन्छन् —
१. विधा विचलन (एउटै विधामा परिभाषित नहुनु)
२. संस्कृति विचलन (बहु सस्कृतिको अनुसरण गर्नु)
३. वैचारिकता विचलन (एउटै विचारमा नअडिनु)
४. संरचना विचलन (विधागत संरचना भत्काउनु)
५. अन्विति विचलन  (अन्वितित्रयको नामनिसान नरहनु)
६. आयाम विचलन (अनुच्छेद,अध्याय आदिको आयाममा अनेकरूपता हुनुु)

७. मानसिकता विचलन (लेखकको मानसिकता मनोरोगीको जस्तो हुनु)

प्रस्तुत उपन्यासले विश्वका महत्वपूर्ण कुराहरूमा समन्वय कायम गरेकोछ । विश्वधर्म समन्वय,साँस्कृतिक समन्वय, एैतिहासिक समन्वय, भौगोलिक समन्वय,सर्वदर्शनगत समन्वय, प्राकृतिक समन्वय, लैङ्गिक समन्वय,जातिगत समन्वय,रङ्गगत समन्वय जस्ता कुराहरू उपन्यासभित्र समेटिएका हुनाले यस उपन्यासलाई समन्वयवादी उपन्यास भन्न सकिन्छ । यसो भन्नुको अर्थ प्रस्तुत उपन्यासको एउटा विशेषता समन्वयात्मकता पनि हो ।
सर्वजाले हिन्दू धर्म, इस्लाम धर्म, क्रिस्चियन धर्म, बुद्ध धर्म लगायत विश्वका सवै धर्म र संप्रदायलाई उत्तिकै प्राथमिकता दिएर विश्वधर्मसमन्वयको वकालत गरेको छ । विविध धर्म हुनु एउटै धर्मको रूपान्तरण मात्र हो भन्ने कुरा उपन्यासले सकारेको छ तापनि एसियालाई महान् धर्म,दर्शन र चिन्तनको उद्गमस्थलका रूपमा स्विकारेर लेखकले पूर्वीय अध्यात्म दर्शनप्रति आफ्नो आस्था, श्रद्धा र विश्वास प्रकट गरेका छन् । त्यसैगरी पौरस्त्य र पाश्चात्य संस्कृति जस्ता विश्वका प्रमुख संस्कृतिको समन्वयको कुरा मात्र होइन विश्व ब्रह्माण्डकै सांस्कृतिक समन्वयको कुरा उठेको छ यस उपन्यासमा । माथि उल्लेख गरिएका  सालोचकहरू सबैले सर्वजालाई समन्वयवादी उपन्यासमानेका छन् ।
प्रयोगपरकता यस उपन्यासको अर्को नौल्याइँ हो । मयवादको कुरा उठाउने तेराखले साहित्यमा मात्र होइन सर्वत्र मयवाद छ भन्न खोजेका छन् । सर्वजामा ब्रह्ममयं जगत् , देवीमयं जगत् , नारीमयं जगत् , प्रकृतिमयं जगत् , यौनमयं जगत् , ज्ञानमयं जगत् , पञ्चमहाभूतमयं जगत् , अन्तरिक्षमयं जगत् , जीवमयं जगत् , वनस्पतिमयं जगत् , जलस्थलमयं जगत् , संस्कृतिमयं जगत् जस्ता कुरालाई बीजमन्त्रका रूपमा लिएको पाइन्छ । उपर्युक्त बाहेक यस चराचर जगत्लाई उनले द्वैताद्वैतमयका रूपमा पनि लिएका छन् । यसरी हेर्दा

जले विष्णुः स्थले विष्णुः विष्णुः पर्वतमस्तके ।

ज्वालामाला कुले विष्णुः, सर्वं विष्णुमयं जगत्

भन्ने पूर्वीय दार्शनिक विचारलाई मयवादका रूपमा आत्मसात् गरेको पाइन्छ । यो प्रयोगको एउटा उदाहरण हो ।
केही विद्वान्हरूले साहित्यमा प्रयोगलाई पनि एउटा वादका रूपमा लिने गरेको छ तापनि केही विद्वान्हरूले भने यसलाई वाद मानेका छैनन् । साहित्य सिर्जनाको समग्र परंपराबाट मुक्त भएर नयाँपनको प्रयोग र आविष्कार गर्नु वा त्यसको अनुसरण गर्नु प्रयोगवाद हो । शैलीविन्यास , वाक्यविन्यास , दर्शन , दृष्टिकोण , स्थापित मान्यता , परंपरामध्ये कुनै एक वा सवैलाई भत्काएर पनि सर्जकले आफ्नो सिर्जनालाई जीवित राख्ने चेष्टा गर्नुलाई प्रयोगवाद भन्न सकिन्छ । हिन्दी साहित्यका समीक्षकहरुले त्यहाँको प्रयोगवादी कवितामा मूलतः चार प्रवृत्ति रहेको देखाएका छन् , जस्तै, नवीन र विचित्र प्रयोगद्वारा पाठकलाई आश्चर्यचकित पार्नु, कवितालाई अकविता बनाउनु अर्थात् काव्य र गद्यको मौलिक अन्तर मेट्नु ,समस्त मान्य धारणा र परम्परालाई अस्विकार गर्नु, विवेचन, विशलेषण र खण्डन—मण्डन गर्नु आदि । नेपालका प्रयोगवादी साहित्यकारहरुको प्रवृत्ति पनि भारतका प्रयोगवादी साहित्यकारहरुको जस्तै छ , किनभने नेपालका प्रयोगवादी प्रवृत्तिहरु प्रायः आयातित नै देखिएका छन् । यस उपन्यासले पनि आंशिक रूपमा उपर्युुुक्त अनुसारकै प्रवृत्ति ग्रहण गरेको देखिन्छ । सर्वजा प्रयोगपरक छ भन्ने कुरामा भट्टराई, सुवेदीद्वय, कोइराला, जस्ता समालोचकहरु सहमत देखिएका छन् ।
रूपान्तरणात्मकता यस उपन्यासको अर्को विशेषता हो । हिन्दू दर्शनको पुनर्जन्मलाई लेखकले रूपान्तरण भनेको हुनसक्छ । श्रीमद्भगवद्गीताको

वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि,

तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देहि ।

भन्ने गीताको पुनर्जन्मपरक दर्शनलाई उपन्यासले आफ्नो भावभूमि बनाएको छ । अधियथार्थकै रुपमा भएपनि विभिन्न मानव जाति, वनस्पति, फूल, आदिमा आफ्नाे  रुपान्तरणात्मक पुनर्जन्म देखाएर यहाँ लेखकले हिन्दू दर्शनप्रति  अगाध आस्था देखाएका छन् । समालोचक कुमारप्रसाद कोइराला भन्छन् रुपान्तरण आन्तरिक र बाह्य दुई किसिमको हुन्छ । भावना, मन, धर्म, संस्कृति बाहिरी रुपान्तरण हो भने वनस्पति पशुप्राणीमा र पशुप्राणीहरु वनस्पतिमा रुपान्तरण हुनु भित्री रुपान्तरण हो । उपर्युल्लिखित चारैजना समालोचकहरुले सर्वजाभित्रको रुपान्तरणलाई विशेषता मानेका छन् ।
स्वैरकाल्पनिकतालाई यस उपन्यासको सर्वव्यापक विशेषताका रुपमा लिन सकिन्छ । यस उपन्यासको अधिकतम प्रतिशत स्वैरकल्पनाले ओगटेको देखिन्छ भने केही प्रतिशत यथार्थले ओगटेको पाइन्छ । स्वैरकल्पनात्मक कथानक दुई किसिमको हुन्छ, यथार्थवादी स्वैरकल्पनात्मक कथानक र भावनाप्रधान स्वैरकल्पनात्मक कथानक । यस उपन्यासका कथानकको अधिकांश भाग भावनात्मक स्वैरकल्पनाले लिएको पाइन्छ । यसरी हेर्दा म पात्र, केही व्यक्तिपात्र, स्थानवाचक नाम मात्र याथार्थवादी स्वैरकाल्पनिक देखिन्छन् । प्रस्तुत उपन्यास आधारभूमिको परिवेशमा आरम्भ भएर स्वैरकल्पनाको अमूर्त परिवेशतिर उन्मुख भएको छ । प्रा राजेन्द्र सुवेदीको यस भनाइबाट पनि यो उपन्यास स्वैरकल्पनात्मक हो भन्न सकिन्छ । डा कुमारप्रसाद कोइरालाका विचारमा यस उपन्यासको कथावस्तु स्वैरकल्पना र यथार्थको सम्मिश्रणबाट तयार भएको छ ।
त्योभन्दा ठुलो कुरो उनी नारीलाई यथार्थवादी आध्यात्मिक उचाइ प्रदान गर्दछन् ( डा भट्टराई, भूमिकाः ट ) । यस भनाइबाट के थाहा पाउन सकिन्छ भने प्रस्तुत उपन्यासले नारीलाई सर्वश्रेष्ठ मानेर उपन्यासको शीर्षक नै नारीका नाममा राख्नु नारीप्रतिको श्रद्धा र पे्रम हो । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता जस्तो पवित्र आर्षवचनको उद्घोष गर्ने वैदिक सूक्त एवं उपनिषद्का आलोकमा लेखकले नारीप्रधान उपन्यास लेखेको हुन सक्छ ; तर स्त्रीहरु यथार्थमा कसैका प्रिय छैनन्, यिनीहरु एकसंग कुरा गर्छन् त अर्कोसंग यौन विलासका दृष्टिले हेर्दछन्, निदानमा यिनीहरुले आफ्ना हृदयमा अर्कैको चाहना राखिराखेका हुन्छन् जस्ता अर्थ बोकेको श्रृङ्गार शतकका श्लोकहरुलाई महत्वकासाथ उपन्यासमा समावेश गरेर नारीप्रति अन्याय पनि गरिएको छ । यसलाई कृतिको निकै ठुलो सीमाका रुपमा लिन सकिन्छ । यसरी यो उपन्यास पूर्णतया नारीपक्षपाती नदेखिएकोले यसलाई नारीवादी उपन्यास नभनेर नवनारीवादी उपन्यास भन्नु उपयुक्त देन्छि ।
उपन्यासको पर्यावरणीयतालाई यहाँ ११औँ विशेषताकका रुपमा लिइएको छ । यस ब्रह्माण्डभित्रका समस्त स्थावर–जङ्गम प्राणी जगत्प्रति प्रेमास्था प्रकट गनु पर्यावरणीयता हो । यस विषयमा डा भट्टराई सर्वजाको भूमिकामा लेख्छन्—आज इकोसिस्टमले त्यही भन्छ, आज ब्रह्माण्डका ब्ल्याकहोलले त्यही भन्छ—हामीले पृथ्वी डढाउदैछौँ, पोल्दैछौँ, नास्दैछौँ आफ्नै वासस्थानलाई । हाम्रा हिन्दू जगत्ले हजारौँ वर्षदेखि गरेको पुकारा कसैले सुनेका थिएनन् । उपन्यासले भन्छ—झारपात, वनस्पति, नदीनाला, पहाड, वृक्ष, जल, वायु, तेज यावत् कुराहरु यथावत् हुनुपर्छ । पृथ्वीको कणकण जीवित पदार्थ हो, त्यो नष्ट हुदैन, परिवर्तित हुन्छ …….। यी सबै तत्वहरु एउटा अज्ञात आकर्षणले तानिएर एकै ठाउँमा एउटै अस्तित्वमा गाँसिएका छन् । त्यो महत्व बुझेर सृष्टिका सारा वनस्पति र जीवमाथि प्रेमको दृष्टिले हेर्नु पर्छ । डा भट्टराईको उपर्युक्त विचार हजारौँ वर्षअघि रचना गरिएको वैदिक उपनिषदीय सूत्र वसुधैव मुटुम्बकम्मा आधारित छ । यही सूक्तिलाई पश्चिममा पर्यावरणवाद भन्न थालेका रहेछन् भर्खर मात्र । तेराखको सर्वजामा वसुधैव कुटुम्बकम् नै पर्यावरणीयतामा रुपान्तरित भएको पाइन्छ ।
सार्वदेशिकता यस उपन्यासको १२औँ विशेषता हो । यसमा पूर्वीय हिन्दू–वैदिक धर्म, बौद्ध धर्म,सिख धर्म, इस्लाम धर्म, पश्चिमका क्रिस्चियन धर्म लगायत विश्वका सवै धर्मको कुरा उठेको छ । पृथ्वीका यावत् जलचर, स्थलचर,खेचर प्राणीहरु र वनस्पति, ढुङ्गा, माटा,े पानी विश्वका साझा सम्पत्ति हुन् । पश्चिमबाट उठान भएका साहित्यका विभिन्न वाद र प्रयोगहरु र पूर्वका विभिन्न धर्म र दर्शनहरु सार्वदेशिक भइसकेका छन् । यिनै वैश्विक विषयवस्तुको चयन भएको हुनाले सार्वदेशिकतालाई यस उपन्यासको विशेषताका रूपमा लिइएको छ । डा. भट्टराई यो उपन्यास सार्वदेशिक छ भनेर यसरी लेख्छन् — उनी सार्वदेशिक, सार्वकालिक भएर त्यहाँ उभिन्छन्, सर्वदृश्य हुन्छन् ।
अन्तरभावना अनुसार प्रत्येक मान्छेको आआफ्नै नै किसिमको दृष्टि रहेको हुन्छ भन्ने कुरा व्यासकृत श्रीमद्भागवत दशमस्कन्ध ४३औँ अध्यायको १७औँ श्लोकले बताएको छ ःकंसको रंगशालामा कुस्ती खेल्न पुगेका कृष्ण र बलरामलाई रंगशालामा उपस्थित दर्शकहरुले आआफ्नै भावना अनुरुप यसरी देखेका थिएः

*पहलमानहरुले वज्रझैँ कठोर शरीर भएकाव्यत्तिका रुपमा,
*साधारण मानिसले नररत्नका रुपमा,
*नवयौवना स्त्रीहरुले मूर्तिमान् कामदेवका रुपमा,
*गोपहरुले आफन्त व्यक्तिका रुपमा,
*दुष्टहरुले दण्ड दिने शासकका रुपमा,
*मातापिता समान वृद्धहरुले शिशुका रुपमा,

*कंसले आफ्नो मृत्युका रुपमा,

*योगीहरुले परमतत्वका रुपमा,

*अज्ञानीले सामान्य छेत्री केटाका
*वृष्णिवंशीयहरुले इष्टदेवका रुपमा ।
उपर्युक्त दृष्टान्त यस लेखमा पनि सान्दर्भिक देखिएको छ ; किनभने हामी पूर्वेलीहरु कसैले पश्चिमबाट सूर्य उदाउँछ भन्यो भने अँ होत्त नि ! भन्दै त्यतै दगुर्छौं, साहित्यको पाठक प्रतिक्रिया सिद्धान्तलाई पश्चिमतिरबाट आएको भनी ठोकुवा गर्छौं, यसको स्थापना र प्रयोग सन् १९७०को दशकमा अमेरिकामा भएको मान्छौं; तर पौराणिक कालदेखि नै दर्शक वा पाठकलाई अधिकतम महत्व दिंदै आएको व्यासको उपर्युक्त दर्शनलाई मान्दैनौं; किनभने हाम्रो मन मस्तिष्क नै पराभिमुख छ । यसको प्रत्यक्ष प्रमाण खोज्न टाढा जानु पर्दैन । हामी हाम्रै देशको अमूल्य जडीबुटीबाट तयार भएको दवाईको खोल हेरेर भन्छौं—अँ नेपालको भन्दा यो भारतीय दवाई राम्रो हुन्छ । यी पूर्वका हाम्रा र पश्चिमका अरुका कुरा जे जसो भएतापनि सर्वजालाई हृरेर यहाँ के भन्न खोजिएको हो भने पाठक प्रतिक्रिया सिद्धान्त पूर्व र पश्चिम दुवैतिरका समालोचकहरुले मानेको सिद्धान्त रहेछ । यस सिद्धान्तका आधारमा प्रस्तुत उपन्यासलाई विभिन्न पाठक वा समालोचकले आआप्mना भावनात्मक आँखाले हेर्दा यसप्रकार देख्न सक्ने भए
पाठक÷समालोचक उनीहरुको हेराइ
१. स्वच्छन्दतावाद  : कल्पनात्मकता र भावुकताको चित्रण ।
२. यथार्थवादी  : स्वप्नवत् यथार्थ (जादुगरीय यथार्थ) को चित्रण ।
३. उत्तरआधुनिकतावादी  : खिच्रोजस्तै विविध विषयवस्तु र स्वादयुक्त राम्रो कृति ।
४. स्वैरकल्पनावादी  : सत्य एवं तथ्यको अतिक्रमण गरी लेखिएको सुन्दर कृति
५. लीलावादी  : लेखकको भ्रमपूर्ण खेल वा लीलाको उत्तम संग्रह ।
६. नारीवादी  : विश्व नारीमय छ तर नारीलाई विस्वास गर्नु नहुने रहेछ
७. यौनवादी  : कुनै टपिक्स त पढेर कहिल्यै नअघाइने क्या मीठो कृति !
८. माक्र्सवादी  : माक्र्सवादी सौन्दर्यशास्त्रको परित्याग÷ भ्रमको खेती
९. नवमाक्र्सवादी : लेखक माक्र्सवादी, कृति अतियथार्थवादीः सुन्दर नवप्रयोग
१०. मनोचिकित्सक  : यस कृतिका लेखक मनोरोगी पो छन् कि !
११. सर्वसाधारण  : यस पुस्तकमा कताको जिली, कताको गाँठी केही थाहा भएन
१२. अध्यात्मवादी  : प्रगतिवादी लेखकको अध्यात्मवादी चिन्तन सारै राम्रो लाग्यो
उपर्युक्त हेराइहरु केही सीमित पाठक वा समीक्षकका हेराइ मात्र हुन् । यिनका अतिरिक्त मान्छेका भावना पिच्छेका अन्य अनगिन्ती हेराइ हुनसक्छन् । यस किसिमको हेराइ÷दृष्टिबाट के थाहा पाउन सकिन्छ भने कुनै पनि कृति छापी लोकार्पणमस्तु गरेर लोकलाई जिम्मा लाएपछि लेखक स्वतः हराउँदो रहेछ । अब जस्ले जे देख्यो, जे लेख्यो त्यही नै ठीक । यहाँ यस लेखमा लेखिएका पनि ठीक अन्यत्र अरुले लेखेको पनि ठीक ।
सन्दर्भसूची
उप्रेती, सन्जीव, ( २०६८ ), सिद्धान्तकाकुरा, काठमाडौंः उपलब्धि प्रकासन प्रा लि ।
कोइराला, कुममारप्रसाद ( २०६७ ), बहुलवादी उपन्यास टुँडालमा आँखा
बल्झिँदा, गरिमा, वर्ष २८, अंक १२ ।
———— ( २०६१ ), सर्वजालाई सर्सर्ती हेर्दा ( नोबेल साहित्य वार्षिक
पत्रिका ), काठमाडौं ः नोवेल एकेडेमी
गौतम, कृष्ण (दोस्रो स २०५०), आधुनिक आलोचनाःअनेकरूप अनेक पठन, ललितपुरः साझा प्रकाशन ।
तेराख, ( २०६० ) सर्वजा, झापा ः तेजराज खतिवडा ।
भट्टराई, गाविन्दराज ( २०५५ ), नेपाली साहित्यकोश, काठमाडौं ः ने। रा। प्र। प्र। ।
—————————( २०६० ), सर्वजा ( भूमिका ), झपा ः तेजराज खतिवडा ।
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल ( २०६३) पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त
( दो. स. ) काठाडौं ः विद्याथी पुस्तक भण्डार ।
शर्मा, मोहनराज ( २०५५ ) समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं ः
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
————आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना, काठमाडौं ः क्वेस्ट
पब्लिकेसन ।
सुवेदी, दधिराज ( २०६१ ), सर्वजा उपन्यासको सम्पूर्णता र रूपान्तरण प्रक्रिया, विराटनगर ः प्रतिभा पुरस्कार प्रतिष्ठान ।
सुवेदी, राजेन्द्र ( २०६२/६३ ) सर्वजा उपन्यास ः नवचेतनात्मक मूल्यका सन्दर्भमा,
कुञ्जिनी, साहित्य समालोचना विशेषाङ्क, काठमाडौं ः नेपाली केन्द्रीय विभाग,
त्रि.वि. ।

.

Standard
Literature

श्रीप्रसाद ओली : व्यक्ति एक व्यक्तित्व अनेक

हालको छाते ढुङ्गा गा.वि.स.वार्ड नं. ६, तेह्रथुममा जन्मिएर मूलतः झापालाई कर्मथलो बनाई सोही जिल्लाको सुरुङ्गा (वार्ड नं.४) मा आफ्नो नश्वर देह विसर्जन गरेर ब्रह्म–लीन हुनुभएका श्रीप्रसाद ओली (१९८८–२०६८) ले आलाई मरेर बाँच्ने स्वनामधन्य व्यक्तिका रूपमा प्रतिष्ठापित गर्नु भएको छ । ओलीले जीवनको पूर्वाद्र्धमा कर्ममा विश्वास राखेर जीवन यात्रामा अघि बढेको पाइन्छ भने जीवनको उत्तरार्धमा अद्वैतवादको छाहारीमुनि जीवन यापन गर्दै परमार्थपरक निष्काम मर्कयोगीका रूपमा आफुलाई समाहित गरेको पाइन्छ । बहुआयामिक व्यक्तित्वका रूपमा परिचित श्रीप्रसाद ओलीका व्यक्तित्वहरूलाई मूलतः निम्नलिखित शीर्षकमा राखेर अध्ययन गर्ने जमर्को गरिएको छ —
१. कर्मयोगी व्यक्तित्व
वास्तवमा देहधारी प्रणीका निमित्त कर्मको पूर्ण त्याग सम्भव छैन । यो विश्वब्रह्माण्ड नै कर्मले बाँधिएको छ, त्यसैले गीताले पनि कर्मको निषेध गरेको छैन, कर्ममा फलाशक्ति वा कामनाको मात्र निषेध गरेको छ । गीताको मूलभूत शिक्षा निष्काम कर्मयोग हो । सिद्ध पुरुषहरूले कर्म गरेरै संन्यासको उपाधि प्राप्त गर्न सक्छन् । यस कुरालाई गीताले निर्दिष्ट गरेका छ । गीताले कर्मका बारेमा दिएको सूत्रात्मक सन्देश यसप्रकार छ—
कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि (गीता २.४७) ।
(अर्थात् तिम्रो अधिकार केवल कर्म गर्नमा छ, तर कर्मको फलमा तिम्रो कुनै अधिकार छैन; अतः तिमी कर्म फलको आशा नगर, साथै कर्म नगर्नेतिर पनि तिम्रो ध्यान नजाओस् ।
गीताको उपर्युक्त औपनिषदिक सार कुरालाई मध्यनजर गरी श्रीप्रसाद ओलीका कर्मपरक क्रियाकलापलाई हेर्दा उहाँ कर्मयोगी व्यक्तित्वका रूपमा देखिनुहुन्छ । उहाँको अन्तिम अवस्थालाई हेर्दा उहाँ पारिवारिक मायामोह र कुनै पनि भौतिक वस्तुप्रति मायामोह नराख्ने कर्म संन्यासी देखिनुहुन्छ
२. अद्वैतवादी व्यक्तित्व
मुख्यार्थ र गौणार्थ गरी वेदान्त शब्दका दुई अर्थ छन् । वेदको अन्त नै वेदान्त हो र वेदान्त शब्दको प्रमुख अर्थ नै उपनिषद् हो भने तदनुकूल अर्थ बोध गराउने शारीरकसूत्र र तदनुकूल अर्थ ग्रहण गर्ने श्रीमद्भगवद्गीता, श्रीमद्भागवत आदि गौणार्थ हुन् । अतः उपनिषद् नै मुख्य रूपमा वेदान्त हो ।
शब्दको व्युत्पादन अनुसार उपनिषद् शब्दको अर्थ हुन्छ— उप समीपे निषीदति प्राप्नोति इति उपनिषद्, अर्थात् जसद्वारा परम समीपभूत ब्रह्मको साक्षात्कार हुन्छ, त्यो उपनिषद् हो । वेदका दुई भाग छन्— मन्त्र र ब्राह्मण । यी दुई भागकै अन्त उपनिषद् भएकाले नै यसलाई वेदान्त भनिएको हो ।
वेदान्ताचार्यहरूले वेदान्तशास्त्रलाई तिन प्रस्थानमा विभक्त गरी प्रस्थानत्रयी नामकरण गरेका छन् । प्रस्थानत्रयीभित्र श्रुति, स्मृति र न्याय पर्दछन् । तिनमा उपनिषद् श्रुतिप्रस्थान, भागवत, गीता आदि स्मृतिप्रस्थान र ब्रह्मसूत्र न्यायप्रस्थान हुन् । उपनिषद् वेदको ज्ञानकाण्ड भएको हुनाले यसलाई ब्रह्मविद्या पनि भनिन्छ । ब्रह्मविद्या नै पराविद्या या श्रेष्ठविद्या हो । उपनिषद्मा जुन ब्रह्मविषयक विज्ञान प्रतिपादित भएको छ, त्यसैलाई पराविद्या भनिन्छ । अवशिष्ट कर्मविषयक विज्ञान अपराविद्या हो । कर्मविज्ञानले तत्काल फल नदिएर कालान्तरमा मात्र फल दिन्छ । त्यसो नभएर यो फल विनाशी पनि हुन्छ । यसका विपरति ब्रह्मविद्याले तत्काल फल प्रदान गर्दछ र यो फल अविनाशी पनि हुन्छ । यस कारणबाट नै ब्रह्मविद्यालाई सर्वश्रेष्ठविद्या भनिएको हो । मुक्तिको एक मात्र कारण ब्रह्मविद्या नै हो ।
आद्य शङ्कराचार्य वेदान्त दर्शनका प्रसिद्ध आचार्य तथा शारीरक भाष्यका प्रणेता हुन् । भनिन्छ यिनी ७८८ इस्वीमा प्रादुर्भाव भई ३२ वर्षको अल्पायुमै ब्रह्मलीन भएका थिए । यिनी एक मात्र त्यस्ता व्यक्ति हुन् जसले आफ्नो समयमा अकाट्य रूपमा अद्वैत वेदान्तको प्रतिपादन गरेका छन् । यिनका वेदान्त विषयक प्रसस्त रचना पाइन्छन् । यिनका मतमा अद्वैतवाद समस्त उपनिषद्हरूको तात्पर्य हो । एक ब्रह्म नै परमार्थ सत्य हो तर दृश्यमान जगत् परमार्थ सत्य होइन । यो त सपनामा देखिएको पदार्थ जत्तिकै मिथ्या हो । जीवात्मा र परमात्मा (ब्रह्म) एकै हो भन्नु उपनिषद् सिद्धान्त हो । शङ्कराचार्यले प्रतिपादन गरेको सिद्धान्तको प्रमुख मान्यतालाई संक्षेपमा यसरी हेर्न सकिन्छ : एक शुद्ध बुद्ध नित्य मुक्त परब्रह्मबाहेक अर्को कुनै पनि स्वतन्त्र र सत्य वस्तु छैन । यदि कसैका लागि त्यस्तो वस्तु दृष्टिगोचर हुन्छ भने त्यो मानवीय दृष्टिको भ्रम अथवा मायाको उपाधिबाट हुने आभास मात्र हो । यिनका विचारमा यो जगत् आभासित मात्र हुन्छ; त्यसैले यो मायिक हो, मिथ्या हो ।
यसरी संन्यास र निवृत्ति मार्गलाई हृदयङ्गम गरी अद्वैत सिद्धान्तको प्रतिपादन गरेर सत्यको व्याख्या–विश्लेषणद्वारा शङ्कराचार्यले आफ्नो अद्वैतवादी दर्शनलाई विश्वभर फैलाएका थिए । ज्ञानबाट मात्र मुक्ति हुन्छ, यो शाङ्कर वेदान्तकोे मूल कडी हो । उनका विचारमा ज्ञान भन्नु नै ब्रह्मज्ञान हो; आफु र ब्रह्मको एकता बोध र अपरोक्ष साक्षात्कार यसका प्रमुख विशेषता हुन् । ब्रह्मज्ञान गर्ने ज्ञानी ब्रह्म नै हुन्छ । ब्रह्म सत्य हो, जगत् मिथ्या हो, जीव नै ब्रह्म हो अर्को होइन ।
यस सिद्धान्तलाई एक श्लोकमा यसरी अथ्र्याइएको छ —
श्लोकार्धेन प्रवक्ष्यामि यदुक्तं ग्रन्थ कोटिभिः ।
ब्रह्मसत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः ।।
वेदान्ताचार्यहरू भन्छन् —अद्वैतवाद प्राचीन मात्र नभएर प्राचीनतम हो । ऋग्वेदको प्रसिद्ध नासदीय सूक्तमा अद्वैतवादको उल्लेख भएको छ । छान्दोग्योपनिषद् (६.२.१) तथा बृहदारण्यकोपनिषद् (४.४.१९) मा स्पष्ट रूपमा अद्वैतवादको वर्णन पाइन्छ । यसबाहेक साङ्ख्यसूत्र (१.२१.२४) र (२.३.८) मा पनि अद्वैतवादको गहन चर्चा परिचर्चा पाइन्छ । त्यसो त उपनिषद्का अनेक सूक्तिहरूमा अद्वैतवाद मुखरित छ । पुराणहरूमा पनि यत्रतत्र वेदान्त दर्शनको उल्लेख गरेर वृmष्णद्वैपायनले अद्वैतवादी सिद्धान्तको प्रतिपादन गरेका छन् । सूतसंहिता र योगवाशिष्ठ जस्ता प्राचीन ग्रन्थ त अद्वैतवादका निधि नै हुन् ।
वास्तबमा जवसम्म द्वैतभाव रहन्छ तबसम्म एकले अर्कालाई अर्को ठान्दछ । द्वैतभाव नै अशान्ति, झगडा, द्वन्द्व, अहङ्कारको मूल जड हो भने अद्वैतमा संसारका सम्पूर्ण पदार्थमा एकत्व भाव रहन्छ । यसैलाई वसुधैव कुटुमबकम् भनिन्छ । अद्वैतवादको पूर्ण समर्थनमा बोलेका केही सूक्तहरू —
क्र.स सूक्तहरू उपनिषद् अनुवाद
एकमेवाद्वितीयम् (छान्दोग्य. ६.२.१) (ब्रह्म) एक मात्र छ, अर्को छैन
अयमात्मा ब्रह्म (बृहदारण्यक. २.५.१९) यो आत्मा (नै) ब्रह्म हो
अहं ब्रह्मास्मि (बृहदारण्यक. १४.१०) म (नै) ब्रह्म हुँ
सःआत्मा तत्वमसि (छान्दोग्य. ६.८.७) त्यो आत्मा (तिमी नै) हौ
सत्यं ज्ञानमनन्तं ब्रह्म (तैत्तिरीय. २.१) ज्ञान, सत्य र अनन्त नै ब्रह्म हो
सर्वं खल्विदं ब्रह्म (छान्दोग्य. ३.१४.१ वस्तुतः सम्पूर्ण जगत् नै ब्रह्म हो
खं ब्रह्म( बृहदारण्यक. ३.८.३ शून्य अर्थात् आकाश नै ब्रह्म हो
आत्मा च ब्रह्म (ब्रह्मसूत्र) १.१.१. आत्मा नै ब्रह्म हो

आद्य शङ्कराचार्यद्वारा प्रतिपादित अद्वैतवादी दर्शनका उपर्युक्त मान्यताहरूको अध्ययन मनन गरी श्रीप्रसाद ओली त्यसमा समाहित हुनुभएको पाइन्छ । स्वभावो मूर्ध्नि वर्तते भनेझैँ पहिलेदेखि नै ओलीको विचार एकेश्वरवादतिर ढल्किएको छनक पाइन्थ्यो । कोटिहोम (२०४२) मा योगी नरहरीनाथसँगको एक महिनाको सङ्गतपछि उहाँ शाङ्कर वेदान्तपटि क्रमशः अभिमुख हुनुभएको हो । वास्तवमा वेदान्त शास्त्रलाई छोडेर जीव र ब्रह्मको एकताको ज्ञान गराउने अरू कुनै शास्त्र नै छैन । उपनिषद् भन्नु र वेदान्त भन्नु एकै हो भन्ने कुरा पनि ओलीलाई ज्ञान भयो । गीता सम्पूर्ण उपनिषद्को सार हो भन्ने पनि उहाँलाई ज्ञान भयो । वेलाबखत धार्मिक कार्यक्रममा हामीसँग भेट हुँदा उहाँ प्रस्थानत्रयी (गीता, उपनिषद् र ब्रह्मसूत्र)का बारेमा चर्चा परिचर्चा गर्नुहुन्थ्यो । हामीलाई त्यसबेला नै उहाँ उपनिषद्को गहन अध्ययनतर्फ अभिमुख हुनुभएजस्तोे लाग्थ्यो । पछि प्रस्ट भयो वास्तबमा उहाँ लाग्नुभएकै रहेछ ।
अष्टावक्र गीताका अधिकांश श्लोकहरूमा विवेचन गरिएका मुमुक्षुको लक्षण र अद्वैतवादी श्रीप्रसाद ओलीका लक्षणमा केही समानता पाइन्छ कि पाइदैन भन्ने कुराको निक्र्योल अद्वैत दर्शनका महत्वपूर्ण ग्रन्थका रूपमा रहेका श्रीमद्भागवत, श्रीमद्भगवद्गीता र अष्टावक्रगीताका श्लोकहरूको अध्ययनबाट गर्न सकिन्छ, जस्तै—
तेन ज्ञानफलं प्राप्तं योगाभ्यासफलं तथा ।
तृप्त स्वच्छेन्द्रियो नित्यमेकाकी रमते तु यः ।। (अष्टावक्रगीता १७.१)
अर्थात् जुन पुरुष विषयभोगलाई त्यागेर एकान्त स्थानमा आफ्नो स्वरूपमा नै तृप्त भएर रहन्छ, उही पुरुषलाई आत्मज्ञान तथा योगाभ्यासको फल प्राप्त हुन्छ । अष्टावक्रगीताको उपर्युक्त श्लोकका आलोकमा हेर्दा ओलीले जीवनको उत्तराद्र्धतिर विषयभोगबाट सर्वथा अलग रही ब्रह्मविद् ब्रह्मैव भवति भन्ने औपनिषदिक महावाणीमा मनसा, कर्मणा, वाचा आफुलाई समाहित गरेको पाइन्छ ।
यसरी ओलीले अष्टावक्रगीतामा भएको गहन अद्वैत दर्शनअनुरूप आपूmलाई रूपान्तरण गरी अद्वैत संप्रदायको खोल ओढेर धर्मको राजनीति गर्ने अन्य तथाकथित साम्प्रदायिक व्यक्तिभन्दा अलग्गै पहिचान देखाउन पूर्णतः सफल हुनुभएको देखिन्छ । यो उहाँको प्रमुख विषेषता हो । यसलाई धार्मिक क्षेत्रमा भएको स्तुत्य कार्यका रूपमा लिन सकिन्छ ।
बुभुक्षुरिह संसारे मुमुक्षुरपि दृश्यते ।
भोगमोक्षनिराकाङ्क्षी विरलो हि महाशयः ।। (पूर्ववत् १७.५)

अर्थात् यस संसारमा विषयभोगको इच्छा गर्ने (मानिस)हरू धेरै भेटिन्छन् भने मोक्षको इच्छा राख्ने मुमुक्षुहरू पनि पाइन्छन्; विषयभोग र मुक्तिको इच्छा नराखी अन्तस्करण शुद्ध पारेर पूर्ण ब्रह्ममा समाहित हुने महापुरुष विरलै पाइन्छन् ।
वर्तमान विश्वका अधिकांश मानिसहरू विषयभोगमा चुर्लुम्म डुबेका छन् । त्यसमा पनि स्व–आर्जनमा चित्त बुझाउने मान्छेहरूको संङ्ख्या अत्यन्त न्यून रहेको छ । म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ; म बाचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू भन्ने व्यक्तिहरू यत्रतत्र सर्वत्र पाइन्छन्, तर सर्वथा विषयभोग र मुक्तिको आकाङ्क्षा नराखी ब्रह्ममा समाहित हुन चाहने श्रीप्रसाद ओलीजस्ता व्यक्ति भेट्न निकै गाह्रो छ ।
भिद्यते हृदयग्रन्थिश्छिद्यन्ते सर्वसंशयाः
क्षीयन्ते चान्य कर्माणि दृष्ट एवात्मनीश्वरे (श्रीमद्भागवत १.२.२१) ।।
अर्गात् आत्मामा ईश्वरको साक्षात्कार भएपछि हृदयको ग्रन्थि (गाँठो) फुक्छ, सवै संशय सकिन्छन् र सारा कर्म नाश हुन्छ ।
श्रीमद्भागवतको उपर्युक्त श्लोकका आलोकमा श्रीप्रसाद ओलीका जीवनको अन्तिम क्षणलाई हेर्दा उहाँमा कर्मको भाव समाप्त भई आत्मामा ईश्वरको साक्षात्कार भएको देखिन्छ ।
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन । (गीता २.४५)
अर्थात् हे अर्जुन ! संसारका लागि उपयोगी सम्पूर्ण ज्ञान मायाविषयक हो । तिमीले (यसभन्दा पनि पर) मायातीत अवस्थामा पुग्नका लागि मायातीत ज्ञानको उपार्जन गर्नुपर्छ ।
मायातीत ज्ञानको स्रोत उपनिषद् हो । यो नै वेदान्त भएकाले यसभन्दा अर्को कुनै ज्ञान छैन । वेदान्तको ज्ञान गुरुवाक्यबाट मात्र प्राप्त गर्न सकिन्छ । एक अर्थमा गुरुको स्थान ईश्वरभन्दा पनि उच्च रहेको मानिन्छ । वास्तबमा गुरु भनेका साक्षात् परब्रह्म नै हुन् । गीताको उपर्युक्त श्लोकात्मक सूत्रमा ढालेर हिसाब गर्दा श्रीप्रसाद ओलीमा मायाविषयक ज्ञानको स्थिति ऋणात्मक देखिन्छ भने मायातीत ज्ञानको स्थिति धनात्मक देखिन्छ । अर्को कुरा उहाँले अद्वैत वेदान्तको ज्ञान गुरुबाटै प्राप्त गर्नु भएकाले पनि उहाँ चाँडै मायातीत ज्ञानी बन्न सफल हुनुभएको हो ।
३. शिक्षासेवी व्यक्तित्व
सेवा हि परमो धर्म यो सेवाको सर्वोत्तम सूत्र हो । यसैभित्र समाजसेवाजस्ता अन्य सेवाहरू पनि समाविष्ट रहेका पाइन्छन् । मुखबाट खाएको ओखतीले शरीरका जुनसुकै अङ्गमा रहेमो बिमार नाश भएजस्तै शिक्षा सेवाले अन्य सवै सेवाको प्रतिनिधित्व गरेको हुन्छ; किनभने शिक्षा नै विकासको मेरुदण्ड हो ।
शिक्षा सेवा गर्ने विभिन्न तरिकाहरू छन् । कसैले पढाएर शिक्षासेवा गरेको हुन्छ भने कसैले व्यवस्थापन समिति वा सञ्चालक समितिमा रहेर शिक्षा सेवा गरेको हुन्छ । त्यस्तै कसैले दान गरेर त कसैले बोलेर मात्रै पनि शिक्षा सेवा गरेको हुन्छ; अर्थात् तन; मन; धन; वचन; कर्म जुनसुकै किसिमबाट शिक्षासेवा गर्न सकिन्छ । श्रीप्रसाद ओलीले विभिन्न तरिकाबाट शिक्षासेवा गरेर आफुलाई शिक्षासेवी व्यक्तित्वका रूपमा प्रतिष्ठापित गर्नुभएको छ । उहाँले २०२५ सालमा कनकाई जुनियर हाइस्कूलको भवन निर्माण गर्ने कार्यमा गरेको सहयोग र पछि मा.वि.स्वीकृति लिने बेलामा गरेको आर्थिक र अन्य सहयोग स्तुत्य एवं प्रसंशनीय छ । त्यसैगरी ओलीले पोखरी उच्च मा.वि.आठराई, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा र भगवती उच्च मा.वि.ब्याङडाँडालाई समेत आर्थिक सहयोग गर्नुभएको छ । यसरी हेर्दा शिक्षासेवामा उहाँको योगदान महत्त्वपूर्ण रहेको पाइन्छ ।
४.समाजसेवी व्यक्तित्व
माथि उल्लेख गरिएको शिक्षासेवा पनि समाजसेवा नै हो; तर ओलीले अन्य प्रकृतिका समाजसेवामा समेत आफ्नो प्रतिष्ठा कायम गर्नुृ भएको छ । पूर्वपश्चिम राजमार्गको उत्तरमा रहेको सुरुङ्गा बजारस्थित दुर्गा पाञ्चायन मन्दिरका प्रमुख संस्थापक, व्यवस्थापक एवं महŒवपूर्ण योगदाताका रूपमा ओलीको स्थान सर्वोपरि रहेको कुरा कसैबाट छिपेको छैन । यसअतिरिक्त अद्वैत वेदान्तको अनुशीलन गर्ने क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न मठमन्दिरहरूलाई आर्थिक सहयोग गरी समाजसेवामा उदाहरणीय कार्य गर्नुभएको छ । त्यसैगरी सुरुङ्गा बजारमै आफैंले जग्गा दिएर सत्सङ्ग भवन समेत निर्माण गरी समाजसेवाको नमुना प्रस्तुत गर्नुभएको छ । श्रीप्रसाद ओली भविष्यद्रष्टा हुनुहुँदो रहेछ । उहाँलाई आफु मर्छु भन्ने कुराको ज्ञान भएर सो अघि नै उहाँले एक करोड रुपयाँको अक्षयकोष खडा गर्नुभयो । सो अक्षयकोषको ब्याजबापत प्राप्त रकमबाट समाजसेवाका विविध क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुहुने महानुभावहरूलाई प्रत्येक वर्ष पुरस्कार दिने गरी व्यवस्था गर्नुभयो र सो कार्यको सबै अभिभारा आफ्ना सन्तान–दर्सन्तानलाई सुम्पिएर उहाँ परमधाम जानुभयो । यसरी देर्दा श्रीप्रसाद ओली Present time is the most important time  भन्ने अंग्रजी उक्तिको अनुसरण गर्ने अगुवा समाजसेवी व्यक्तित्व रूपमा प्रतिष्ठापित भई स्वयं अनुसरणीय एवं अनुकरणीय बनिसक्नु भएको देखिन्छ । अन्तमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै यो लेख उहाँमै समर्पण गर्दछु । अस्तु ।
सुरुङ्गा ५, झापा
सन्दर्भस्रोत
१.कल्याण उपनिषद् अङ्क (२०६८, ११औं संस्करण), गोरखपुर,भारत ः गीताप्रेष
२.श्रीमद्भगवद्गीता –४९औं पुनर्मुद्रण), भारत ः गीतापे्रस (गोरखपुर) ।
३.श्रीमद्भागवत महापुराण
४.अष्टावक्र गीता Continue reading

Standard
Literature

हरिध्वज खत्री र उहाँको नेपाल

बुद्धिजीवी, कुशल कृषक, शिक्षासेवी, समाजसेवी व्यक्तित्त्वका रूपमा परिचित हरिध्वज खत्री अब कोशकारका रूपमा पनि प्रतिष्ठापित हुनुभएको छ । भर्खर मात्र विमोचित नेपाल शीर्षक गहन स्थाननाम शब्दकोशको चञ्चुप्रवेशबाट निस्किएको सार तत्त्वलाई यहाँ छोटो समीक्षाका रूपमा राख्ने जमर्को गरिएको छ । नेपालका ३९१५ गाविसको स्थाननाम समेटिएको यस ग्रन्थको  समग्र अध्ययन गरी सीमित समयमा समीक्षा प्रस्तुत गर्नु कठिन कार्य हो तापनि आफुले पाएको जिम्मेबारीलाई येनकेन प्रकारेण पूरा गर्नु नै पर्ने हुन्छ । यसै क्रममा स्थाली पुलक न्यायद्वारा (अर्थात् एक सितो भात छामेर भाँडाको सबै भात पाकेको थाहा पाए जस्तै) निम्नानुसारका विषयवस्तुलाई मध्यनजर गरी यो समीक्षा तयार गर्ने काम भएको छ  –

१. ऐतिहासिक पृष्ठभूमि

नेपालमा सर्वप्रथम नेपाली भाषाको शब्दकोश निर्माणमा रु विदेशीहरूले रुचि देखाएको पाइन्छ । चीनसँग नेपालको युद्ध हुँदा इष्ट इण्डिया कम्पनीका दूत बनी वि.सं. १८४९ मा डब्लु जे. कर्क पेट्रिक नेपाल आएका थिए । केही समयपछि उनी फर्केर गए । वि. सं. १८६८ मा उनले लण्डनबाट नेपालको यात्रा वर्णन समेत जोडेर ‘एन् एकाउन्ट अफ् द किङ्गडम अफ नेपाल’ नामक पुस्तकमा सात/आठ सय जति नेपाली र नेवारी शब्दको अर्थ दिएर एक शब्दावली प्रकाशित गरेको र सो नै नेपाली शब्दकोशको थालनी भएको इतिहासकार ज्ञानमणि नेपालको भनाइ छ ।

त्यसपछि वि.सं. १८७७ मा अङ्ग्रेज नागरिक सी. यू. एटनले नेपाली भाषाको व्याकरण तयार गरी भारतको कलकत्ताबाट प्रकाशित गराएका थिए । त्यसैगरी वि.सं. १९४४ मा ए. टर्नबुलले ‘नेपाली व्याकरण र शब्दावली’ को प्रथम संस्करण भारतकै दार्जीलिङबाट प्रकाशित गराएका थिए । त्यसपछि वि.सं. १९८७ मा लण्डनबाट राल्फ लिलि टर्नरको ‘व्युत्पत्तियुक्त नेपाली अङ्ग्रेजी शब्दकोश’ प्रकाशित भएको पाइन्छ र त्यो नै त्यस बखतको सबभन्दा ठूलो शब्दकोश मानिएको छ ।

त्यसपछि नेपाली भाषाको एक भाषीय शब्दकोश निर्माणको क्रम चल्यो । नेपालका उत्साही भाषाविद्हरूले पनि यस कामको थालनी गरे । वि.सं. १९८८/८९ तिर पण्डित चक्रपाणि चालिसेका दुई स-साना शब्दकोश प्रकाशित भएको पाइन्छ । त्यसपछि वि.सं. २०१९ मा भाषासेवी बालचन्द्र शर्माद्वारा सम्पादित तथा रोयल नेपाल एकेडेमीबाट प्रकाशित ‘नेपाली शब्दकोश’ प्रकाशनमा आयो । यसलार्इ शब्दकोशको विशेषता भएको पहिलो कोश मानिन्छ । त्यसपछि वि.सं. २०४० मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली वृहत् शब्दकोश’ बृहदाकारको एक भाषीय मानक शब्दकोश हो । यसमा ५७ हजार जति शब्दहरू रहेका छन् ।

त्यसपछि वसन्तकुमार शर्मा ‘नेपाल’ द्वारा धेरै वर्ष लगाएर तयार पारिएको ‘नेपाली शब्दसागर’ (२०५७) नै हालसम्मका नेपाली शब्दकोशहरूमा सबभन्दा ठुलो  ग्रन्थका रूपमा देखिएको छ । यसभित्र एक लाख आठ हजार शब्दहरू रहेका छन् । उपर्युक्त बाहेक अन्य केही महत्त्वपूर्ण नेपाली शब्दकोशहरू यसप्रकार छन्–

०१. केशवलाल कर्माचार्य – संक्षिप्त नेपाली शब्दकोश (२०२०)

०२. महाननद साप्कोटा – सरिशब्द (२०२१)

०३. हर्षनाथ शर्मा – नेपाली शब्दकोश (२०२३)

०४. शङ्करकुमार श्रेष्ठ – नेपाली कानुनी शब्दार्थ सङ्ग्रह (२०२६)

०५. टोपबहादुर श्रेष्ठ –कानुनी शब्दकोश (२०३८) ।

०६. पारसमणि प्रधान – सानो नेपाली शब्दकोश (२०३९) ।

०७. सूर्यविक्रम ज्ञवाली – नेपाली संक्षिप्त शब्दकोश (२०४०), प्रकाशक  नेराप्रप्र ।

०८ कृष्णप्रसाद श्रेष्ठ – स्थाननाम कोश (२०४४)

०९. घटराज भट्टारार्इ – नेपाली साहित्यकार परिचयकोश (२०५१)

१०. विलियम वर्क – सही शब्द (२०५१)

११. चूडामणिबन्धु– नेपाली प्राविधिक शब्दकोश (२०५४)

१२. नरेन्द्र पाठक – नजिर कोश (२०५४) ।

१३. हर्षनाथ भट्टरार्इ – संक्षिप्त नेपाली राष्ट्रिय कोश (२०५५)

१४. ने.रा.प्र.प्र. – नेपाली साहित्यकोश (२०५५)

१५. हेमाङ्गराज अधिकारी (प्र.सं.) प्रयोगात्मक लेपाली शब्दकोश (२०६३)

१६. हरिध्वज खत्री – नेपाल (स्थानकोश, २०७०)

२. परिचय

कोश विज्ञानमा कोशलार्इ विभिन्न आधारबाट बर्गीकरण गरिएको पाइन्छ । हिन्दी कोश विज्ञान और विकास (र्इ१९८७) पुस्तक अनुसार बर्गीकरण-

२.१ प्रयोजनपरक धार

यसमा मानक शब्दकोश र सन्दर्भपरक शब्दकोश गरी दुर्इ आधार रहेका  पाइन्छन् । यी दुर्इमा प्रस्तुत कोश सन्दर्भपरक कोश हो । यसमा शब्दको सन्दर्भिक अर्थ समावेश छ ।

२.२ प्रविष्टिगत धार

यस अन्तर्गत अध्ययन गर्दा तिन प्रकारका कोश रहेका पाइन्छन् – वर्णानुक्रम कोश, विषयानुक्रम कोश र विविधानुक्रम कोश । खत्रीको प्रस्तुत कृतिलार्इ वर्णानुक्रम कोश अन्तर्गत राख्न सकिन्छ, किनभने यसको प्रविष्टि वर्रणानुक्रक छ ।

२.३ भाषा संख्यागत धार

यस आधारमा हेर्दा तिन किसिमका कोश पाइन्छन्  — एकभाषी कोश, द्वि भाषी कोश र बहुभाषी कोश । प्रस्तुत ग्रन्थ एकभाषी कोश हो । यसमा नेपाली शब्दको अर्थ नेपालीमै दिइएको छ ।

२.४ प्रयोक्तागत धार

यस आधारमा व्युत्पत्ति कोश, अर्थकोश, उच्चारण कोश गरी तिन प्रकारका कोश रहेका पाइन्छन् । यी तिनमध्ये प्रस्तुत कोश अर्थकोश हो यसलार्इ  कोश वैज्ञनिकहरूले स्थाननाम कोश को संज्ञा दिएको पाइन्छ । नेपाली भाषामा यो नयाँ किसिमको कोश हो । यस कोशमा नेपालका सम्पूर्ण नगरपालिका र गाविसको नामार्थ दिइएको छ । नेपालि भाषामा यस किसिमको कोशको प्रारम्भिक उदाहरणमा शिखरनाथ सुवेदीको शिखरनाथ भाष्य (वि.स.१९५६)लार्इ लिन सकिन्छ । त्यसपछि कोशविधान पद्धति अनुसार तयार पारिएको वास्तविक स्थनकोष कृष्णप्रसाद श्रेष्ठको स्थानकोश (२०४४) हो ।  कृष्णप्रसाद श्रेष्ठपछि उर्ध्वस्तरीय प्रयेगका आधारमा शब्द र अर्थको परिवर्तनक्रम देखाइ तयार पारिएको  प्रस्तुत स्थानकोश महत्त्वपूर्ण अनुसन्धानात्मक कृतिका रूपमा आएको छ ।

३. कृतिको नाम र त्यसको व्युत्पत्तिगत अर्थ

प्रस्तुत ग्रन्थको शीर्षक नेपाल रहेको देखिन्छ र शीर्षकको अर्थ पर्गेल्ने क्रममा कृतिकार खत्रीले नीप+आलय = नीपालय — नीपाल —नेपाल सिद्ध गर्नुभउको छ । उहाँका अनुसार नीप शब्दको अर्थ पहाडको फेदी र आलय शब्दको अर्थ वासस्थान अथवा घर हो । यसबाहेक अन्य अर्थहरू पनि छन्, जस्तै —

-तूलं) च नीप–प्रियक–कदम्बस्तु हरिप्रियः (अमरकोश वनौषधि वर्ग, श्लोक ४१) । यहाँ नीपको अर्थ कदम्ब वृक्ष र अशोक वृक्ष भन्ने दिइएको छ ।

नीपकदम्बबन्धूकनीलाशोकद्रुमेष्वपि -मेदिनी कोश) । यसमा पनि नीपको अर्थ कदम्बबृक्ष, अशोकको रुख, नीपको रुख भन्ने गरिएको छ ।

त्यसैगरी वामन शिवराम आप्टेको संस्कृत हन्दिी कोशमा नीप र नेप दुबै शब्दको अर्थ दिइएको छ, जस अनुसार नीपको अर्थ राजाहरूकोकुल, कदम्ब बृक्ष, अशोक बृक्ष रहेको पाइन्छ भने नेपको अर्थ कुल पुरोहित, सम्मानित व्यक्ति भन्ने रहेको पाइन्छ । उसरी हेर्दा नीप÷ नेप +आलय = नीपालय÷नेपालय > नेपाल को अर्थ ने मुनि अथवा मन्जुश्री जस्ता महान् व्यक्तिको घर भन्ने पनि बुझिन्छ । अथवा ने मुनिना पालितम् नेपालम् भन्ने अर्थ पनि लाग्न सक्छ । नेपाली भाषा समानार्थी शब्दको भन्डार हो त्यसैले त्यस भन्डारबाट मिल्दो अर्थ पहिल्याउन सक्नु कृतिकारको खुबी हो ।

नेपालय कालान्तरमा नेपाल भएको हो भन्ने कुरा देव+आलय = देवालय > देवल, हिम+आलय = हिमालय > हिमाल, पोखरी+आलय = पोख¥यालय > पोख¥याल, पौडी+आलय = पौड्यालय > पौड्याल÷पौडवाल जस्ता शब्दहरूले पुष्टि गरेका छन् । यसमा शब्दनिर्माण प्रक्रियाका आगम, आदेश र लोपमध्ये लोप प्रक्रियाले कार्य गरेको छ । यसरी हेर्दा कृतिकारले गरेको व्युत्पत्तिगत अर्थ भाषा विज्ञानमा आधारित देखिन्छ ।

४ बाह्य विशेषता

यस पुस्तकमा भएको आवरण पृष्ठ बडो सुन्दर तथा आकर्षक छ । चिल्लो, बाक्लो स्तरयुक्त कागजमा छापिएको चित्रले पाठकको मनमा चुम्बकीय प्रभाव पार्छ । काथि हिमाल, तल वरिपरि पहाड र बिचमा पोखरी भएको आवरण चित्र मन्जुश्री भन्दा अघिको नेपाल खाल्डो हुनुपर्छ । यो चित्र एकार्थक नभएर बह्वर्थक देखिन्छ । पाठकैपिच्छे यसले अलगअलग अर्थ दिन सक्छ । यसले दिने बह्वर्थकता यसको प्रमुख विशेषता हो । त्यसैगरी भित्री कागज, छपाइ, अक्षराकार, ठाउँ छोडाइ, छपाइ, बँधाइ जस्ता कुरामा स्तरीयता कायफ भएको छ । यसमा आवरण पृष्ठ सहित जम्मा ५६३ पृष्ठ छन् ।

५. आन्तरिक विशेषता

यसको अन्तर्वस्तुका रूपमा नेपालका ३९१५ गाविस रहेका छन् भने ती गाविसको स्थानको अन्वेषण गर्नु यस कृतिको प्रमुख यद्देश्य रहेको छ । अनुसन्धानलार्इ अंग्रजीमा Research  भनिन्छ । Research  को अर्थ हुन्छ पुनः खोजी गर्नु । यसको परिभाषा एल. भी. रेडम्यानले यसरी गरेका छन् – नवीन ज्ञान प्राप्तिका लागि गरिने एक व्यवस्थित प्रयास नै अनुसन्धान हो । यस परिभाषा अनुसार खत्रीको प्रस्तुत कृतिलार्इ हेर्ने हो भने यो व्यवस्थित मात्र होइन यसमा अथक प्रयास पनि गरिएको छ । कोश निर्माण गर्दा प्राथमिक र द्वितीयक दुवै स्रोतको उपयोग गरेको हुनाले कोशमा दिइएका स्थान नामिक शब्दका अर्थहरू भावनात्मक र काल्पनिक नभर्इ वस्तुपरक एवं तार्किक छन् ।

यसमा विभिन्न जातजातिका भाषाको अर्थ खोजिएको छ । उदाहरणका लागि केही गाविसका स्थाननाम र अर्थ र्हरू यसप्रकार छन् –

क्र.स. भाषाको नाम गाविसको नाम अर्थ जिल्ला
गन्धर्व अर्छानी अल्छी जाजरकोट
लिम्बू नामसालिङ घमाइलो पाटो इलाम
नेवारी इकुडोल रिंगटा लाग्ने ठाउँ ललितपुर
भोजपुरी अमरजन उमेर पुगेको मान्छे बारा
गुरुङ मुना कान्छी छोरी म्याग्दी
थारू मुनुवा लोकन्ती कैलाली
मगर बार्इ नारी बाजुरा
मैथिली फुलकाही फुलेको काँस सप्तरी
भोटे साँखेजुङ घुर्मैलो रङको घर इलाम
१० लेप्चा समालबुङ टुनीको रुख इलाम
११ शेर्पा बाक्सा बोक्सी ओखलढुङ्गा
१२ रार्इ पाङचा पाहा÷भ्यागुतो भोजपुर
१३ ह्याल्मो नाम्चे आकाश, चुचुरो सोलुखुम्बु

 

६. उपसंहार

प्रस्तुत ग्रन्थ ज्ञानबर्धक छ । विशेषतः विद्यार्थी र अनुसन्धाताका लागि यो पुस्तक महत्त्वपूर्ण स्रोतका रूपमा रहने देखिन्छ । भाषाविज्ञानका विद्यार्थी, अध्येता, समाजसेवी सबैका लागि यो स्थाननामिक कोश पठनीय एवं मननीय छ ।

यसका शक्तिहरू धरैभन्दा धेरै छन् तापनि चन्द्रमामा दाग रहेजस्तै केही सीमाहरू पनि छन् ।  यसको प्रविधि सम्बन्धी एउटा सीमा हो पुनरुक्तिकरण । यसले पुस्तकको धेरै ठाउँ लिएको छ । उदाहरणका लागि झापा जिल्लालार्इ लिन सकिन्छ । यसमा भएका ४७ वटा गाविसको नाम

वर्णानुक्रम अनुसार फरक फरक ठाउँमा राखिएको छ र प्रत्येक ठाउँमा जिल्ला झापाका गाविस संख्या ४७, सदरमुकाम भद्रपुर, अञ्चल मेची लेखिएको छ । यसरी ३९१५ ठाउँमा यति दोहोरिंदा कति ठाउँ लिन्छ होला । यस कृतिको दोस्रो सीमा हो अनुक्रमणिका नहुनु । अन्त्यमा जिल्ला, गविसको नाम र पृष्ठ संख्या राखिदिन पाएको भए पाठकलार्इ सारै सजिलो हुनेथियो । यसमा शिक्षाको सिद्धान्त अनुसार सरलबाट जटिलतिर हुनुपर्नेमा जटिलबाट सरलतिर भएको छ । यिनै प्राविधिक कुराबाहेक पुस्तकमा खोट लाउने ठाउँ छैन । दोस्रो संस्करणमा यसको दाग मेटिनेछ । हरिध्वज खत्रिद्वारा गरिएको यस भगीरथ कार्यका लनागि शतशः धन्यवाद, हर्कबढाइँ ।

Standard
Literature

याेगी नरहरिनाथ र उनकाे शिखरिणी यात्रा

याेगी नरहरिनाथ र उनकाे शिखरिणी यात्रा

योगी नरहरिनाथ
योगी नरहरिनाथ (१९७१-२०५९) नेपालका एक अध्यात्मिक व्यक्ति थिए। उनी नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन् । वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण, जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ । देश एवं विदेशका धेरै ऎतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण गरेर उनले अध्ययन अनुसन्धान गरेका छन्। त्यस बाहेक उनी एक कुशल साहित्य सर्जक पनि हुन्। सिद्धहस्त आशु कविका रूपमा पनि परिचित उनी नेपालका आध्यात्मिक व्यक्तित्वहरू मध्ये एक हुन्। संस्कृत र नेपाली भाषामा रचित योगी नरहरिनाथका केही कृतिहरू (योगी नरहरिनाथ स्मृतिग्रन्थ २०६८ : १३५) प्रकाशित छन् भने धेरैजसो अप्रकाशित छन् । घण्टौंसम्म कवितामय संस्कृतमा धाराप्रवाह प्रवचन गर्ने योगीका निमित्त बसेर कविता लेख्नु सामान्य कुरा थियो ।
योगी नरहरिनाथको जन्म नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रमा मा रहेकोकर्णाली अञ्चलको कालीकोट जिल्ला अन्तर्गत लालू भन्ने गाउँमा विक्रम सम्वत् १९७१ फागुन १७ गते प्रातः सूर्योदय बेलामा भएको थियो । उनीभारदवाज गोत्रमा आवद्ध ऋक्सेन थापा क्षत्रियका ख्यातिप्राप्त कुलदीपक हुन्।
शिखरिणी यात्राभित्रका २३७ वटा पद्य कविताका स्थूल आलोकमा योगीका काव्यगत विशेषताका साथै कालक्रमिक तथा सैद्धान्तिक विशेषताको निम्नानुसार अध्ययन गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ ।
१.अन्वेषणात्मकता
योगी नरहरिनाथ आजीवन परोपकाररत रहेको पाइन्छ। जीवनको अन्तिम घडीसम्म इतिहास, पुरातत्त्व, संस्कृति विषयक अन्वेषणमा लागेर परोपकारको पथ प्रदर्शन गर्ने योगीका एकएक क्रियाकलापबाट अनेक अनेक शिक्षा प्राप्त गर्न सकिनछ। यावत् क्रियाकलापमा अन्वेषणात्मक मानसिकता बोकेका योगीका काव्यहरू पनि अन्वेषणात्मक नै छन् । शिखरिणी यात्राभित्रका २३७ वटा कविता सबैमा अन्वेषणात्मकता पाइने हुनाले यसलार्इ अन्वेषणात्मक यात्रा-काव्य भन्नु समीचीन ठहर्छ। अन्वेषणात्मकतालार्इ पुष्टि हुने केही काव्यांशहरू हेरौं ।
गरौं सेवा भन्ने मुटु गरी दरो कम्मर कसी,
पसी गैरापानी कतिकति घना जङ्गल पसी ।
बसी ऒडारैमा सुहगन गुहा गह्वर धसी ।
पुरातत्त्वान्वेसी भयर इतिहासै बटुलियो१ ।।
गुफा गुम्बा माडू मड मठ मठी मन्दिर दरी,
कुटी पाटी पौवा सतल जलधारा सकलका
कुवा नाउला नाउली गड गडि किला स्तूप घरका,
लियौं हेरी मागी निखिल अभिलेख प्रतिलिपि२
२.प्रकृतिचित्रण
प्रकृति चित्रणका आधारमा हेर्दा शिखरिणी यात्रा काव्य महाकवि देवकोटाका काव्यको नजिक देखिन्छ । प्रकृति प्रयोगका सापेक्षतामा देवकोटा रमाधव घिमिरेलार्इ स्वच्छन्दतावादी-यथार्थवादी कविका रूपमा देख्न सकिन्छ भने योगीलार्इ स्वच्छ यथार्थवादी कविका रूपमा पाउन सकिन्छ । अधिकांश स्वच्छन्दतावादी कविहरूले ध्वनि र प्रतीकको प्रयोगद्वारा प्रकृतिचित्रण गर्न रुचाएको पाइन्छ; तर योगीका कवितामा प्रकृतिको साक्षात् स्वरूपको दर्शन गर्न सकिन्छ । योगीका कवितामा प्रकृतिचित्रणका साथै राष्ट्रवादी स्वर पनि मुखरित भएको पाइन्छ। स्वच्छन्दतावादी कविहरू प्रकृतिको सुन्दर, शान्त एवम् कोमल रूपप्रति आकर्षित भएर त्यसैको गुणगानमा आफ्नी प्रेयसीको न्यास्रो मेटाउने गर्छन्, तर योगीका कवितामा यस प्रकारको प्रकृतिप्रेम पाइदैन । योगीहरूका लागि सुरा, सुन्दरी र सान्सारिक सुखभोग बाधक ठहर्छन् । उनीहरू सुन्दरता र कोमलतासँग होइन कठोरतासँग लड्दै लक्षप्राप्तिमा अघि बढिरहेका हुन्छन् । प्रकृतिचित्रणका केही उदाहरणहरू:
अपामार्गो ऒदाल् बलु र लिगुडो सानसरस, जतूको कन्चीरो भदुरि सतुवा टाँकि कटुको । कतै गीठी बोक्रा दुदि हरिमले बेल महला, कतै पानी सागै पनि नमिलदा निर्जल रह्यौं३
हिमाली कर्णाली हिम जव तिला गण्डकिहरू, महाकाली मेची कनक कमला कौशिकिहरू
बुढी सेती भेरी यति सुरनया रापति बबै, सबैमा श्रद्धाले स्नपन अनुसन्धान गरियो४
३.राष्ट्रियता
योगीका कवितामा राष्ट्रियताको ज्वलन्त उद्घोष पाइन्छ। नेपालको इतिहास, भुगोल, पुराण, पुरातत्त्व, धर्म, दर्शन, जनजीवन, पशुपन्छी, वनस्पति, पर्यटकीय स्थानविशेष जस्ता राष्ट्रियताका प्रमुख पक्षलार्इ कवितामा यत्रतत्र उठाइएको छ। अन्य विशेषताका तुलनामा शिखरिणी यात्रा राष्ट्रियताले ऒतप्रोत भएको कविता मानिन्छ। यसमा राष्ट्रियता छता छुल्ल भएर पोखिएको छ । निस्वार्थ भावले राष्ट्रप्रति समर्पित योगीको प्रस्तुत काव्य सबैका लागि पठनीय बनेको छ । हामी नेपालीले सर्वप्रथम आफैंलार्इ चिन्न सक्नुपर्छ भन्ने भावका साथ कला, संस्कृति, आदर्श जस्ता विषयवस्तुप्रति कविता यसरी बोलेको छ । अनेकौं प्राकृतिक रत्नलार्इ गर्भमा बोकेर हिमालय पर्वत लाखौं वर्षदेखि खडा छ हाम्रो सिरानीका रूपमा ।
हाम्रो मौलिकता कतातिर गयो मूलस्थली हो कता ?
भाषाभूषण भेष संस्कृति कला आदर्श शैली कता ?
कस्मा छन् थरका थला तल हुँदा थारू कसोरी भयो ?
जेठो वेद हिमाल हो सकलको कैलास साछी छ यो५
४.ऐतिहासिकता
प्रस्तुत ग्रन्थको सबैभन्दा महत्त्वपूर्ण पक्षका रूपमा यसको ऎतिहासिकतालार्इ लिन सकिज्छ। प्रस्तुत ग्रन्थको नाम ऐतिहासिक शिखरिणी यात्रा रहेबाट यस काव्यलार्इ ऐतिहासिक मान्न सकिन्छ । यति मात्र होइन काव्य सिर्जनाको प्रमुख उद्देश्य पनि ऐतिहासिक एवं पुरातात्त्विक विषयवस्तुमाथिको अन्वेषण र अनुसन्धान नै रहेको देखिन्छ । “हाजारौं लाखौं वर्षका इतिहास पुरातत्वको अङ्गुल्या निर्देश यो ऐतिहासिक ‘शिखरिणी यात्रा’ सूचना मात्र हो । उपलब्धि ‘इतिहास प्रकाश’ आदि मुद्रित अमुद्रित ऐतिहासिक पुरातात्विक ज्ञानको सामग्री हो । ऐतिहासिक साहित्य समेत रहस्यमय अद्भुत इतिहासबोधनिधि हो ।…… यो पुरातात्विक इतिह आस भन्ने इतिहास हो ”६ । योगीका निम्न लिखित आत्मस्वीकृतिहरूबाट पनि प्रस्तुत काव्यको ऐतिहासिकता एवं पुरातात्विकता प्रमाणित हुन्छ —

कता कस्ता भाषा लिपि जन–मनोभावहरू थे
कदा कस्ता नीति स्थिति रिति थिये लेखि लिइए ।
कला शिल्प प्राणी जगत इतिहास प्रविदित
पुराना प्रत्यक्षै गरि इति ह आस स्व महिमा ।।७
कतै ती वन मान्छे वसिकन छुटेका गिरिगुहा
कतै लाम्कानेका घर सरि वडारै पनि मिले ।
कतै ढ्याङ्रो ठोकी जडित जन बोकी वन लिने
पढाउने वनझाँक्री वसति घनघोरै वन मिले ।।८
उपर्युक्त श्लोकहरू नमुना मात्र हुन् । यसैगरी काव्यका प्रत्येक श्लोकले प्रत्यक्ष वा परोक्ष रूपमा इतिहास बोलेका छन्, पुरातत्त्व घोलेका छन् । यसभित्रका प्रत्येक श्लोक, पङ्क्ति र शब्दबाट ऐतिहासिकता र पुरातत्व प्रस्फुटित भएको छ । समग्रमा योगी स्वयं ऐतिहासिक एवं पुरातात्विक प्रतिमूर्ति भएकाले उहाँसँग सम्बन्धित कृतिहरू, अन्वेषणहरू ऐतिहासिक र पुरातात्विक नहुने प्रश्न नै आउन सक्दैन ।
५.चित्रमय प्रस्तुति
प्रस्तुत काव्यको अर्को महत्त्वपूर्ण विशेषता भनेको यसको चित्रात्मक प्रस्तुति हो । यसमा रहेका जम्मा २३७ वटा श्लोक मध्ये ११५ वटा श्लोक प्रत्येकमा चित्रात्मक प्रस्तुति रहेको छ । प्रत्येक श्लोकका सिरानमा सुन्दर हस्तलिखित चित्र राखिएको छ । योगी प्रभातनाथद्वारा लेखिएका प्रस्तुत चित्रहरू यथातथ्य रूपमा कविताको भावाभिव्यञ्जन गर्न समर्थ भएका छन् । यहाँ कविता र चित्रको तादात्म्य नङ र मासु जस्तै भएर रहेको पाइन्छ । ११५ श्लोक कविता प्रत्येकको चित्रानुवाद अथवा चित्रमय वर्णन हुनु भनेको सारै ठूलो कुरा हो । त्यसमा पनि छायानुवाद नभएर भावानुवाद भएको छ । नेपाली कविताको इतिहासमा यस्तो कार्यलाई ‘न भूतो न भविष्यति’ भनेर ठोकुवा पनि गर्न सकिन्छ । नेपाली साहित्यका वरिष्ट समालोचकहरूमध्ये कसैका आँखामा यो काव्य परिदिएको भए योगी नरहरिनाथलाई पनि प्रयोगवादी कविका रूपमा प्रतिष्ठापित भएको देख्न पाइन्थ्यो । तर ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदा च न’ मा विश्वास गरी राष्ट्रका लागि, राष्ट्रको इतिहास र संस्कृतिका लागि मरिमेट्ने एउटा निष्णात कविलाई कसले पो वास्ता गर्थ्याे र ! त्यसैले योगीलाई कविका रूपमा पत्याइदिने समालोचकहरू त्यति देखिएनन् । ‘स्वदेशो भुवन त्रयम्’ भन्ने एउटा महान् देशभक्तलाई कसैले चिन्न सकेनन् । यस ग्रन्थको पृष्ठ संख्या १५१ देखि १७१ सम्मका कविताहरू चित्ररहति छन् । यसको कारण योगी स्वयंको उद्गार यस्तो रहेको छ—आर्थिक कृशताले यहाँदेखि तलका चित्र दिन नपाई शब्दचित्र मात्र प्रस्तुत गरिन्छ । अग्रिम संस्करणमा प्रयास गरिने छ९ ।
६.काव्यमय यात्रावर्णन
नेपाली साहित्यको इतिहासमा यात्रा साहित्यको महत्त्वपूर्ण स्थान रहेको छ। नेपाली साहित्यको इतिहासमा यात्रा साहित्यको महत्त्वपूर्ण स्थान रहेको छ । आजसम्म नेपाली भाषामा लिखित यात्रा साहित्यमा अधिकांश ‘यात्रा–निबन्ध’ रहेको पाइन्छ । ‘यात्रा निबन्ध’लाई ‘नियात्रा’ पनि भन्ने गरिन्छ । यहाँ ‘नियात्रा’ साहित्य निकै फस्टाएको पाइन्छ भने काव्यमय यात्रा साहित्यमा खडेरी नै परेको छ । यसै अवस्थामा योगी नरहरिनाथको ‘शिखरिणी यात्रा’को प्रादुर्भाव भएको छ । यसबाट नेपाली यात्रा साहित्यको उद्यान सजाउने कार्यमा महत्त्वपूर्ण सहयोग पुगेको छ ।
यात्रा निबन्धमा भन्दा ‘शिखरिणी यात्रा’मा अलिक फरक विशेषताहरू पाउन सकिन्छ । नियात्रामा थोरै कुरा भन्न धरै लेख्नु पर्छ भने यात्रा काव्य सूत्रात्मक हुन्छ र यसमा थोरैबाट धेरै भन्न खोजिएको हुन्छ । यात्रा काव्यले समयको बचत गर्छ । यसले अधिक मनोरञ्जन प्रदान गर्दछ । यसलाई सूर, तालमा गाउन पनि सकिन्छ । यसको भाषा तार्किक नभएर ध्वन्यात्मक हुन्छ । शब्दसौन्दर्यात्मक भाषाको प्रयोग यसको अर्को विशेषता हो । उपर्युक्त विशेषताहरू ‘शिखरिणी यात्रा’मा पाउन सकिन्छ ।
‘शिखरिणी यात्रा’ यात्रा–काव्य मात्र होइन । यो त यात्रा–चित्र र यात्रा निबन्ध समेतको त्रिवेणी हो । अर्को शब्दमा यो महइभ्वपूर्ण आयुर्वेदिक औषधि–हर्रो, बर्रो र अमला तीनै थोक मिसाई तयार पारिएको ‘त्रिफला’ हो । यसलाई नेपाली साहित्य, संस्कृति, कला, पुरातत्व, इतिहास लगायत अन्य विषयहरू समेतको जिज्ञासा मेट्ने अचूक औषधिका रूपमा लिन सकिन्छ ।
तीन प्रकारका व्यक्तिका निमित्त यो काव्य अत्यन्त उपयोगी छ—चित्र मनपराउनेका लागि, कविता मनपराउनेका लागि अनि निबन्ध मनपराउनेका लागि । त्यति मात्र होइन विश्वका सबै किसिमका भाषाभाषीका निमित्त पनि यो यात्रा–काव्य लाभदायक सिद्ध हुन्छ । यो बहुभाषिक छ र वास्तवमा यात्रा साहित्य यस्तै हुनुपर्छ पनि । चित्रको भाषा विश्वभाषा हो । यसलाई विश्व भरका जनताले सजिलै बुझ्न सक्छन् । त्यसैले ‘यात्रा–चित्र’लाई बहुभाषिक भनिएको हो । यसभित्रका केही कविताबाहेक सबै कविता नेपालीमा छन् । यी कविता नेपाली भाषीहरूका लागि हुन् भने संस्कृतमा लेखिएका केही कविता संस्कृतज्ञाताका लागि हुन् । अब रह्यो यात्रा निबन्धको कुरा । प्रत्येक श्लोकभन्दा तल लेखिएको व्याख्या हिन्दीभाषीहरूका लागि उपयुक्त छ । यसरी ‘शिखरिणी यात्रा’ ११५ श्लोक सम्म बहुभाषिक छन् । उपर्युक्त आधारबाट हेर्दा प्रस्तुत काव्यलाई अन्तर्राष्ट्रिय स्तरको काव्यका श्रेणीमा राख्न सकिन्छ । प्रस्तुत अन्वेषणात्मक यात्रा साहित्यको वर्चस्व नेपालमा जति रहेको छ विदेशी मुलुकहरूमा पनि त्यत्तिकै रहेको छ भन्न हिचकिचाउनु पर्दैन ।
७.छन्दोबद्धता

छन्दले कविताको भाव र लयलाई नियमबद्ध बनाउँछ । यसमा निश्चित सङ्ख्याका अक्षर, मात्रा, गति, यति, लय, स्वर आदिको समन्वय गरिएको हुन्छ । प्रस्तुत काव्यमा छन्दशास्त्रीय नियमअनुसार ‘शिखरिणी’ छन्दको प्रयोग भएको छ । यो समवृत छन्द हो । यसका प्रत्येका श्लोकमा चार पाउ हुन्छन् र प्रत्येक पाउ हरेक हिसाबले समान हुन्छन् :
शिकारीको गोली कुटिल मुख बोली इनि दुवै,
समानै छन् भन्छन् तर तिनि दुवै भिन्न गुण छन्।

शिकारीको गोली यक दुई मृगै मार्छ तर त्यो
यकै लाखौं मार्ने कुटिल मुख वोली छिन छिनै ।।१०

शिखरिणी छन्दमा लेखिएको उपर्युक्त कवितांशमा निम्न लिखित नियम समूहको प्रयोग भएको पाइन्छ :
८.कालक्रमिक तथा सैद्धान्तिक विशेषता
योगीको शिखरिणी यात्रालार्इ कालक्रमिक तथा सैद्धान्तिक द्रृष्टिबाट निम्नानुसार अध्ययन गर्न सकिन्छः-
८.१.धारागत अध्ययन
यस अन्तर्गत वीरधारा, भक्तिधारा, शृङ्गारिक धारा, शास्त्रीयतावादी धारा, आधुनिक धारा, समसामयिक धारा जस्ता उपसमुच्चयहरू पर्दछन् । उपर्युक्तमध्ये शास्त्रीयतावादी धारा र आधुनिक धाराभित्र राखेर प्रस्तुत काव्यको अध्ययन गर्न सकिन्छ । शास्त्रीयतावादका मूलभूत विशेषता के हुन् भने यसले काव्य–भाषाको परिष्कृत, परिमार्जित र आधुनिक रूपको विकास गर्छ । यसभित्र नीतिशिक्षा र सुधारवादी स्वर मुखरित भएको हुन्छ । संस्कृतका शास्त्रीय छन्द र अलङ्कारहरूको अधिकाधिक प्रयोग, आध्यात्मिक दार्शनिक चिन्तन, ऐतिहासिकता, अन्वेषणात्मकता, यात्रा सन्दर्भ, आत्मकथा जस्ता कुरा पनि शास्त्रीयतावादभित्र प्रतिविम्बित भएको पाइन्छ ।
जुन कलाकृति वा साहित्य रचना शाश्वत मूल्य एवं महत्त्वका हुन्छन्, कुनै पनि देश तथा कालको सीमामा साँघुरिएर रहदैनन् र कालजयी हुन्छन्, तीनै यथार्थमा उच्चकोटिका वा क्लासिकल ठहर्छन् । अर्को शब्दमा क्लासिकल साहित्यले युगजीवनका त्यस्ता तत्व वा युग चेतनालाई आत्मसात् गरेको हुन्छ, जसको उपयोगिता र सार्थकता सार्वकालिक एवं सार्वदेशिक हुन्छ ।११ योगीको ‘शिखरिणी यात्रा’ काव्यभित्र यस वादका अधिकांश अभिलक्षण प्राप्त गर्न सकिन्छ । किनभने प्रस्तुत काव्य परिष्कृत, परिमार्जित र आधुनिक छ । त्यसैगरी नीति–शिक्षा र सुधारवादी स्वरहरू पनि प्रत्यक्षतः यसमा मुखरित भएको पाउन सकिन्छ । शास्त्रीय छन्दमा लेखिएको यस काव्यमा आध्यात्मिक दर्शन, दार्शनिक चिन्तन, ऐतिहासिकता, अन्वेषणात्मकता यात्रा–सन्दर्भ जस्ता विषयवस्तुहरू रहेको पाइन्छ । ऐतिहासिक एवं पुरातात्विक मूल्य र महत्त्वका विषयमा रचना गरिएको प्रस्तुत काव्य सार्वदेशिक एवं सार्वकालिक भएकाले लेखनाथ, सोमनाथप्रभृति कविहरूका कृतिझैं यो कृति पनि शास्त्रीयतावादको एउटा बन्न पुगेको पाइन्छ । शास्त्रीयतावादी धाराका साथसाथ यस काव्यलाई आधुनिक धारा अन्तर्गत पनि अध्ययन गर्न सकिन्छ । कविशिरोमणि लेखनाथका काव्यमा शास्त्रीयतावाद र आधुनिकता दुवै पाइएझैं कवि नरहरिनाथका काव्यमा पनि उक्त दुवै प्रवृति पाउन सकिन्छ । निम्न लिखित विशेषताहरू आधुनिताका परिचायक हुन् र योगीका काव्यमा पनि प्रत्यक्ष वा परोक्ष रूपमा यस्ता विशेषताहरू रहेका पाइन्छन् : तथ्यको खोजी र परीक्षण गरी निष्कर्ष निकाल्नेतर्फ अभिमुख हुनु, परम्परित स्थापनाका स्थानमा प्रयोगात्मक र खोजमूलक ढङ्गले नवीन परिपाटीको निर्माण गर्नु, वस्तुपरक विश्लेषणलाई बढी प्राथमिकता दिनु ।
ऐतिहासिक ‘शिखरिणी यात्रा’ काव्य एउटा नितान्त नौलो प्रयोग हो । तथ्यको वस्तुपरक अन्वेषण गरी निष्कर्षमा पुग्ने कुरालार्इ आफ्नो प्रमुख लक्ष्य बनाउने कार्यमा काव्य अघि बढेको पाइन्छ जस्तै कठिन परिस्थितिको समाधान गर्न पनि पछि नपरेका यथार्थहरू कविताले बोलेका छन् । अन्वेषणात्मक आन्दोलनका विषयमा लेखिएका योगीका कविताहरू अत्यन्त क्रान्तिकारी छन् । आधुनिकताको प्रमुख गुण यो पनि हो । विभिन्न किसिमका प्रयोगहरू पनि आधुनिकताभित्रै पर्छन् । अर्को महत्त्वपूर्ण कुरा के छ भने यो काव्य पर्यटन र पर्यावरणमा आधारित प्रयोगको एउटा नमुना हो । छन्दवादी कविहरूमा रुढ भइसकेको अन्त्यानुप्रासिक योजनालाई शिथिल पार्नु आधुनिकताको अर्को उदाहरण हो । यसरी यहाँ परम्परालाई तोडेर नवीन परिपाटीको स्थापना गर्न खोजिएको छ । प्रमाणका लागि तलको एउटा श्लोक हेरौं :
कतै ध्वाँ ध्वाँ वग्ने तलि हिमनदी माथि हिमका,
अथाह कोशौंका हिंडि पर गुहा भेटि बसियो ।
शयौं वर्षे लामासित पनि पुरातत्व बुझियो,
कपालै कङ्कालै हिमपुरुषका स्थूल नि मिले ।१२
यस श्लोकमा एक ठाउँमा पनि अन्त्यानुप्रास छैन । पूर्ववर्ती कविहरूका छन्दोबद्ध कविताभन्दा यो काव्य यस अर्थमा फरक छ कि यसले अन्त्यानुप्रासको नियमलाई चुनौती दिएको छ । परम्परालाई तोडेर अघि बढ्नु नै वास्तवमा आधुनिकता हो ।
८.२.सिद्धान्तगत अध्ययन

योगी नरहरिनाथको शिखरिणीयात्रा नामक पुस्तकलार्इ सिद्धान्तगत समुचचय अन्तर्गत परिष्कारवाद, यथार्थवाद, अस्तित्ववाद, पर्यटन तथा पर्यावरणवाद जस्ता उपसमुच्चयहरूका सापेक्षतामा अध्ययन गर्न सकिन्छ । यी उपसमुच्चयमध्ये परिष्कारवादको चर्चा धारागत अध्ययनका क्रममा भइसकेको छ । यहाँ चर्चा गरिने अर्को उपसमुच्चय हो यथार्थवाद । यथार्थ भनेको जस्ताको तस्तै अर्थात् वास्तविकता जे हो त्यही नै हो भन्ने कुरामा सबैजसो समालोचक सहमत देखिन्छन् । यस काव्यमा कविले अन्वेषणका क्रममा देखेका, भोगेका, अध्ययन गरेका कुराहरूको यथातथ्य वर्णन गरेको पाइन्छ । खास गरेर कला साहित्यका सन्दर्भमा यथार्थ जीवन र खसोखास तथ्यलाई निष्पक्ष र निडर भई पूरा इमान्दारीका साथ ठीकठीक तरिकाले अथवा भनूँ वस्तुगत ढङ्गले तिनका कटु, नराम्रा र वेदनादायी कुराहरूलाई समेत कत्ति पनि तलमाथि नपारी र तिनको आदर्शीकरण नगरीकन चित्रण–अङ्कन गर्नुपर्छ भन्ने मान्यता वा सिद्धान्त नै रियालिज्म वा यथार्थवाद हो ।१३ यस भनाइसँग सामञ्जस्य राख्ने योगीको प्रस्तुत काव्य सिद्धान्ततः यथार्थवादी भएको मान्न सकिन्छ । ‘शिखरिणी यात्रा’ काव्यलाई अस्तित्ववादको आलोकमा पनि अध्ययन गर्न सकिन्छ । अस्तित्ववाद मूलतः दर्शनपरक सिद्धान्त हो । सर्वप्रथम पश्चिमी विद्वान्द्वारा यो सिद्धान्त प्रतिपादित भएको पाइन्छ । पश्चिमी विद्वान्का साथसाथ पूर्वेली विद्वान्हरूले पनि यसबारेमा आ-आफ्ना धारणा अघि सारेका छन् । एकजना नेपाली विद्वान्को भनाइ यसप्रकार रहेको देखिन्छ — ‘यहाँनिर पूर्वीय अद्वैत वेदान्तदर्शनसित यो अस्तित्ववादको किञ्चित् तुलना गर्न मन लाग्छ किनभने पूर्वीय वेदान्त दर्शन र यो पाश्चात्य अस्तित्ववाद दुवै नितान्त व्यक्तिवादी चिन्तन-प्रवृत्ति (अहं ब्रह्मास्मि) हो । दुवै थरी दर्शनले मान्छेको वैयक्तिक जीवनलाई नै आफ्नो चिन्तनको मूल केन्द्र बिन्दु बनाउँदै त्यसलाई सार्थक र मूल्यवान् तुल्याउन चाहेको देखिन्छ । यस प्रकार नितान्त व्यक्तिवादी दृष्टिले मात्र होइन, अपितु तात्त्विक दार्शनिक दृष्टिले पनि यी दुवै दशर्न उस्तै उस्तै लाग्छन् ।१४ एकोऽहं बहुस्याम मा विश्वास राख्ने योगी नरहरिनाथ अद्वैतवादी दार्शनिकका रूपमा प्रतिष्ठापित नाम हो । योगीले अहं ब्रह्मास्मि लाई ओं को पर्याय मानेको, बेदो ऽ खिलो धर्ममूलम्, ईशावास्यमिदं सर्वम्, सर्वं खल्विदं ब्रह्म, खम् ब्रह्म१५ समेत लाई आफ्नो मूल मन्त्र ठानेको हुनाले प्रस्तुत काव्यमा पनि प्रत्यक्षतः अस्तित्ववाद मगमगाएको पाउन सकिन्छ, किनभने कविभित्र रहेको विचारधाराको प्रभाव काव्यभित्र पनि प्रतिविम्बित नभइरहन सक्दैन । ‘शिखरिणी यात्रा’ काव्यलाई पर्यटन र पर्यावरणका सापेक्षतामा अध्ययन गरेको खण्डमा यसमा स्पष्टतः उत्तरआधुनिकता मुखरित भएको पाइन्छ; किनभने उत्तरआधुनिकतावादले तात्त्विक अनिश्चितता, गहनताको अभाव, बहुलवादको स्वीकार, खण्डखण्डलाई जोडजाड गरी मिलाउने प्रवृत्ति, सुसङ्गति र सामञ्जस्यको अभाव, विधाभञ्जन र विधामिश्रण जस्ता कुरा मात्र नबुझाएर वर्तमान समयको सबैभन्दा बढी चासोको विषय रहेको पर्यटन-पर्यावरणलाई पनि बुझाउँछ । जे.युरीले पर्यटनलाई उत्तरआधुनिक समाजको साँस्कृतिक अभिव्यक्ति मानेका छन् । यात्राजन्य मनोरञ्जन पर्यटन हो । यस रूपमा नेपाली साहित्यमा नियात्रा निकै फस्टाएको छ । यात्राका साथ हुने दुःखसुखानुभव नै पर्यटन हो ।’१६
वास्तवमा वर्तमान युगको एउटा प्रमुख माग पर्यटन र पर्यावरण हो । पर्यटन विभिन्न उद्देश्यपूर्तिका निम्ति गरिन्छ । कसैका लागि पर्यटन मनोरञ्जन हो भने कसैका लागि अध्ययन र अनुसन्धान हो । त्यसै गरी कसैका लागि यो शुद्ध संस्कृतिको विषय हो भने कसैका लागि साहित्य लेखनको विषय पनि हो । योगीको ‘शिखरिणी यात्रा’ विशुद्ध अध्ययन र अनुसन्धानका निमित्त हो र त्यही अध्ययन र अनुसन्धानलाई नै योगीले हल्का मनोरञ्जनका रूपमा लिएको पाइन्छ । यस अनुसार अध्ययन गर्दा शिखरिणी यात्रा आधुनिकोत्तर काव्य बन्न सकेको पाइन्छ । नेपाली साहित्यमा प्रसस्त नियात्रा लेखिएका पाइन्छन, तर ‘शिखरिणी यात्रा’ सद्दश काव्य अद्यावधि लेखिएको पाइँदै न । यो कृति अन्य उत्तरआधुनिक कृतिभन्दा नितान्त पृथक् रूपमा रहेको देखिन्छ । यसमा कयात्रा, नियात्रा र चियात्रा गरी एकै ठाउँमा तीन यात्रा समेटिएका छन् । ‘कयात्रा’ शिखरिणी छन्दमा नेपालीमा छ; ‘नियात्रा’ (कयात्राको भावानुवादका रूपमा) हिन्दी भाषामा छ; अनि ‘चियात्रा’ ( चित्रमय यात्रावर्णन) पनि ‘कयात्रा’कै भावानुवादका रूपमा आएको छ । ‘चियात्रा’ बहुभाषिक छ भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ । यसभित्रको चित्रद्वारा संसारका जुनसुकै भाषाभाषीले पनि कविताको मर्म सजिलै अध्ययन गर्न सक्छन् । पर्यटनभन्दा पर्यावरण अझ आधुनिकोत्तर विषय हो । प्रस्तुत काव्यको अर्को सन्देश पर्यावरणीय प्रेम पनि हो । वनजङ्गलको विनाश, कीटनाशक औषधिको बढ्दो प्रयोग, त्वरित गतिमा रहेको शहरीकरण, कलकारखानाबाट उत्पन्न प्रदूषित धुवाँ आदिको प्रभावबाट प्रदूषणको शिखरतिर चढ्दैगरेको पर्यावरणीय प्रदूषणलाई जोगाउन पूर्वीय वैदिक विज्ञान मात्र एउटा अचूक उपाय हो भन्ने कुरालाई मध्यनजर गरी यसको शुद्धीकरणका लागि योगीबाट एउटा उदाहरणीय कार्य भएको छ ।
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भव ।।१७ भन्ने शाश्वत् उक्तिलाई चरितार्थ गर्न मन, वचन र कर्मले सदा लागिरहने योगीका यज्ञसम्बन्धी महान् कार्यबाट पर्यावरण सन्तुलनमा सहयोग पुगी त्यसको फल प्राणि मात्रले पाउने हुनाले योगीलाई एउटा सशक्त पर्यावरणवादी व्यक्तिका रूपमा लिन सकिन्छ । प्रस्तुत काव्य पनि योगीको उपर्युक्त प्रमुख मान्यताबाट अछुत रहन सकेको छैन । किनभने यस काव्यमा पर्यावरणीय प्रेम स्पष्टतः अभिव्यञ्जित भएको छ । अहिंसा परमो धर्मः मा विश्वास राख्ने योगी पर्यावरण संरक्षण र संबर्धनका प्रमुख हिमायती भएर एउटा नितान्त नयाँ (आधुनिकोत्तर) प्रयोग कर्ताका रूपमा प्रतिष्ठापित भएका छन् ; त्यसैले उनलाई आधुनिकोत्तर कविका रूपमा समेत उचित स्थान उपलब्ध गराउन अग्रज समालोचकहरूको ध्यान यतातिर आकृष्ट हुनु बाञ्छनीय देखिन्छ
उपसंहार
प्रस्तुत लेख ‘शिखरिणी यात्रा’ काव्यको वस्तुगत विश्लेषणमा केन्द्रित छ । यसको प्रमुख उद्देश्य विभिन्न कोणबाट यस काव्यको विश्लेषण गर्नु र योगी नरहरिनाथलाई एउटा आधुनिक/आधुनिकोत्तर काव्यकारका रूपमा प्रतिष्ठापित भएको देखाउनु रहेको छ । ‘शिखरिणी यात्रा’ काव्य मूलतः अन्वेषणपरक छ । यसको दोस्रो विशेषता भनेको प्रकृतिचित्रण हो । यसो भएता पनि यस काव्यका रचनाकारलाई स्वच्छन्दतावादी कवि नभनेर स्वच्छ–यथार्थवादी कवि भन्नुपर्ने हुन्छ, किनभने यस काव्यभित्र प्रकृतिचित्रण भएका कवितामा राष्ट्रवादी रङ्ग भरिएका छन् र ती अत्यन्त चहकिला छन् । प्रस्तुत काव्य क्रान्तिकारी कविको शान्तिपूर्ण काव्यका रूपमा प्रतिष्ठापित भएको छ । यस काव्यको अर्को विशेषता भनेको ऐतिहासिकता हो । यहाँ यत्रतत्र ऐतिहासिकता प्रतिविम्बित भएको छ । यस काव्यको नयाँ नौलो विशेषता भनेको यसको चित्रात्मक प्रस्तुति हो । सुरुका ११५ वटा कविताहरूलाई चित्रमा समेत अध्ययन गर्न सकिन्छ । चित्रको भाषा विश्वभाषा भएकाले विश्वका कुनाकुनामा रहेका हरेक भाषाभाषीले कविताको स्वाद लिन सक्छन् ।
प्रत्येक कविताभन्दा माथि चित्र छ भने तल हिन्दीमा निबन्धमय भावानुवाद छ । त्यसैले हिन्दीभाषीका निमित्त पनि यो काव्य त्यत्तिकै लोकप्रिय भएको छ । छन्दमा लेखिएको यो काव्य छन्दको शास्त्रीय नियममा बाँधिएको छ । ‘शिखरिणी’ छन्दमा लेखिएको प्रस्तुत काव्यलाई सामान्य पाठकले पनि मजासँग लय हाली गाउन सक्छन् । शास्त्रीय नियममा आबद्ध भएतापनि यो काव्य अन्त्यानुप्रासमा बाँधिएको छैन । छन्दोबद्ध कविताका क्षेत्रमा यो एउटा क्रान्ति हो र आधुनिकताको परिचायक पनि । ‘शिखरिणी यात्रा’ काव्यलाई विभिन्न आधारमा अध्ययन विशलेषण गर्न सकिन्छ । धारागत अध्ययनका आधारमा यसलाई शास्त्रीयतावादी धारा र आधुनिक धारा अन्तर्गत विश्लेषण गरिएको छ भने सिद्धान्तगत अध्ययनका दृटिले यसलाई परिष्कारवाद, यथार्थवाद, अस्तित्ववाद तथा पर्यटन र पर्यावरणवादभित्र समेटी अध्ययन गरिएको छ । त्यसैगरी रूपगत अध्ययनका आधारमा यो छन्दोबद्ध कविता हो । त्यस्तै गठनगत दृष्टिबाट पर्यालोचन गर्ने हो भने यसलार्इ सरल बनोट अन्तर्गत अध्ययन विश्लेषण गर्न सकिन्छ भने प्रयुक्तिगत दृष्टिमा यसलार्इ सामान्य शैली भएको काव्यका श्रेणीमा राखेर विवेचन गर्न सकिन्छ । प्रस्तुत काव्यमा राम्रोसँग अग्रभूमिको निर्माण गरेको छ । यसमा यत्रतत्र शब्दालङ्कारको प्रयोग भएको भेटिन्छ भने अर्थालङ्कारको प्रयोग कमै मात्रामा भएको पाइन्छ । सामान्य पाठकले समेत पचाउन सक्ने गरी अलङ्कारको प्रयोग हुनु यसको राम्रो पक्ष हो ।
शैली विज्ञानले कविताको संरचनागत अध्ययनलाई पनि महत्त्वपूर्ण मानेको छ । संरचनागत आधारमा अध्ययन गर्दा ‘शिखरिणी यात्रा’ को संरचना प्रगीतात्मक भएको र यसमा सो संरचनाका सबैजसो विशेषताहरू विद्यमान रहेको पाइएको छ । काव्यगत गुणले परिपूर्ण भएको ‘शिखरिणी यात्रा’ काव्यको अध्ययनबाट रचनाकारको आशु कवित्व प्रमाणित भएको छ । यस काव्यमा कतैकतै देखिएका पुनरुक्तिहरू र मात्रागत विचलनलाई पनि शैली विज्ञानले सकारात्मक विशेषताका रूपमा लिएको हनाले प्रस्तुत काव्यमा कुनै विशष किसिमको त्रुटि वा आलोच्य विषय रहको पाइदैन । प्रस्तुत काव्यको विषय पर्यटन र पर्यावरण पनि भएकाले योगी नरहरिनाथ आधुनिक कविका रूपमा मात्र होइन आधुनिकोत्तर कविका रूपमा प्रतिष्ठापित भएका छन् ।
सन्दर्भ सामग्रीहरू
1. योगी नरहरिनाथ (२०४९), ऎतिहासिक सिखरिणी यात्रा – पृष्ठ ४०,काठमाण्डू : गोरक्षनाथ पीठ
2. योगी, ……. (—- पृष्ठ १०८), ऐजन : ऐजन
3. योगी, ……. (—-पृष्ठ ८२), ऐजन : ऐजन
4. योगी,……. (—- पृष्ठ १२६), ऐजन : ऐजन
5. योगी,……. (—- पृष्ठ-३४), ऐजन : ऐजन
6. योगी,……. (—- पृष्ठ ख), ऐजन : ऐजन
7. योगी,……. (—- पृष्ठ-६६), ऐजन : ऐजन
8. योगी,……. (—- पृष्ठ-६९), ऐजन : ऐजन
9. योगी,……. (—- पृष्ठ-१५१), ऐजन : ऐजन
10. योगी,……. (—- पृष्ठ-३६), ऐजन : ऐजन
11. जोशी, डा.कुमारबहादुर (२०५५ : ८४०/८५०), नेपाली साहित्यकोश, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
12. योगी,……. (—- पृष्ठ-११९), ऐजन : ऐजन
13. जोशी, ……. (२०५५ : १६६), पूर्ववत्, पूर्ववत् : पूर्ववत्
14. जोशी, ……. (२०५५ : १०१), पूर्ववत्, पूर्ववत् : पूर्ववत्
15. कल्याण उपनिषद् अङ्क(सं.२०६८,११ औं पुनर्मुद्रण), गोरखपुर : गीताप्रेस
16. गौतम, कृष्ण, गरिमा (२०६२ असार, पृष्ठ-४८ ), ललितपुर : साझा प्रकाशन
17. श्रीमद्भगवद्गीता (२०५८), गोरखपुर : गीताप्रेस

Standard
Literature

आमा महाकाव्यको अन्तर्वस्तु

Komal photo259927_106752439417415_395541_n

आमा श्रीखण्ड टुक्रा जतिजति पिसियो स्निग्ध सौगन्ध दिन्छ ।

आमा हुन् दारठेकी दधि मगन गर्यो दिव्य नौनी बनिन्छ ।।

आमा नै स्नेहधारा तुहिन–हिमनदी तापले पग्लिइन्छ ।

आमाको काख प्यारो जतिजति खुँदियो प्रेमधारा चुहिन्छ (आमा २.१) ।।

उपर्युक्त कवितात्मक हरफहरू आमा महाकाव्यका हुन् । भर्खरै मात्र प्रकाशित प्रस्तुत महाकाव्यका सर्जक बुधबारे, झापा (हालकाठमाडौं) का पुरुषोत्तम सिग्देल हुन् । यिनी भौतिक रूपमा बुद्ध आदर्श मा.वि. झापाका पूर्व प्र.अ.हुन्; तर अहिले यिनी हाम्रा लागि नितान्त नौला व्यक्तिका रूपमा प्रकट भएका छन् । पूर्व प्र.अ सिग्देल र महाकाव्यकार सिग्देललाई व्यतिरेक गर्ने कसी भनेको आमा महाकाव्य नै हो । प्र.अ.बाट निवृत्त भएपछिका पुरुषोत्तम कविको अनुहार र प्रस्तुत महाकाव्यकारको अनुहार उस्तै छ ; तर यो महाकाव्य पढ्ने पाठकलाई चाहिँ पूर्व प्र.अ.पुरुषोत्तम र महाकाव्यकार पुरुषोत्तम एउटै व्यक्ति होइनन् कि जस्तो लाग्न सक्छ ।
प्रस्तुत लेखको प्रमुख उद्देश्य आमा महाकाव्यसम्बन्धी आफ्नो पाठकीय मन्तव्य प्रस्तुत गर्नु हो; तदनुरूप यहाँ आफ्ना धारणा राख्ने जमर्को गरिएको छ । प्रस्तुत महाकाव्यको प्रारम्भ पहिलो सर्गबाट भएको छ तापनि विषयवस्तुको उठान भने दोस्रो सर्गबाट मात्र भएको पाइन्छ । दोस्रो सर्गको पहिलो श्लोक आमाको परिचय र परिभाषा प्रस्तुितको एउटा सुन्दर उदाहरण हो । मातृदेवो भव । पितृदेवो भव । आचार्यदेवो भव (तैत्तिरीयोपनिषद् अनुवाक ११) भन्ने श्रुतिवाक्यले आमालाई सर्वोच्च स्थान प्रदान गरेको छ । यसरी हेर्दा यस महाकाव्यको स्रोत उपनिषद् पनि हो भन्न सकिन्छ । कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति जस्तो सदुक्तिलाई राम्रोसँग घोलेर लेखिएको माथिको श्लोकलाई महाकाव्यको सूत्र–श्लोक एवं समग्र महाकाव्यको उपसंहारका रूपमा लिन सकिन्छ । अर्को कुरा प्रस्तुत महाकाव्यको शीर्षक र यसभित्रको अन्तर्वस्तु आमा भएकाले यसलाई नितान्त सार्वदेशिक र सार्वकालिक महाकाव्य मान्न सकिन्छ । मानिस मात्र होइन यस ब्रह्माण्डका यावत् जीवित प्राणीहरूका लागि आमाभन्दा आदरणीय र सर्वोच्च व्यक्ति कोही पनि छैन । या वेवी सर्वभूतेषु मातृरूपेण संस्थिता भनेर देवीभागवतले आमाको सर्वव्यापकता देखाएको छ । अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भनेर प्राचीन ग्रन्थ वाल्मीकीय रामायणले पनि जननी र जन्मभूमिलाई सर्वोच्च स्थान दिएको छ । यसरी हेर्दा सर्वव्यापक एवं सर्वमान्य शीर्षक र विषयवस्तु चयनमा महाकाव्यकार अग्रणी देखिएका छन् । यस महाकाव्यलाई निम्नानुसार स्थूल अध्ययन गर्ने प्रयास गरिएको छ ः
१. परंपराको अनुकरण,
२. वस्तुनिष्ठता,
३. नारीवादी चेत,
४. निर्वैयक्तिकता,
५. सौन्दर्यात्मकता,
६. यथार्थता,
७. वातावरणीयता
८. व्यङ्ग्यात्मकता,
९. मातृप्रेम
१. परम्पराको अनुकरण— पूर्णतः परम्परागत छन्दकोे प्रयोग भएकाले यसको एउटा विशेषता परम्पराको अनुकरण हो । बिम्ब, प्रतीकजस्ता कुरा मात्र होइन अन्य धेरै कुराहरू साहित्यमा अनुकरण गरिएको हुन्छ । वास्तबमा यो ब्रह्माण्ड नै परम्परा होे । यसका अभावमा कसैले पनि असल कृति रच्न सक्तैन । योे कुरा हाम्रा पूर्वीय मनीषिहरूले भन्दै आएका छन् । प्रस्तुत महाकाव्य अनुकरणको पनि अनुकरण हुनुका साथै एउटा सुन्दर कला पनि हो । यसमा परम्परादेखि प्रयोग हुदै आएको शास्त्रीय छन्दको प्रयोग भएको छ । यसबाहेक सर्गबद्धता, शान्त रसको प्रधानता, यमक आदि शब्दचित्रले विचित्र पारिएको, नायिकाका नामबाट महाकाव्यको नाम राखिएको आदि जस्ता कुराले पनि यस महाकाव्यले परम्पराको अनुकरण गरेको देखिन्छ ।
२. वस्तुनिष्ठता— यसलाई महाकाव्यको दोस्रो विशेषताका रूपमा लिन सकिन्छ । यसमा आत्मनिष्ठताको जलप मात्र पाइन्छ भने वस्तुनिष्ठताको निर्वाह सघन रूपमा भएको देखिन्छ । यस महाकाव्यले मानवीय वैयक्तिक विशेषताभन्दा मानवीय स्वभाव, प्रवृत्ति तथा गुणलाई महत्त्व दिएको छ । आफ्नी आमा र दिदीका वास्तविक स्वभाव, प्रवृत्ति, गुणजस्ता वैयक्तिक विशेषतालाई वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरी पाठकमा साधारणीकरण गर्न महाकाव्य सफल भएको छ ।
३. नारीचेत— नारीलाई सर्वोच्च स्थान प्रदान गरी लेखिएको आमा महाकाव्यलाई नारीचेत भएको महाकाव्यका रूपमा लिन सकिन्छ । यो नारीआस्थाका विविध रसहरूमा मुछिएको महाख्यान हो । आयुर्वेदीय भाषामा यस महाकाव्यको नाम मातास्थारिष्ट (माता+आस्था+अरिष्ट) हो । यसमा नारीले भोगेका र भोग्दै गरेका यावत् दुःख र पीडाको यथार्थ चित्र उतारिएको छ । पुरुषको विरोध गरेर लेखिएको सिर्जना मात्र नारीवादी सिर्जना हुदैन अपितु पुरुषको विरोध नगरी नारीअस्तित्त्व र पीडाका स्वरहरू उरालेर गरिएको सिर्जना पनि नारीवादी सिर्जना हुनसक्छ भन्ने कुरा महाकाव्यमा पुष्टि भएको छ । यस महाकाव्यमा यत्रतत्र मातात्रयका विविध स्वरूपहरूको दर्शन गर्न पाइन्छ । बाल्यावस्थादेखि जीवनको अन्तिम अवस्थासम्म नारीले भोग्नुपरेका यावत् पीडा, वेदना, वात्सल्य, अनुराग, संवेदनाजस्ता कुराहरूको यथोचित समायोजनद्वारा महाकाव्य नारीमय किंवा आमामय बनेको छ । यसरी हेर्दा यो महाकाव्य जन्म दिने, कर्म दिने र धारण गर्ने आमाहरूको सुन्दर त्रिवेणी तीर्थ देखिएकोछ ।
४. निर्वैयक्तिकता— प्रस्तुत कृति कृतिकारको वैयक्तिक प्रतिनिधित्व र आत्मिक अभिव्यक्ति भएतापनि यसभित्रको अन्तर्वस्तु सार्वदेशिक, सार्वजनीन र सार्वकालिक भएकाले यो निर्वैयक्तिक बन्न पुगेको छ । यस महाकाव्यमा पात्रहरूको चयन तथा तिनको चरित्रचित्रण सर्वस्वीकार्य ढङ्गबाट भएकाले पनि यसलाई सार्वभौम महाकाव्य मान्न सकिन्छ । यस महाकाव्यमा यत्रतत्र निर्वैयक्तिकता मुखरित भएको पाइन्छ । महाकाव्यका संवेदनाहरू पाठक स्वयंले भोगेको हो जस्तो अनुभव हुन्छ । यो पनि निर्वैयक्तिकताको अभिलक्षण हो ।
५. सौन्दर्यात्मकता— यसलाई महाकाव्यको महत्त्वपूर्ण विशेषताका रूपमा लिन सकिन्छ । यो भौतिक र प्राज्ञिक गरेर दुई किसिमको हुन्छ । भौतिक सुन्दरता भनेको मान्छेले लगाएको लुगा र गहनाजस्तै हो, त्यसैले मान्छेलाई होस् या कृतिलाई बाह्य सुन्दरता आवश्यक पर्छ । भलो वस्तु कपडु भनेजस्तै कृतिको भलो वस्तु बाह्य आवरण हो । यो सुन्दर र आकर्षक हुनुपर्छ । यसको छपाइ, सिलाइ, बँधाइ भरपर्दो हुनुका साथै कागज पनि राम्रो छ भने पाठकका हातमा पर्नेबित्तिकै उसले अँ यसभित्र केही छ भन्दै पढ्छ पनि; नत्र भित्रको एक वाक्य पनि पढ्दैन, चाहे अन्तर्वस्तु जतिसुकै राम्रो होस् । गाडीमा हिंड्दा हामी सबैले भोगेकै कुरा हो । टाइ–सुटमा सजिएको अनपढसँग भारा पाऊँ हजूर भन्ने गरिन्छ भने सामान्य लुगा लगाएको प्रा.डा.सँग ए बाजे ! खोइ भारा हँ ! भनिन्छ । यसरी हेर्दा आमा महाकाव्यको आवरण सुन्दर एवं आकर्षक छ टाइ–सुटमा ठाँटिएको झापाको होइन कामाडौँको प्रा.डा.जस्तै । यसको छपाइ, सिलाइ, बँधाइ र कागज पनि काठमाडौंकै जस्तो राम्रो र आकर्षक छ ।
प्राज्ञिक सौन्दर्यात्मकताका पनि रूपगत र वस्तुगत गरी दुई घटक हुन्छन् । आमा महाकाव्यको रूपगत सौन्दर्यात्मकतालाई दृष्टिगत गर्दा यहाँ लय, छन्द, अलङ्कार, बिम्ब, प्रतीक, कथानक, व्याकरण, आर्थी सम्बन्ध आदि कृतिलाई आकृति दिने तथा अस्तित्त्व प्रदान गर्ने तŒवहरू रहेका छन् । प्रगीतात्मक र आख्यानात्मक संरचनामा आबद्ध यस महाकाव्यमा पन्द्रवटा वार्णिक छन्द र दुईवटा मत्रिक छन्दको प्रयोग भएको छ । प्रयुक्त वार्णिक छन्दमध्ये चौधवटा समवृत्त र एउटा अर्धसमवृत्त (वियोगिनी) छन्द रहेका पाइन्छन् । लय र छन्दको सुन्दर समायोजनका साथै यसमा प्रयुक्त अलङ्कारहरूले यसलाई विवाहमा सिंगारिएकी बेहुलीजस्तै बनाएको छ । महाकाव्यका निम्नलिखित श्लोकहरू यसबारेमा आफैं बोल्छन्—
यमक अलङ्कार
पवन वन बिथोल्ने अन्ध पाखा छहारी
धबल बल सँगाली वृक्ष–शाखा चहारी
बहकिन किन पंखा फट्फटाएर नित्य
उधुम धुम मचाए कोइलीले विचित्र (१३.३६) ।
उपमा अलङ्कार
उफ्रन्छ तम्मर कपास छिरोलिए भैmं
स्वाँ स्वाँ छ शब्द घनघोर पिरोलिए भैmँ
बोल्नै परे खुसखुसे रति कामदिन्न
रन्केर जोड नभने मसिनो सुनिन्न (४.१९) ।
उपमा+रूपक अलङ्कार
दिदीको कृष्णभैmँ भाइ यशोदा चन्द्रिका भइन्
बागू गोकुलमा रम्दै गाईबाछा चराउँछिन् (५.५२) ।
उत्प्रेक्षा अलङ्कार
बैशाकी दिन किन हो किन पखेरी मुस्काई
बेउली हो कि चुँदरी ओढी लुकेकी, सुहाई (११.४) ।
यो महाकाव्य विभिन्न अलङ्कारहरूले समलङ्कृत छ तापनि अनुप्रास अलङ्कारको प्रयोग अत्यधिक रूपमा भएको छ । यसरी हेर्दा महाकाव्य सुन्दर बनेको छ । माथिका उद्धरणहरू नमुना मात्र हुन् ।
कृतिकारका मानसपटलमा रहेका मानसिक तस्विरलाई मूर्तित्व प्रदान गर्ने क्रममा यस कृतिभित्रका अधिकांश स्थानमा चित्रात्मक भाषाको प्रयोग भएको छ । त्यही चित्रात्मक भाषा नै वास्तवमा बिम्ब हो । महाकाव्यको प्रारम्भमा आएको एउटा सुन्दर प्रस्तुति यसप्रकार छ—
च्यापेर शब्द कनिका पटुका सुदामा
आएँ लिएर कृति–सर्जक–वृन्द धाम
फाँको लिनू नलिनु पाटक कृष्ण–काले
अभ्यर्थना यति छ तुच्छ भनी नफाले (१.२५) ।
यहाँ पौराणिक मिथकीय बिम्बका रूपमा सुदामा, कनिका र कृष्णको प्रयोग गरिएको छ । श्रीमद्भागवत महापुराणमा वर्णन गरिएअनुसार सुदामा कृष्णका पढ्दाका साथी हुन् । यहाँ काव्यकारले आपूmलाई सुदामा, महाकाव्यलाई कनिका र पाठकलाई कृष्णका रूपमा प्रतिबिम्बित गरेका छन् । यसमा प्रतीक र अलङ्कार दुबै प्रयोग भएकाले यसलाई प्रतीकात्मक बिम्ब र आलङ्कारिक बिम्ब दुबै भन्न सकिन्छ । यसप्रकारको बिम्ब प्रयोग गरेर काव्यकारले आफ्नो तीक्ष्ण अभिव्यञ्जनापूर्ण अभिव्यक्ति प्रकट गरेका छन् । कनिकाको कोसेली कृष्णलाई प्रदान गरेपछि एउटा महागरिब (अकिञ्चन) सुदामा धनाढ्य व्यक्तिमा रूपान्तरित भएजस्तै कृतिकार (सुदामा) पाठक (कृष्ण)द्वारा धेरैधेरै लाभान्वित हुन चाहेको हो कि भन्ने शङ्का गर्न सकिन्छ ।
प्राज्ञिक सौन्दर्यात्मकता अन्तर्गत कृतिको वस्तुगत पक्ष अर्थात् अन्तरङ्ग पक्ष पर्दछ । यो अन्तर्निहित पक्ष भएकाले यो अमूर्त हुन्छ । यसमा भाव, विचार, चिन्तन, अनुभव, दर्शन, नीति आदि विषयवस्तु पर्दछन् । कृतिलाई सार्थकता प्रदान गर्ने तŒवहरू यिनै हुन् । यस महाकाव्यको वस्तुपक्ष स्वानुभविक एवं आत्मनिष्ठ रहेको पाइन्छ । महाख्यानभित्रको आख्यान र उपाख्यानमा समायोजित भाव र विचारहरूको अन्विति कलात्मक छ । काव्यकार स्वयं समाख्याता बनेर प्रथमपुरुषात्मक र तृतीय पुरुषात्मक शैलीमा निर्माण गरिएको समाख्यानात्मक प्रविधि क्रकशः उध्र्वस्तरीय र समस्तरीय रहेको पाइन्छ । महाकाव्यभित्रका आख्यान र उपाख्यानहरूमा कतै गौण र कतै केन्द्रीय पात्रका रुपमा काव्यकारको उपस्थिति रहेको छ । यसले गर्दा आख्यान एवं उपाख्यान विश्वसनीय बनेका छन् । महाकाव्यमा वस्तुपक्षीय भाव, विचार, चिन्तन, अनुभव, दर्शनजस्ता कुराहरूको सन्तुलित समायोजन छ, जसले गर्दा महाकाव्य महनीय बनेको छ ।
६. यथार्थता— समसामयिक जीवन भोगाइ र स्थानीय दृश्य एवं परिदृश्यको इमान्दारीपूर्ण अभिव्यक्तिले प्रस्तुत कृति यथार्थवादी महाकाव्यका रूपमा पाठकसामू आएको छ । यसको महत्त्वपूर्ण विशेषता भनेको स्थानीय व्यक्तिबोलीलाई पनि साहित्यिक मान्यता प्रदान गर्नु हो । यसमा कृतिकार आफैंले भोगेका र अनुभव गरेका समान्यभन्दा सामान्य पक्षको चित्रण गरिनुका साथै जीवन भोगाइका क्रममा देखिएका सुन्दर र असुन्दर दुबै पक्षको यथार्थ चित्र उतारिएकोछ । यसमा बागू र त्यस क्षेत्रको दृश्य, परिदृश्य, परिवेश, वातावरण, घटना, परिघटना, रीतिथिति, रहनसहन, भाषा, आचरण, व्यवहार आदिको यथार्थ चित्र उतारिएको छ । यसरी हेर्दा यो महाकाव्य आञ्चलिक पनि बन्न पुगेको छ । यो पनि यथार्थवादी साहित्यको अभिलक्षण हो । आञ्चलिक भाषाको प्रयोग भएको एउटा उदाहरण यस्तो छ—
छेवै गई बृखबहादुर फुस्फुसायो
बाजे बज्यू ! किन अचम्म यहाँ उदायो ?
फड्के सकेन तरनू ? लु म तारिदिन्छ
पालो गरी तमदुई म उतारिदिन्छ ।
७. व्यङ्ग्यात्मकता— अभिधा र लक्षणा पछिको तेस्रो शब्दशक्ति व्यञ्जना हो । यसले दिने अर्थलाई व्यङ्ग्यार्थ भनिन्छ । यस महाकाव्यमा धेरै ठाउँमा व्यङ्ग्यको उपस्थिति देखिन्छ । व्रतबन्ध संस्कारमा भएगरेका कुराहरू त्यसै दिन मात्र लागु हुने विकृतिविसंगतितिर लक्ष गर्दै वटुकरूप महाकाव्यकारले आफ्नो व्रतबन्धीय पोसाकप्रति यसरी व्यङ्ग्य गरेका छन्—
काँधमा स्याउले लठ्ठी तालुमा पगरी कसी
द्विजमा उक्लने बाटो खन्दथेँ यज्ञका बसी (८.७)
व्रतबन्धमा वटुकले ताँबाको सानो दियोमा भिक्षा माग्ने परम्परा छ । त्यत्रो सानो दियोमा पहिलोपल्ट पाथीले, दोस्रोपल्ट मानाले र तेस्रोपल्ट अँजुलीले भिक्षा दिइन्छ । वटुकले भिक्षा माग्दै घोप्ट्याउँदै गर्नुपर्छ । आफुले मागेको भिक्षा अर्कैले लान्छ । महाकाव्यकार सिग्देलले आफ्ना व्रतबन्धको भिक्षा मगाइलाई देशको आर्थिक विकृति र विसङ्गतिसँग तुलना गरी अत्यन्त कलात्मक ढङ्गबाट यसरी व्यङ्ग्य गरेका छन्—
दियोमा कति पो अड्नु योजनामा बजेटझैँ
घोप्ट्याउनु उतै पर्छ अनुदान मिले सबै (८.१०)
८. मातृप्रेम— यस महाकाव्यमा आमालाई महत्त्वपूर्ण स्थान दिएर कवि सिग्देल धन्यतम भएका छन् । जन्म दिने आमा तथा कर्म र शिक्षा दिने आमाका मातृऋणबाट उनी एकैसाथ उऋण भएका छन् । यति मात्र होइन यहाँ उनले व्यष्टि आमा नबोलेर समष्टि आमा बोलेका छन् र पानीमा चिनी घोलेभैmँ देशभक्ति घोलेका छन् । लाग्छ काव्यमा प्रयुक्त आमा तमाम नेपालीकी नेपाल आमा हुन् । बृद्ध मातापिता आफ्ना सन्तानबाट उपेक्षित भई बृद्धाश्रमतिर लखेटिंदै गरिएका बेला आएको यो महाकाव्य आमालाई हेला र उपेक्षा गर्ने कुपुत्रहरूलाई आमाको महत्त्व र गरिमा के हो भन्ने कुरा शिक्षा दिने शिक्षण सामग्रीका रूपमा पनि आएको छ । महाकाव्यमा माता र मातृभूमिप्रेमप्रति गरिएका कलात्मक उद्गारका केही नमुना हेरौं—
तीर्थ मातृ भुइंको प्रिय काख
स्वर्ग धामसरि हुन्छ निवास
आफ्नु देशतिर साँध कटाए
सानु निर्मल जलाशय ल्याए (९.१०)
आमा हुन् विश्वस्रष्टा विहित सुरचना माझ उत्कृष्ट सृष्टि
पाएथ्यो सिर्जनाले अतुल गहकिलो सारको दिव्य तुष्टि
आमा आनन्दधारा मुकुलित छ धरा धन्य सौजन्य कीर्ति
आमा कालीगडीको अनुपम रचना विश्वको सार सृष्टि (२.४)
९. वातावरणीयता— प्रकृति, मानव र वातावरण बीचको तादात्म्यलाई हृदयङ्गम गरी मानवेतर जगत् वा पशुपक्षी, वनस्पति आदि विविध पक्षहरूलाई अन्तर्ववस्तुका रूपमा समावेश गरिनाले महाकाव्यमा सुगन्ध थपिएको छ । यो जगत् प्रणालीको पनि प्रणाली हो । प्रकृति, मानवीय र मानवेतर जगत् एकअर्काका परिपूरक हुन्, त्यसैले प्कृति र मानवेतर प्रणीलाई पनि मान्छेलाई जत्तिकै माया गर्नुपर्छ भन्ने कुरा महाकाव्यकारलाई राम्रो ज्ञान छ । महाकाव्यको तेह्रौँ सर्ग प्रकृति र मानवेतर जगत्मा खर्चिनुलाई यसको प्रमाणका रूपमा लिन सकिन्छ । वातावरणीयता मुखरित भएका निम्नलिखित उदाहरण हेरौँ—
हिमाल माल नदी र ताल जङ्गल आबरू ।
जीवन जाओस् रक्षण पाओस् विनाश नगरूँ (११.३९) ।।
जङ्गल जल जमीन जन जहाँ छ जीवित ।
जोगाऊ जुक्ति जसरी जुट्छ जय होस् जीवन (११.४०)
वातावरणीयतालाई कतिपय समालोचकले पश्चिमबाट पूर्वतिर आएको उत्तरआधुनिकताभित्रको एउटा विषय मानेको पाइन्छ, तर वास्तवमा वातावरणीयता किंवा पर्यावरणीयता पूर्वमा वैदिककालमै वेदमा उल्लेख भएको कुरा हो । वैदिक कालपछि उत्तरवैदिक कालमा पनि यसको धेरै प्रयोग भएको पाइन्छ भने पौराणिक कालमा त मावेतर जगत् वा पशुपक्षी र वनस्पति आदिलाई अन्तर्वस्तु बनाएर सिङ्गै महापुराण लेखिएका छन् । यसरी हेर्दा पूर्वीय सनातन विषयका रूपमा रहेको पर्यावरणीयतालाई सिग्देलले पनि आफ्नो महाकाव्यमा स्थान दिएर पूर्वीय चिन्तन परम्पराको अनुसरण गरेको देखिन्छ ।
समग्रमा हेर्दा आमामहाकाव्यमा पाठकले आआफ्ना इच्छानुसारको खान्की पाउन सक्ने देखिन्छ । यहाँ राजनीति, धर्म, दर्शन, इतिहास, ,सामान्य मनोविज्ञान, यौनमनोविज्ञान, समाजशास्त्र, नीतिशास्त्र जस्ता विविध विषयहरू समाविष्ट छन् । महाकाव्यको मूर्त गहनाका रूपमा लय, छन्द, अलङ्कार, बिम्ब, प्रतीक, कथानक आदिको प्रयोग गरिएको छ भने आन्तरिक गहनाका रूपमा लक्षणा, व्यञ्जना, ध्वनि, रस जस्ता अमूर्त वस्तुहरूको प्रयोग भएको छ । यहाँ नौवटै रसको प्रयोग भएको छ; त्यसैले यसले कतै काउकुति लगाउँछ, कतै चिमोट्छ, कतै कोपर्छ, कतै संवेदनशील बनाउँछ र अधिकांश स्थानमा त रुवाउँछ नै । समयको अभावले गर्दा अहिले पाठकले छोटा गजल र अझ छोटा हाइकु मात्र रुचाउन थालेका बेलामा आख्यान र महाकाव्य पढ्ने पाठक विरलै पाइन्छन्; तर यस टिप्पणीकारलाई के लागेको छ भने आमा महाँकाव्यको हकमा यो परिस्थिति आउँदैन किनभने यहाँ बैँसमा लट्ठिएका युवक–युवतिदेखि लिएर बैंसको कुरै सुन्न नमान्ने भत्ताभोगीहरूका लागि समेत अघाउँजी खान्की भेटिन्छ । महाकाव्य पढ्दा कतै देवकोटा, कतै लेखनाथ, कतै घिमिरे, कतै सिग्देल (सोमनाथ) पढेजस्तो पनि लाग्छ । समालोचकहरूले समेत आपूmले चाहेको खोराक पाउँछन् । अन्य महाकाव्यबाट व्यतिरेक गर्ने महत्त्वपूर्ण कडी नै उपर्युक्त कुरा हुन् ।। यी बाहेक प्रस्तुत महाकाव्यमा निम्नलिखित कुराहरू पनि छन्—
कालिदासीय उपमा भारवीयार्थ गौरव
दण्डीको पदलालित्य जस्ता छन् काव्यसौरभ ।
माथिका सबैथोक महाकाव्यका शक्ति हुन् भने यसमा प्रयुक्त पात्रहरूमध्ये अधिकांश पात्रहरूलाई प्रगतिशील तथा जुझारू बनाउन नसक्नुलाई महाकाव्यको प्रमुख सीमाका रूपमा लिन सकिन्छ । सिग्देलको अब आउने महाकाव्यमा यो विशेषता पनि थपिएर आओस् । अस्तु ।
घसन्दर्भसूची
१.
२.

Standard
Literature

भानुभक्तीय रामायण र रामचरितमानसको तुलनात्मक अध्ययन

नेपाली भाषाका प्रख्यात कवि भानुभक्त आचार्य र हिन्दी भाषाका प्रख्यात कवि तुलसीदासको सामान्य परिचय दिनुका साथै केही विशेषताका आधारमा भानुभक्तीय रामायण र रामचरितमानसको तुलनात्मक अध्ययन गर्नु प्रस्तुत लेखको मूल उद्देश्य रहेको छ ।

१.परिचय

१.१ भानुभक्त आचार्य (१८७१–१९२६ )

भनुभक्त आचार्यका कवितात्मक छिटाद्वारा सिञ्चित नेपाली भाषा र साहित्य आज फुल्न र फल्न थालिसकेको छ, त्यसैले आदि कवि नभएर पनि उनले आदि कविको सम्मान पाइरहेका छन् । खुकुरीका भरमा नेपाललाई नेपाल बनाई नेपाली एकताको स्थापना गर्ने पृथ्वीनारायण शाह र हातमा कलम लिएर नेपाली भाषा र साहित्यको एकीकरण गरी विश्वसाहित्यमै नेपाली भाषाको परिचय स्थापित गराउने भानुभक्त आचार्य दुबै हाम्रा प्रातःस्मरणीय एवं बन्दनीय हुन् । भानुभक्त त्यस्ता व्यक्तित्त्व हुन् जसले एउटा घाँसीको सत्प्रेरणाबाट अध्यात्मरामायणको अनुवाद गरी नेपाली भाषामा रामायण तयार गरेर नेपाली साहित्यको भन्डार भर्ने अति महत्त्वपूर्ण र महान् कार्य गरेका हुनाले उनी लोकप्रिय र धन्य बनेका छन् । भानुभक्त अाचार्यकाे जन्म वि.सं. २०७१ अाषाढ २ढ गते तनहुकाे रम्घा गाउँमा भएकाे हाे । यिनका पिताकाे नाम धनञ्जय अाचार्य हाे भने यिनका पितामहकाे नाम श्रीकृष्ण अाचार्य हाे । भनिन्छ धनञ्जय अाचार्यबाट नै भानुभकत अाचार्यले शिक्षादीक्षा प्राप्त गरेका हुन् । जेठा छाेरातिरकाे पहिलाे अनि एक मात्र नाति भएकाले पनि भानुले हजुरबाबाट धेरै प्यार पाएकाे हुनसक्छ ।

भानुभक्तले संस्कृत साहित्य, व्याकरण र ज्याेतिस पनि पढेका थिए । १२ वर्षकाे उमेरमा उनी जन्मपत्रिका लेख्ने भइसकेका थिए (भानुभक्तकाे रामायण २०६७ ः ५) ।

१.२ गोस्वामी तुलसीदास (वि.सं.१५५४—१६८०)

हिन्दी साहित्यका महाकवि तुलसीदास संस्कृत साहित्यका समेत ठुला विद्वान् हुन् । वेदवेदाङ्गका गहन अध्येता हुनुका साथै श्री रामका अनन्य भक्त एवं उपासकका रूपमा यिनी विश्व प्रसिद्ध मानिन्छन् । विक्रम संवत् १५५४, श्रावण शुक्ल सप्तमीका दिन भारतको प्रयाग जिल्ला अन्तर्गत राजपुर भन्ने स्थानमा यिनको जन्म भएको हो भने वि.स.१६८० मा वाराणसीको असीघाटमा रामनामको मन्त्र जप्दै यिनले आफ्नो नश्वर भौतिक शरीरलाई विसर्जन गरे । सांसारिक सुखभोग र विषयवासनालाई चट्ट त्यागेर भक्तिमार्गमा लाग्ने प्रेरणा तुलसीले आफ्नी पत्नीबाट प्राप्त गरेका थिए भन्ने कुरा उनको जीवनीबाट अवगत गर्न सकिन्छ । उनको जीवनीका अनुसार एकपटक तुलसीदासकी प्रिय पत्नी माइत गइछन् । आशक्तिका कारण उनी पनि बेलुका टुप्लुक्कै पुगेछन् ससुराल । उनलाई देखेपछि उनकी पत्नीले अचम्म मान्दै भनिछन्— धिक्कार छ तिमीलाई र तिम्रो स्त्रीलम्पटतालाई । मेरो हाड र मासुको शरीरमा जति तिम्रो आशक्ति छ, त्यसको एक चौथाइ मात्र भए पनि भगवान्मा हुन्थ्यो भने तिम्रो बेडापार हुनेथियो । त्यसबेला तुलसीदासकी प्रियतमाका ती शब्दवाणहरू साेझै आएर उनका कोमल हृदयमा गाडिए । घायल तुलसी एकक्षण पनि नरोकिई त्यहाँबाट फर्किए । तत्काल उनले गृहस्थ वेश परित्याग गरी साधुवेश धारण गरे । भनिन्छ तुलसीदासलाई काक भुसुण्डी, हनुमान्, रामलक्ष्मण, याज्ञवल्क्य समेतको दर्शन गर्ने सुअवसर प्राप्त भएको थियो । पूर्ववर्ती महाकाव्यकारको अनुसरण गरी प्रारम्भमा तुलसीले संस्कृत भाषामा रामकाव्य रचना गरे, तर रात्रिका समयमा ती सबै हराउँथे । आठौं दिनसम्म त्यही घटना दोहोरिरह्यो । सोही रात सपनामा शङ्कर भगवान्ले तुलसीलाई अयोध्या गएर बस्न र आफ्नै भाषामा काव्य रचना गर्न आदेश र आशीर्वाद दिए । सपनाको सो आशीर्वादपछि वि.सं.१६३१ रामनवमीका दिन आरम्भ गरेर १६३३ रामविवाहका दिन तुलसीदासले रामचरितमानसलाई पूर्णता प्रदान गरेको देखिन्छ ।

२. विशेषता

भानुभक्तीय रामायण र रामचरितमानसका अथाह विशेषतामध्ये निम्नलिखित विशेषताहरूको मात्र यहाँ चर्चा गर्ने काम गरिएको छ :

२.१ बनोट/संरचना

कृतिमा पाइने अङ्क, दृश्य, अध्याय, सर्ग, काण्ड आदि जस्ता लघु घटकहरूको कुल योगलाई बनोट वा संरचना भनिन्छ । शैलीविज्ञानले यिनै साना घटकहरूको वर्णन–विश्लेषण गरी कृतिको अमूर्त बनोटलाई मूर्त पार्ने काम गर्छ । बनोट भन्नु नै संरचना हो । प्रगीतात्मक, नाटकीय र आख्यानात्मक गरी तिन मिसिमका संरचना हुन्छन्, शैलीविज्ञानका अध्येताहरूको भनाइ यस्तो रहेको छ । यी तिनमध्ये कथाकथन भएको संरचना आख्यानात्मक संरचना हो । यसमा प्रयुक्त कथावस्तुको आदि, मध्य, अन्त सहजै पहिचान गर्न सकिन्छ । यसमा चरित्रचित्रणको पर्याप्तता पनि रहन्छ । विषयवस्तुगत विविधता र वर्णनगत विस्तारले गर्दा आख्यानात्मक संरचना भएको कविता लामो आकारको हुन्छ (शर्मा २०५५)।[१] भानुभक्तीय रामायण, अध्यात्म रामायण, रामचरितमानस जस्ता कृतिहरू आख्यानात्मक संरचनामा आबद्ध रहेका पाइन्छन् । उपर्युक्त रामायणहरूको संरचना यसरी पहिल्याउन सकिन्छ :

क. अध्यात्म रामायण-

१. बालकाण्ड सर्ग-७, श्लोक-३९१
२. अयोध्या काण्ड सर्ग-९, श्लोक-७२८
३. अरण्य काण्ड सर्ग-१०, श्लोक-५१६
४. किष्किन्धा काण्ड सर्ग-९, श्लोक-५६०
५. सुन्दर काण्ड सर्ग-५, श्लोक-३२७
६. युद्धकाण्ड सर्ग-१६, श्लोक-१११६
७. उत्तर काण्ड सर्ग-९, श्लोक-६११

ख. भानुभक्तीय रामायण

१. बालकाण्ड सर्ग-७, श्लोक-१३९
२. अयोध्या काण्ड सर्ग-९, श्लोक-१२३
३. अरण्य काण्ड सर्ग-१०, श्लोक-१२२
४. किष्किन्धा काण्ड सर्ग-९, श्लोक-१४३
५. सुन्दर काण्ड सर्ग-५, श्लोक-१५४
६. युद्धकाण्ड सर्ग-१६, श्लोक-३८१
७. उत्तर काण्ड सर्ग-९, श्लोक-२५७

ग. रामचरितमानस

१. बालकाण्ड दोहा-३३३, सोरठा-२८, हिन्दी छन्द-६१, सस्कृत छन्द-०७
२. अयोध्या काण्ड दोहा-३३१, सोरठा-१३, हिन्दी छन्द-१३, सस्कृत छन्द-०३
३. अरण्य काण्ड दोहा-४०, सोरठा-०६, हिन्दी छन्द-१३, सस्कृत छन्द-१२
४. किष्किन्धा काण्ड दोहा-२८, सोरठा-०२, हिन्दी छन्द-०२, सस्कृत छन्द-०२
५. सुन्दर काण्ड दोहा-५९, सोरठा-०१, हिन्दी छन्द-०६, सस्कृत छन्द-०३
६. युद्धकाण्ड दोहा-११५, सोरठा-०६, हिन्दी छन्द-३५, सस्कृत छन्द-०३
७. उत्तर काण्ड दोहा-११५, सोरठा-१६, हिन्दी छन्द-४८, सस्कृत छन्द-०५

२.२ बुनोट

बनोटका पर्याधार (फ्रेम) मा पाइने लघुघटकहरूको कार्य र एउटा घटकको अर्का घटकसँग हुने सम्बन्धलाई बुनोट भनिन्छ । यो लघु, सीमित वा खण्डात्मक साहित्यिक प्रभावको तह हो । बनोट अमूर्त हुन्छ भने बुनोट मूर्त हुन्छ । भानुभक्तीय रामायणमा तथा रामचरितमानसमा बुनोटका घटकहरूमध्ये छन्द, रस, अलङ्कारको प्रयोगबारे निम्नानुसार सामान्य विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ :

२.२.१  छन्दविधान

छन्द ग्रिक शब्द metron बाट व्युत्पन्न metre को नेपाली रूपान्तर हो । metron को अर्थ मापन भन्ने हुन्छ । संस्कृतमा छद्/छन्द् धातुमा घञ् प्रत्यय लागेर व्युत्पन्न छन्दको अर्थ बाँध्नु, आवृत्त गर्नु, रक्षित गर्नु प्रसन्न गर्नु भन्ने हुन्छ (लुइटेल २०६० : १३९)।[२] यसबाहेक छन्द शब्दले आनन्द दिने वस्तुलाई पनि बुझाउँछ । छन्दकाव्य भनेको पद्यकाव्य हो, किनभने छन्द शब्द पद्यको पर्यायवाची मानिन्छ । जुन रचना स्वर र लयका आधारमा वर्ण र मात्राको निश्चत संख्या र विश्रामको नियमले नियमित हुन्छ, त्यसलाई छन्द भनिन्छ, अर्थात् नियमित आवर्ती रूपविधानलार्इ भाषिक ढाँचा भजिन्छ भने यस्ता ढाँचाका आवृत्तिको नियमसमूहलार्इ काव्यशास्त्रले छन्दको संज्ञा दिएको छ (शर्मा …पूर्ववत्)।[३] यस परिभाषाबाट छन्द काव्यको अनिवार्य वस्तु हो र यसले आनन्द प्रदान गर्दछ भन्ने कुराको पुष्टि गर्दछ ।

 भानुभक्तीय रामायणमा छन्द

नेपाली साहित्यको काव्यधाराको अध्ययनबाट के देखिन्छ भने नेपाली साहित्यमा छन्दको बीज प्राथमिक कालमा अङ्कुरित भएर आधुनिक कालमा पल्लवित एवं पुष्पित हुँदै अद्यावधि अविच्छिन्न रूपमा काव्यको स्थायी सम्पदा बन्दै आएको छ । यसरी हेर्दा प्राथमिक कालीन कविहरूमा भानुभक्त आचार्य नै यस्ता कवि हुन् जसले रामायणमा वार्णिक छन्दको विस्तृत एवं व्यापक प्रयोग गरेर यसको गरिमा बढाएका छन् । रससिद्ध कविका लागि छन्दबन्धन रहँदैन तापनि छन्द गतिको मर्यादा र सजीवताको द्योतक भएको हुनाले कविले आफ्ना कृतिमा आत्मानुभूतिको जीवन्त गतिमय प्रवाहलाई छन्दको मर्यादाभित्र समावेश गराएर विभिन्न छन्दको प्रयोग गरेका छन् । भानुभक्त आचार्यले अध्यात्म रामायणमा अत्यधिक प्रयोग भएको अनुष्टुप् छन्दको प्रयोग नगरी उनका पूर्ववर्ती वसन्त जैसीले प्रयोग गरेको शार्दूलविक्रीडित छन्द र उनी स्वयंले बालक कालमा प्रयोग गरेको शिखरिणी छन्दलाई अधिकतम प्रयोगमा ल्याएका छन् । यी दुईमा पनि सबैभन्दा धेरै ठाउँमा र सबैभन्दा धेरै श्लोकहरूमा शार्दूलविक्रीडित छन्दको प्रयोग भएको छ । यो छन्द नेपालीहरूको जनजिब्रामा टाँसिएको अत्यन्त लोकप्रिय छन्दका रूपमा परिचित छ । रामायणलाई मुखाग्र गरेर मेला–पात, भात–भान्सा, ढिकी–जाँतो, बिहा–बटुलो, पूजा–आजाका अवसरमा यत्रतत्र सर्वत्र गाइएको र गाइने यस छन्दलाई छन्दको राजा मान्न सकिन्छ । गणका रूपमा म स ज स त त गुरु हुने उन्नाइस अक्षरे यस छन्दका प्रत्येक पाउको सातौँ र बाह्रौँ अक्षरमा विश्राम हुन्छ । रामायण महात्म्य, राम–वशिष्ठ सम्बाद, बालकाण्ड र अयोध्याकाण्डका विभिन्न प्रसङ्ग, तथा अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड एवं उत्तरकाण्डका विविध प्रसङ्गमा समेत यस छन्दको प्रयोग भएको पाइन्छ । यसरी हेर्दा भानुभक्तीय रामायणमा शार्दूलविक्रीडित छन्दको प्रयोग अधिकतम रूपमा भएको देखिन्छ । यस रामायणमा प्रयोग भएको दोस्रो छन्द शिखरिणी हो । यो कुरा माथि पनि भनिएको छ । सत्र अक्षरको एक पाउ हुने, गणमा य म न स भ लघु–गुरु हुने र छैटौँ र एघारौँ अक्षरमा विश्राम हुने यो छन्द बालकाण्डको राम–कौशल्या संवादमा र अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, युद्धकाण्ड जस्ता काण्डहरूमा आंशिक रूपमा प्रयोग भएको पाइन्छ । यस छन्दले काव्यलाई अति रुचिकर बनाउँनाका साथै सरसता पनि प्रदान गर्दछ । धेरैजसो करुणरसप्रधान घटनाहरूमा यसको प्रयोग भएको छ । यसको एउटा उदाहरण यसप्रकार छ—
गयो खान्या बेला मकन त मिल्यो राज्य वनको
भरत्ले राज् पाया यहिं बसि गरुन् राज्य जनको ।
बिदा बक्स्या जावस् खुशिसित म जान्याछु वनमा
म चाँडै फिर्न्याछू बिरह नहवस् कत्ति मनमा ।
भानुभक्तीय रामायणमा वसन्ततिलका छन्दको पनि प्रयोग भएको छ । यो चौध अक्षरको एक पाउ हुने, गण समूहमा त भ ज ज गुरु गुरु हुने र आठ अक्षरमा विश्राम हुने छन्द हो । उदाहरणका लागि तलको श्लोकलाई लिन सकिन्छ—
जस्को पुजा तुलसि पत्र चढाइ गर्छन्
उस्ता पनी त भवसागर पार तर्छन् ।
यी ता उनै प्रभुजिका दुत हुन् त काहाँ
सक्नू छ वर्णन गरी यिनको त याहाँ ।
यो छन्द अंशतः अयोध्याकान्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड र उत्तरकाण्डमा प्रयोग भएको पाइन्छ ।
प्रस्तुत रामायणमा प्रयोग भएको अर्को छन्द स्रग्धरा हो । यसमा एक्काइस अक्षरको एक पाउ र चार पाउको एक श्लोक हुन्छ । गण समूहमा म र भ न य य य हुने र प्रत्येक सात हक्षरमा विश्राम हुने यो छन्द बालकाण्ड र अरण्यकाण्डमा प्रयोग भएको पाइन्छ । यसको एउटा उदाहरण—
डेरा देखी भरत्जी तहिं नजिक गया पाउका छाप देख्या
श्रीराम्का पाउका छाप् चिह्निकन खुशिले माथले ताहिँ टेक्या ।
भन्छन् धन्यै रह्याँछू सहज नमिलन्या पाउका छाप देख्याँ
ब्रह्माजीले नपाउनू छ त पनि सहजै माथले आज टेक्याँ ।।
पन्द्र अक्षरको एक पाउ हुने र चार पाउको एक श्लोक हुने मालिनी छन्दको गण समूहमा न न म य य हुन्छ भने प्रत्येक पाउको सातौं र आठौं अक्षरमा विश्राम हुन्छ । यो छन्द विशेष गरी सुन्दरताको वर्णनमा प्रयोग भएको पाइन्छ र भानुभक्तले पनि लङ्का शहरको सुन्दरताको वर्णनमा यस छन्दको प्रयोग गरेका छन्, जस्तै—
घर पनि सुनकै छन् गल्लि जो छन् सुनैका
मणिजडित हुनाले झन् असल् छन् कुनैका ।
घुमि घुमिकन हेर्याँ सब् बगैंचा तलाऊ
सहजसित कसैको केही लाग्दैन दाऊ ।।
एघार अक्षर हुने, गण समूहमा त त ज गु गु हुने र पाचौँ र छैटाँ अक्षरमा विश्राम हुने इन्द्रवज्रा छन्द भानुभक्तीय रामायणको बालकाण्ड, अयोध्याकाण्ड र युद्धकाण्डमा अंशतः प्रयोग भएको पाएन्छ । यसको एउटा उदाहरण—
ईश्वर् तिमी हौ रघुनाथ् इ भाई
लक्ष्मण त शेष् हुन् करुणा जनाई ।
भूभार हर्नाकन जन्म लीयौ
यो रुप् भजन्र गर्न बनाइदीयौ ।।
यसरी भानुभक्तीय रामायणमा छबटा छन्दहरूको सफल प्रयोग भएको पाइन्छ । यसबाट भानुभक्तका उत्तरवर्ती कविहरूमा पनि प्रभाव पर्ने कुरा अझै पनि यथावत् रहिरहेको छ ।

रामचरितमानसमा छन्द

तुलसीदासको रामचरितमानस आख्यानात्मक संरचना भएको महाकाव्य हो । यसमा शास्त्रीय छन्द र लोकछन्द दुबैको प्रयोग भएको छ । आख्यानात्मक संरचना भएको काव्यका निमित्त दोहा र चौपाईलाई उपयुक्त ठहर्याई मानसभित्रका यावत् आख्यानात्मक प्रसङ्गमा तुलसीले सेही अनुसार प्रयोग गरेका छन् । रससिद्ध कविका लागि छन्द-बन्धन स्वीकार्य हुदैन तापनि तर छन्द गतिको मर्यादा हो । गति सजीवताको द्योतक हो, त्यसैले तुलसीले आफ्नो काव्यमा छन्दको समुचित निर्वाह गरेका छन् । उनले बिचबिचमा प्रसङ्गानुसार अन्य छन्दको पनि प्रयोग गरेका छन्, जसअनुसार मात्रिक छन्दमा चौपाई, तोमर, कवित्त, छप्पय, डिल्ला, त्रिभंगी, हरिगीतिका आदि र वार्णिक छन्दमा इन्द्रवज्रा, तोटक, भुजङ्गप्रयात, मालिनी, वसन्ततिलका, वंशस्थ, शार्दूलविक्रीडित, स्रग्धरा, अनुष्टुप् जस्ता छन्दहरू रहेका छन् । रामचरितमानसमा छन्दहरूको स्थितितर्फ सङ्केत गर्दै प्रारम्भमा तुलसीदास स्वयंले यस्तो उद्घाष गरेका छन्—
छन्द सोरठा सुन्दर दोहा ।
सोइ बहुरङ्ग कमलकुल सोहा (तिवारी…पूर्ववत्)। [४] वास्तबमा कविको उद्गार सटीक, सार्थक र उपयुक्त देखिएको छ, किनभने छन्द, सोरठा, दोहाजस्ता सुन्दर कमलहरू काव्यरूपी सरोवरका शोभा हुन् ।
छन्दप्रयोगमा तुलसी अत्यन्त सचेत देखिएका छन्, किनभने उनले कथाप्रवाह, अनुभूतिगत आवेग, पात्रको गरिमा तथा नाद–सौन्दर्यका साथ छन्द–सामन्जस्यमा पूरा पूरा ध्यान दिएका छन् । छन्द परिवर्तन गर्ने कलामा पनि उनी निपुण देखिन्छन् । उनले जतासुकै छन्द परिवर्तन गरेको भेटिँदैन । छन्द परिवर्तन गर्दा उनले पूर्ववर्ती छन्दमा वर्णित उक्तिको अन्तिम अंशबाट परवर्ती छन्द–रचनाको आरम्भ गरेका छन् । यस किसिमको प्रयोबाट उनले कथालाई खण्डित हुनबाट सर्वथा बचाएका छन् । उदाहरणका लागि तलको उद्धरण हेरौं—
कहि न जाइ सब भाँति सुहावा । बाजि बेषु जनु काम बनावा ।। [५]
जनु बाजि बेषु बनाइ मनसिजु राम हित अति सोहई ।
यसरी हेर्दा तुलसीदास छन्दको प्रयोगमा पूर्ण सतर्क रहेको पाइन्छ ।। उनले सूक्ति–कथनका निमित्त दोहा र सोरठा; अद्भुत, भयानक, बीभत्स रसका निमित्त कवित्त, छप्पय र दण्डक; स्तुतिहरूका निमित्त इन्द्रवज्रा, तोटक, भुजङ्गप्रयात, मालिनी जस्ता वार्णिक छन्द तथा कथाको क्रमबद्ध प्रवाहका निमित्त चौपाईको समुचित प्रयोग गरेको पाइन्छ ।
छन्दप्रयोगका दृष्टिले देर्दा भानुभक्तीय रामायणमा वार्णिक छन्दको मात्र प्रयोग भएको देखिन्छ भने मानसमा वार्णिक मात्रिक दुबै प्रकारका छन्दको प्रयोग भएको पाइन्छ । भानुले सबै प्रसङ्गमा वार्णिक छन्दको प्रयोग गरेका छन् भने तुलसीले भगवत् स्तुतिहरूमा मात्र वार्णिक छन्दको प्रयोग गरेर अन्य सबै प्रसङ्गमा बहु प्रचलित एवं लोकप्रिय उपर्युक्त मात्रिक छन्दको प्रयोग गरेका छन् । तुलसीद्वारा संस्कृत भाषामा प्रयुक्त वार्णिक छन्दमा कहीँ कतै पनि छन्दभङ्ग भएको पाइदैन, तर भानुभक्तद्वारा नेपाली भाषामा प्रयुक्त वार्णिक छन्दमा कतैकतै छन्दभङ्ग भएको र अधिकांश ठाउँमा अपि माषं मषं कूर्यात् छन्दोभङ्ग नकारयेत् भन्ने सिद्धान्त लगाएर पनि छन्दभङ्ग हुन दिएको छैन । भानुभक्तको यो छन्द सम्बन्धी सचेतता प्रशंसनीय छ ।

२.२.२ रसविधान

….रसो वै सः । रसो ह्येवायं लब्ध्वाऽऽनन्दी भवति । [६]अर्थात् त्यो(ब्रह्म) नै रस हो । रसलाई पाएर नै त्यो आनन्दमग्न हुन्छ । सुप्रसिद्ध गौडीय वैष्णव आचार्य रूपगोस्वामीले भक्ति रसलाई रसतत्व प्रदान गरेको पाइन्छ । उनको कृति हरिभक्तिरसामृत सिन्धुमा भक्तिरसलाई शास्त्रीय रूप प्रदान गरिएको छ । उनले भक्ति रसलाई मूल रस र अन्य नव रसलाई भक्ति रसमा अन्तर्निहित रस मानेका छन् । त्यसैगरी मधुसूदन सरस्वती (१६०० इ) पनि भक्ति रसलाई शास्त्रीय रूप प्रदान गर्ने अर्का विद्वान् हुन् । केही आचार्यहरूले भक्तिरसलाई शान्तरसभित्रै अन्तर्भाव गरेका छन् । [७] अभिनवगुप्तले शान्तरसभित्र भक्तिरसलाई राखेर धृति, मति, स्मृति तथा उत्साहभित्र यसको अन्तर्भाव गरेका छन् भने आचार्य जगन्नाथले भक्तिरसको स्थायिभाव अनुराग र शान्तरसको स्थायिभाव वैराग्य वा निर्वेद भएकाले शान्तरसभित्र भक्तिरस अन्तर्भूत हुन सक्तैन भन्ने तर्क राखेका छन् । त्यसैले भक्तिरस र शान्तरस भिन्नभिन्न स्थयीभावको परिपाकमय अवस्था हुन् भन्न सकिन्छ।
निर्गुणोपासक र सगुणोपासक दुबै प्रकारका भक्तहरूले आआफ्ना हृदयको भावना आआफ्ना उपास्यप्रति व्यक्त गर्दै गरिएको रचनालाई भक्ति साहित्य भनिन्छ । यस्ता साहित्य पद्यात्मक र गद्यात्मक दुबै किसिमका हुन सक्छन् । यस्ता रचनाहरू साहित्यको उत्कर्षका लागि भन्दा पनि कसरी आदर्शमय आध्यात्मिक जीवन जिउनुपर्छ भन्ने कुरा सञ्चार गर्न प्रस्तुत गरिएका हन्छन् । मूलतः मानिसले किन र कसरी आदर्शमय आध्यात्मिक जीवन जिउनुपर्छ भन्ने कुरा नै भानुभक्तीय रामायण र रामचरितमानसको प्रमुख सन्देश रहेको पाइन्छ ।

भानुभक्तीय रामायणमा रस

रामायण विभिन्न रसमा आप्लावित भगवद्गाथा किंवा महापुरुषको गाथा भएकाले यसमा विभिन्न किसिमका रसको बोध र व्यञ्जना हुन्छ नै । भानुभक्तीय रामायणमा जे जति रसानुभूति र रस योजना रहेको छ त्यो मूलबाटै स्थानान्तरित भएर आएको छ । यसमा वीरता प्रदर्शनका कार्यहरू नै बढी भएकाले वीर र रौद्र रसले स्थान पाउनु स्वाभाविक र आवश्यक देखिन्छ । यति हुँदाहुँदै पनि यहाँ भक्तिरस करुणरसको मर्मस्पर्शी पक्ष महत्त्वपूर्ण मानिन्छ । विशेषतः सुन्दरकाण्डमा करुण रसको सुन्दर परिपाक भएको छ । रावणको भयले ग्रस्त सीताको करुणाजनक मूर्ति र वेदनापूर्ण अवस्थाको चित्रण भानुभक्तले यसरी गरेका छन्—
भोकी कैलि निन्याउरीन त कपाल् कोर्याकि सब्केश् उसै ।
लट्टा मात्र धर्याकि खालि भुमिमा रुँदै बस्याकी यसै ।।
रांरांरां यति मात्र बोलि रहँदी देख्या र साना भई ।
पात्का अन्तरमा लुक्या ति हनुमान् रुख्का उपर्मा गई ।।[८]
भरतको विलाप र मिलाप, दशरथको मनोदशा; कौशल्या, तारा र मन्दोदरीको मनोभावको प्रसङ्गमा कविले करुण रसमा आºनो अभिव्इक्ति दिएका छन् । भयानक, वीभत्स,अद्भूत र वत्सल रस पनि काव्यमा यत्रतत्र पाउन सकिन्छ । कतैकतै हास्य रसको झलक पनि अनुभव गर्न पाइन्छ । समग्रमा भक्तिरस, करुणरस र वीररस मूल रसका रूपमा र अन्य रसहरू सहायक रसका रूपमा रहेका पाइन्छन् ।

रामचरितमानसमा रस

अशोक वाटिकामा हनुमान्ले भेटेकी सीताको करुण अवस्थाको वर्णन तुलसीदासले यस प्रकार गरेका छन्—
देखि मनहि महुँ कीन्ह प्रनामा । बैठेहिं बीति जात निसि जामा ।।
कृस तनु सीस जटा एक बेनी । जपति हृदयँ रघुपति गुन श्रेनी ।।[९]।।
(अर्थात् हनुमान्ले सीतालाई देखेर मनमनै प्रणाम गरे । उनी (सीता) जागै बसेर चार प्रहर रात बिताउँथिन् । शरीर दुब्लो भएको थियो । सिरमा जटा बाँधेकी थिइन् । उनी मनमनै रघुनाथजीका गुणहरूको स्मरण/कीर्तन गर्थिन् ) ।
उपर्युक्त उदाहरणमा करुण रस र भक्ति रस दुबै समाहित छन् । यस रामायणमा पनि भानुभक्तीय रामायणमा झैँ विभिन्न रसको परिपाक भएको छ । यसमा अङ्गी रस कुन हो ? भन्नेबारे दुई मत हुन सक्छन् । कसैले यसलाई वीरगाथा मानी वीररस नै अङ्गी हो भन्न सक्छ र कसैले भक्तिरसलाई प्रधानता दिन सक्छ । भक्ति रसका निमित्त अपेक्षित मानिने रागात्मक तल्लीनता यहाँ प्रचूर मात्रामा रहेकाले यो रामायण भक्ति रसमा आप्लावित छ भन्दा फरक नपर्ला । किनभने यो रामायण पढेर अन्ततः जाग्रित हुने भाव भनेको रामभक्ति नै हो । नवरसकै समायोजन भएको प्रस्तुत रामायण भक्तिरसमा पूर्णतः आप्लवित छ भन्न सकिनछ ।

२.२.३ अलङ्कारविधान

काव्यका सन्दर्भमा अलङ्कार शब्दको तात्पर्य काव्यको गहना वा आभूषण हो । काव्यमा गहना भनेको भाषागत काव्यसौन्दर्य हो । अर्थात् काव्यको शोभा गराउने धर्मलार्इ अलङ्कार भनिन्छ । [१०]यो काव्य वा साहित्यको अभिव्यक्ति पक्षसँग सम्बतन्धित शिल्प–सौन्दर्यको चमत्कृति प्रदान गर्ने तत्त्व हो तर कतिपय सन्दर्भमा साहित्यका रसध्वनि जस्ता आन्तरिक तत्त्वसँग पनि अभेद्य रूपमा संश्लिष्ट भएर देखा पर्न सक्ने प्रवृत्ति यसमा हुन्छ ।

भानुभक्तीय रामायणमा अलङ्कार

अलङ्कारलाई मूलतः शब्दालङ्कार र अर्थालङ्कारमा विभाजन गरी अध्ययन गर्ने गरेको पाइन्छ । भानुभक्तीय रामायणमा शब्दालङ्कारको अन्त्यानुप्रास अलङ्कार यत्रतत्र सर्वत्र प्रयोग भएको पाइन्छ । यस रामायणको प्रमुख आलङ्कारिक विशेषता भनेको नै अन्त्यानुप्रासको सुन्दर प्रयोग हो । यसबाहेक कतैकतै छेकानुप्रासको प्रयोग पनि भएको देखिन्छ, जस्तै—
भ्रमरहरू लताका फूलमा हल्ली हल्ली
घुनुनु घुनुनु गर्दै हिंड्दछन् बल्लि बल्लि[११]।।
भानुभक्तीय रामायणमा अर्थालङ्कारका सुन्दर प्रयोगहरू प्रसस्तै पाइन्छन् । यसबाट काव्यमा प्राकृतिक सुन्दरता थनिपिएको पाइन्छ । अर्थालङ्कारका केही उदाहरण यसप्रकार छन्—
राग् द्वेष्का भेल चल्छन् भँवरि सरि यि युग् घुम्दछन् बीचमाहाँ ।
पुत्रादि मत्स्यझैं छन् रिस पनि वडवानल् सरीको छ ताहाँ ।।
कामैको जाल् छ ठूलो तर पनि बलियो तेहि जाल्लाइ फारी ।
संसार्–सागर् सहज्मा तरिकन हरिथ्यैं बस्न जानेछु पारी [१२]।।
उपर्युधृत कवितांशको पहिलो र दोस्रो हरफका श्यामाङ्कित पदहरूले अर्थालङ्कार अन्तर्गत उपमा अलङ्कार प्रकट गरेका छन् भने चौथो हरफका श्यामाङ्कित पदमा रूपक अलङ्कार मुखरित भएको छ । रूपक अलङ्कारको अर्को सुन्दर उदाहरण हेरौं—
यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै ।
कौसल्या दशरथ्जिलाइ रिसले वाक्–वाण् बजारिन् तसै [१३]।।

रामचरितमानसमा अलङ्कार

तुलसीदास यस्ता व्यक्ति हुन्, जसले राम–नाम, राम–प्रताप, राम–महिमा, राम–कीर्ति, राम–चरित्र जस्ता कुराको वर्णन गर्नु नै आºनो काव्यलक्ष्य मानेका छन्; तर यसो हुँदाहुँदै पनि रामचरितमानसमा काव्य–कलाका सम्पूर्ण तत्त्वको सहज सन्निवेश रहेको देख्न सकिनछ । शब्दचयन, वाक्यसंघटन, उक्ति तथा मुहावराको सुन्दर प्रयोग, भावानुकूल भाषाको प्रयोग, संवाद–योजना, अलङ्कार–योजना आदि सवै दृष्टिबाट प्रस्तुत काव्य बेजोड देखिन्छ । अलङ्कार प्रयोगमा चाहे उपमा होस् या रूपक, उत्पे्रक्षा होस् या निदर्शना, सहोक्ति होस् या विनोक्ति, उदाहरण होस् या दृष्टान्त, मानस महाकाव्य सबैमा अनुपम रहेको थाहा पाइन्छ । मानसमा प्रयुक्त अलङ्कारमध्ये रूपक अलङ्कारको एउटा सुन्दर दृष्टान्त हेरौँ :
रामकथा सुन्दर कर तारी । संशय विहग उडाव निहारी ।।
रामकथा कलि विटप कुठारी । सादर सुनु गिरिराजकुमारी [१४]।।
(अर्थात् श्रीरामको कथा हातको सुन्दर ताली हो, जसले संदेहरूपी पक्षीलाई उडाइदिन्छ, त्यसरी नै श्रीरामको कथा एउटा यस्तो खुकुरी हो, जसले कलियुगरूपी वृक्षलाई छेदन गर्छ । (त्यसैले) हे पार्वती ? आदरपूर्वक रामकथा सुन) । कवि तुलसीदासले अलङ्कार प्रयोग गर्नुको उद्देश्य अलङ्कारको चमत्कार देखाउनु नभएर सीताको अलौकिक सौन्दर्यको व्यञ्जना प्रस्तुत गर्नु रहेको छ । वास्तबमा अलङ्कार प्रयोग गर्नु भनेको चमत्कार देखाउनु होइन, किनभने अलङ्कार साधन मात्र हो, साध्य चाहिँ अलङ्कार्य हो । सीताको सौन्दर्यको वर्णन गर्ने क्रममा तुलसीदासले प्रयोग गरेको एउटा अतुलनीय अलङ्कारको नमुना यसप्रकार रहेको छ :
जौं छवि सुधा पयोनिधि होई । परम रूप–मय कच्छप सोई ।।
सोभा रजु मंदरु सिंगारू । मथै पाणि–पैकज निज मारू [१५]।।
एहि विधि उपजै लच्छि जव सुन्दरता सुख मूल ।
तदपि सकोच समेत कबि कहहिं सीय समतूल [१६]।।
कवि सीताको उपमाका निमित्त उपयुक्त सुन्दरी नारीको खोजी गर्दछन् । उनी लक्ष्मीलाई पनि सीताको उपमानयोग्य पाउँदैनन् । उपर्युक्त कविताको नेपाली रूपान्तर— समुद्रबाट उत्पन्न लक्ष्मी कसरी सीताको उपमायोग्य हुन सक्छिन् ? उनका बाबु समुद्र नुनिला छन् । जुन समुद्रमन्थनका लागि भगवान्ले कठोर पिठ्युँ भएको कछुवाको रूप धारण गरेको थियो, विषधर वासुकी नागको डोरी बनाएको थियो, अतिशय कठोर मन्दराचल पर्वतलाई मधानीका रूपमा प्रयोग गरिएको थियो र सारा देवता र राक्षस मिलेर मन्थन गरेका थिए । जुन लक्ष्मीलाई अतिशय शोभाकी खानी एवं अनुपम सुन्दरीका रूपमा लिइन्छ, तर उनलाई प्रकट गर्न प्रयोग भएका उपकरणहरू असुन्दर र स्वभावैले कठोर छन् । यस्ता उपकरणबाट प्रकट भएकी लक्ष्मी सीता समान कसरी हुन्छिन् । यसप्रकारका संयोगबाट जब सुज्दरता तथा सुखकी मूल लक्ष्मी उत्पन्न भएकी छिन् तापनि कविहरू उनलाई सङ्कोचका साथ सीताको उपमानका रूपमा प्रयोग गर्छन् । महाकवि तुलसीदासको यसप्रकारको प्रयोगलाई टीकाकार हनुमानप्रसाद पोद्वारले अभूतोपमालङ्कारको संज्ञा दिएका छन् । यसरी हेर्दा तुलसीदासले (शुद्ध) अलङ्कारको मात्र प्रयोग नगरी अलङ्कार–ध्वनिको अधिकतम प्रयोग गरेका छन् । तुलसीदास यस्ता शृङ्गारिक कवि हुन् जसले गरेको सीताको शृङ्गार वर्णन एउटा मातृभक्त छोराले आफ्नी आमाको शृङ्गारिक वर्णन गरेजस्तै छ ।

३. भानुभक्तीय र तुलसीकृत रामायणको सूत्रात्मक तुलना

१.भानुभक्तीय रामायण अर्ध मौलिक देखिन्छ । तुलसीकृत रामायण पूर्ण मौलिक देखिन्छ ।
२.पहिलो सरल भाषामा लेखिएको छ । दोस्रो आलङ्कारिक तथा मिथकधर्मी भाषामा लेखिएको छ ।
३.पहिलो अध्यात्म रामायणको अनुवाद । दोस्रोमा अध्यात्मका साथै अन्य राम कथाहरूको उपयोग गरिएको ।
४.पहिलो नेपालीभाषी संसारमा लोकप्रिय । दोस्रो हिन्दीभाषी संसारमा लोकप्रिय ।
५.पहिलोमा निर्गुणत्व र सगुणत्वको समन्वय । दोस्रोमा पनि निर्गुणत्व र सगुणत्वको समन्वय ।
६.पहिलोमा पूर्वीय काव्यसिद्धान्तको अपूर्ण पालना भएको । दोस्रोमा पूर्वीय काव्यसिद्धान्तको पूर्ण पालना भएको ।
७.पहिलोमा रामका आदर्शहरू सम्प्रेषण गर्ने ध्येय रहेको । दोस्रोमा पनि रामका आदर्शहरू सम्प्रेषण गर्ने ध्येय रहेको
८.भानुभक्तीय रामायण लगभग तिन सय वर्ष पछि लेखिएको । मानस रामायण लगभग तिन सय वर्ष अघि लेखिएको ।
९.पहिलोमा अध्यात्म रामायणकै अनुसरण र कतै कतै थप पनि । दोस्रोमा अध्यात्म रामायणकै अनुसरण कतै कतै थप पनि

४.  उपसंहार

भानुभक्तीय रामायण र रामचरितमानस दुबै सगुण भक्तिधारा अन्तर्गत पर्ने भक्ति काव्य हुन् । भारतीय साहित्यमा भक्ति धाराका साहित्यको ठूलो भूमिका रहँदै आएको पाइन्छ भने नेपाली साहित्यमा पनि यसको कम महत्त्व छैन । अध्यात्म रामायणलाई नेपालीमा रूपान्तरण गर्ने भानुभक्त नेपाली भक्तिसाहित्यका केन्द्रीय कवि हुन् भने अध्यात्म रामायण र अन्य रामायण समेतलाई आधार मानी रामचरितमानसको रचना गर्ने तुलसीदास भारतीय भक्तिसाहित्यका केन्द्रीय एवं महत्त्वपूर्ण कवि हुन् । उनको रामचरितमानस नानापुराणनिगमागमको सारलाई एकत्रित गरी भक्ति, ज्ञान र कर्मको समन्वयात्मक त्रिवेणी प्रवाहित गर्न सफल भएको छ । भानुभक्तीय रामायण अत्यन्त सरल तथा सुबोध शैलीमा लेखिएको छ भने तुलसीकृत रामायणको भाषाशैली आलङ्कारिक एवं मिथकधर्मी रहेको छ । दुबै रामायणमा निर्गुणत्व र सगुणत्वको सुन्दर समन्वय रहेको पाइन्छ भने दुबैमा रामका आदर्शहरू सम्प्रेषण गर्ने उद्देश्य रहेको देखिन्छ । भानुभक्तमा तुलसीदासको प्रभाव परेको हुनाले दुबै रामायणमा समानताको मात्रा अधिकतम रूपमा रहनु स्वाभाविक मानिन्छ । यी दुबै रामायण तत्कालीन भक्ति साहित्यका बेजोड नमुनाका रूपमा रहेका छन् ।

सन्दर्भ सामग्रीहरू

१. आचार्य, भानुभक्त {सं.बाबु सोमनाथजी (२०४६)} भानुभक्तीय रामायण, वाराणसी(भारत) : जय नेपाल प्रकाशन

२. कल्याण उपनिषद् अङ्क ११ औं पुनर्मुद्रण (सं. २०६८ : ३४९), तैत्तिरीयोपनिषद् सप्तम अनुवाक्, गोरखपुर,भारत : गीताप्रेस

३. तिवारी,डा.रामचन्द्र (सन् १९९९ : ८६), कथा रामकै गूढ, वाराणसी : विश्वविद्यालय प्रकाशन

४. तुलसीदास, टीकाकार हनुमानप्रसाद पोद्दार (२०४६ : बालकाण्ड -३१४/४), रामचरितमानस, गोरखपुर, भारत : गोविन्दभवन कार्यालय, गीताप्रेस

५. नेपाली साहित्यकोश (२०५५ : ५४४/४५), भक्ति रस, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान

७.भानुभक्तकाे रामायण (२०६७, छैटाैं संस्करण), भानुभक्तकाे संक्षिप्त जीवनचरित्र, काठमाडाैं ः साझा प्रकाशन ।

८. लुइटेल, डा.खगेन्द्रप्रसाद (२०६० : १३९), कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान

९. व्याख्याकार मिश्र, रामचन्द्र (सन् १९८४ तृ.सं.), काव्यादर्श, वाराणसी : चौखम्बा विद्या भवन

१०. शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडैां : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान

Standard