Literature

पूर्व् स्मृतिभित्र बुद्धि भाइ

Komal photo259927_106752439417415_395541_n

लेखक

मेरा पिता रामनाथको निर्देशन अनुसार इलाम फुटुक निवासी भीमप्रसाद सुवेदीका साथ म भागवत अध्ययनार्थ भारतको वृन्दावन गएको थिएँ । पुगेको केही महिनापछि त्यहाँको प्रसिद्ध बाँके बिहारी मन्दिर अगाडि तिनजना नेपाली विद्यार्थीहरूसँग भेट भयो । एकै ठाउँका भए पनि हाम्रो परिचय थिएन । परिचय पश्चात् सुम्बेकका बुद्धिप्रसाद घिमिरे, सुम्बेककै मातृका पोखरेल र  जितपुरका नेत्रप्रसाद कट्टेलसँग नमस्ते साटासाट भयो । घरको संझनाले निकै सताएका बेला आफ्नै गाउँ ठाउँका साथीभाइसँग अचानक भेट हुँदा मलाई एकै आँतका दाजुभाइ भेटे जस्तो लाग्यो र मेरो मन तोरीबारी, पुवाखोला, चुरेघाँटी, इलाम बजार, बिब्ल्याँटे, बर्बोटे,  सुम्बेक, जितपुर जस्ता ठाउँ चहारेर एकदुई पलाभित्रै पुनः वृन्दावन आइपुग्यो । उहाँहरूको सामीप्यले जननी र जन्मभूमिको तिर्सना मेट्न निकै सहयोग पुर्याएको थियो त्यसबेला ।

बुद्धि भाइसँगको पहिलो भेटदेखि नै मेरा मानसपटमा वृन्दावन र बुद्धिको उपस्थिति एकै साथ रहने गरेको छ । त्यसबेला म उन्नाइस/बिस वर्षको थिएँ भने उहाँ पन्द्र/सोह्र वर्षको हुनुहुन्थ्यो, त्यसैले म उहाँलाई  बुद्धि भाइ भन्थें र उहाँ मलाई कोमल दाइ भन्नुहुन्थ्यो । यो क्रम अस्तिसम्म पनि चलिरहेको थियो ।

हाम्रो पहिलो परिचयपछि हामी चार इलामेहरूको हप्तामा एक पटक भागवत विद्यालयमा भेट हुने कार्यतालिका बन्यो । सो कार्य तालिका सामुदायिक विद्यालयको अध्यापन कार्यतालिका जस्तो नभएर उत्कृष्ट नतिजा ल्याउन सक्ने संस्थागत विद्यालयको अध्यापन कार्यतालिका जस्तो थियो । हप्तामा एकपटक मात्र भेट गर्न सकिने आआफ्नै कारण थिए । म भागवत विद्यालयको सिधा खाएर पठ्थें भने बुद्धि भाइ कुनै एक महन्तको आश्रममा रहेर पढ्नुहुन्थ्यो । अन्य दुई भाइ कुन विद्यालयमा वा कस्का आश्रयमा रहनुभएको थियो भन्ने कुरा मेरा स्मृतिबाट हटिसकेको छ । यतिसम्म थाहा छ उहाँहरू पनि कसैका आश्रयमै रहनुभएको थियो ।

हाम्रो अध्ययन र साप्ताहिक भेटघाट यथावत् चल्दै थियो । घर फर्कने कुरै थिएन । अकस्मात् घरबाट पिताजीले पठाउनुभएको पत्र हात पर्यो । सो पत्रमा तुरुन्त आउनू, यहाँ काम पाइने भयो भन्ने कुरा लेखिएको थियो । पत्र पाउने बित्तिकै उडिजाउँ भने म चरी होइन बस्न त मन्छैन जस्तो भयो मलाई ।

भोलिपल्ट साथीहरूसँग नियमित भेट हुने समय थियो । सधैं झैं हामी चारै जनाको भेट भयो निम्बार्क संस्कृत महाविद्यालयको प्राङ्गणमा । मैले घरबाट आएको पत्रको आशय र आफु घर फिर्ने कुरा साथीहरूलाई सुनाएँ । नेत्र र मातृकाले पनि फर्कने कुरा गर्नुभयो । बुद्धि भाइको चाहिं सजिलै आउन नपाउने एउटा समस्या रहेछ । उहाँले गहभरि आँसु पार्दै मेरा हातमा समातेर भन्नुभयो—

तपाईँहरू जाने हो भने म मात्र एक्लै बस्न सक्दिन । मलाई पनि सँगै लाने व्यवस्था मिलाउनुपर्यो कोमल दाइ ?

त्यसबेला मलाई सारै नराम्रो लाग्यो । ओठ निचोर्दा दुध आउला जस्तो भाइलाई छाडेर हिड्न मनले मानेन ।

बुद्धि भाइ सजिलै आउन नपाउने एउटा कारण रहेछ । उहाँको आश्रयदाता महन्तले दुई वर्षसम्म कतै नजाने शर्तमा आफुसँगै राखेर पढाउन मन्जुर गरेको रहेछ । वास्तवमा महन्त भनेर हुदैन कोही त सारै दुराचारी र पाखण्डी पनि हुन्छन् । अधिकांश महन्तमा निम्नलिखित कुरा लागु हुन्छ —

मनस्येकं वचस्येकं कर्मण्येकं महात्मनाम्,

मनस्यन्यद् वचस्यन्यद् कर्मण्यन्यद्दुरात्मनाम् ।

(अर्थात् महात्माहरू मनले चिताएको कुरा बोल्छन् र बोलेको कुरा पूरा गर्छन्, तर दुरात्माहरू मनले एकथोक चिताउँछन्, बोलीले अर्कोथोक गर्छन् अनि कामले अर्कैथोक गर्छन्) ।

त्यो महन्त कस्तो थियो जान्न सकिएन । बुद्धि भाइले पनि त्यस महन्तका बारेमा केही बताउनु भएन त्यसबेला ।

मेरा मनमा एउटा कुरा फुर्यो र मैले भने —भाइ, अब तिन दिनसम्म महन्तले जे भने पनि नाइँ नभन्नू, जसरी भएपनि उसलाई खुसी पार्नू । चौथो दिनमा मथुरा घुम्न जाने निहुमा आउनू, घरतिर टाप कसौंला ।

यही जुक्तिसूत्र प्रयोग गरी भनैकै दिन उहाँ आउनुभयो । चारै जना भेला भयौं, मथुरा आयौं र रेल चढ्ने तर्खरमा जुट्तै गर्दा हामीमाथि अर्को पीडा आरोहण भयो ।

त्यसबेला मथुराबाट सिलगडीको भाडा एक्स्प्रेसमा चालिस रुपयाँ थियो भने लोकलमा तिस मात्र थियो । हामी सबैको पैसा एकैठाउँ भेला गर्दा पैंतिस रुपयाँ मात्र भयो । गाडीमा तुरुन्त चढ्नुपर्ने र के गरी चढ्नेको द्वन्द्वमा फस्यौं हामी । द्वन्द्व समाधान नगरी धर थिएन । सो समस्याको समाधान यसरी निकाल्यौं —

तिसको रुपयाँको टिकट लिने, एक्स्प्रेस गाडीमा चढ्ने, सबैका सामान एउटै पोकामा बाँध्ने, टिकट बोक्नेका साथमा सामान राख्ने र अरु तिन भाइले संस्कृतका पुस्तक झोलामा हालेर  बोक्ने; रेलमा खानेका हकमा पाँच रुपयाँको भुटेका चना किनेर चार भाइले आआफ्ना कमेजका गोजीमा राख्ने र रेल चढ्ने निधो भयो । त्यसबाहेक अर्को सल्लाह पनि गरेका थियौं —बुद्धि भाइ र म एउटै डब्बामा चढ्ने, दुईजना साथी अलग अलग डब्बामा चढ्ने । त्यसै गर्यौं अनि चढ्यौं मथुरा→कानपुर रेलमा । रेल चढेपछि मात्र बुद्धि भाइको अनुहार अलिक उज्यालो भयो ।

समय भएपछि रेल बिस्तारै लिखमाथि गुड्न थाल्यो । त्यति सानो लिखमा रेल गुडेको देखेर बुद्धि भाइले भन्नुभयो, हामी चढेकै बेला यसले लिख छाड्यो भने हामी मर्छौं हो कि दाइ !

हुन त हो भाइ, तर रेल मान्छेजस्तो होइन । यसले आङ्खनो कर्तव्य भुल्दैन । भुल्यो भने हामी मात्र होइन ऊ पनि ध्वस्त हुन्छ । मानिसले आङ्खनो कर्तव्य भुलेर ध्वस्त भएका उदाहरणहरू धेरै छन्, मैले भने ।

हामी एकछिन भावमग्न भयौं । रेलले मथुरा नगरी छोड्नै लाग्दा बुद्धि भाइ र म दुबैले वृन्दावन÷मथुरा तथा पौराणिक एवं ऐतिहासिक यमुना नदीलाई राधेराधे गर्यौं, कुनैदिन तीर्थयात्री वा पर्यटकका आँखा लिएर आउने शर्तमा; तर आजसम्म मैले त्यो इच्छा पूरा गर्न सकेको छैन । बुद्धि भाइले सो इच्छा पूरा गर्नुभयो कि भएन सो थाहा पाउने इच्छा अहिले आएर सदा सदाका लागि समाप्त भएको छ ।

मथुराबाट सुरु भएको रेल कानपुर हुँदै लखनउ आइपुग्यो । हामी मथुरामा कति बजे चढेका थियौं र लखनउ कति बजे आइपुग्यौं भन्ने कुरा अहिले मेरा स्मृतिमा छैन । रेल रोकिएपछि हामी और्लियौं । दुई साथी लिख पार गरेर गए । हाम्रो साथमा सामानको भारी भएकाले हामी गेटबाटै लखनउ सिलगडी प्लेट˚र्ममा जान बाध्य भयौं । बुद्धि भाइ र मैले एकएक छेउमा सामानको भारी समातेर गेट छिर्न लाग्दा टीटीले टिकट माग्यो । मैले त्यही तिस रुपयाँको टिकट दिएँ । बुद्धि भाइसँग टिकट थिएन, त्यसैले हामी दुबैलाई टीटीले टिकट बेगरका यात्रु थुन्ने कोठामा लगेर थुन्यो ।

बोलो ये तुमारा भाइ है कि नहिं ? टीटीले मलाई हप्काउँदै सोध्यो । ये हमारा भाइ नहिं है, मैले भने । क्यूँ नहिं ? उसले थप्यो ।

बुद्धि भाइ म भन्दा राम्रो हिन्दी बोल्नुहुन्थ्यो । उहाँले अगाडि सरेर भन्नुभयो, क्यूँ है ? कैसे है ? आपको मालुम होगा कि आप भी हमारा भाइ है । वसुधैव कुटुम्बकम् हम विद्यार्थीयोंका मूल मन्त्र है । असहायोंका सहायता करना हमारा धर्म है । (मतिर देखाउँदै) विश्व भाइचारेका कर्तव्य पालन कर के हमने इनको सहयोग किया है ।

टीटी र हाम्रा बिचमा चर्काचर्की परिरहेकै बेला त्यो भन्दा माथिल्लो स्तरको टीटीको आगमन भयो त्यहाँ । तिनले चाहिं जेल पठाउन पनि सक्ने रहेछन् । धोती फेरेका, ठाडो चन्दन लगाएका ती व्यक्ति निकै ठुला विद्वान् रहेछन् । हामीे पनि धोती कमेजका साथ चिटिक्क निम्बार्कीय चन्दनमा सजिएका थियौं । झन् बुद्धि भाइ त वृन्दावनको कृष्ण जस्तै सारै सुन्दर देखिनुहुन्थ्यो । अधिकार सम्पन्न टीटीको मनोविज्ञान सहसा परिवर्तन भएछ । उनले हामीलाई एकान्त लगे र सोधे, आपलोग विद्यार्थी लगते हैं । कहिए सच्चा सच्चा बात क्या है ? ।

मैले बुद्धि भाइलाई इसारा गरें । उहाँले भएभरका कुरा यथातथ्य बताइदिनुभयो ।

टीटीले मसँग भएको तिस रुपयाँको टिकट खिचेर सिलगडीसम्मको दुबैजनाको पास बनाइदिए । ती टीटी मेरा स्मृतिमा अझै जीवित छन् र रहिरहने छन् । उनले त्यसबेला गरेको सहयोग संझदा चाणक्य नीतिको निम्नलिखित सदुक्ति मेरा मनमस्तिष्कमा सधै नाचिरहन्छ —

विद्या ददाति विनयं विनयाद्याति पात्रताम् ।

ती महामना टीटीलाई प्रणाम गरेर बुद्धि भाइ र म आङ्खनो सामान बोकी प्लेटफर्मतिर लाग्यौं । आधा घण्टापछि सिलगडी जाने रेल आइपुग्यो, हामी चढ्यौं । हामी त निस्फिक्रि सिलगडी पुग्ने भयौं, तर साथीहरू कता छन् के गर्दै छन् अझै थाहा थिइन, त्यसैले हामी फेरि उहाँहरूप्रति चिन्तित भयौं । लखनउबाट द्रुत गतिमा चलेको रेल केही घण्टापछि गोन्डा जङ्क्सनमा आइपुगेर रोकियो । रोकिएकै बेला नेत्र कट्टेल अर्को डब्बाबाट बाहिर निस्किनु भयो । हामीले उहाँलाई हामी बसेकै डब्बामा बोलायौं, किनभने हाम्रो पास भएपछि हामीसँग बस्न कुनै आपत्ती थिएन । रेल बिस्तारै अघि बढ्दै थियो । हामी सहरको सुन्दरतालाई आखाभित्र कैद गर्दै थियौं । सोही बेला हाम्रा आँखा अर्को दुखद दृश्यमाथि परे । मातृकाजी पक्डाउमा पर्नु भएछ । उहाँले हामीलाई देख्नुभयो, हामीले पनि उहाँलाई खेख्यौं । औंसीको रातजस्तो उहाँको अनुहारले हामी स्तब्ध भयौं । बुद्धि भाइका आँखा छताछुल्ल भए ।

सो रातको रेलयात्राभरि एकछिन पनि हामीले सुखानुभूतिको अनुभव गर्न सकेनौ । एकातिर साथीको माया अर्कातिर घर पुगेपछि साथीका परिबारले सोध्दा निरुत्तर हुनुपर्ने पीडाबोधले हामी सताइएका थियौं । रात्रिको समय भएपनि हामी जाग्रत् अवस्थामै सिलगडी आइपुग्यौं । त्यसबेला बिहानको लगभग तिन बजेको थियो होला ।

रेल अवतरणपछि निकैबेरसम्म कता जाने र के गर्ने ? भन्ने प्रश्नको उत्तर पाउन सकेनौ हामीले । स्टेसनको पश्चिमतिरको एउटा सानो टिनले छापेको एकतले घरबाटबाट कल्याङकुलुङ आवाज आयो । त्यहाँ जाँदा नेपालीको होटल रहेछ । एउटा नेपाली केटो बाहिर निस्कियो । उसलाई सोध्यौं, हामी वृन्दावनबाट आएका विद्यार्थी हौं, एकछिन आराम गर्न पाइन्छ भाइ ?

तलामाथि रित्तो कोठा छ । औछ्याउने लुगा छन् भने गएर आराम गर्दा हुन्छ, केटाले भन्यो ।

हामी माथि उक्लियौं । माटो छापेको तला देख्ता हाम्रा इलामकै गाउँघरको संझना आयो; हाम्रा घरका तला पनि त्यस्तै थिए । आङ्खनै घरमा टेकेजस्तो लाग्यो । त्यहीँ आसनी ओच्छ्याएर ढल्कियौं । निदाउने कुरा थिएन । साथी आइपुगोस् भनेर बाँके बिहारीको स्मरण गर्नु बाहेक हामीसँग अर्को कुनै उपाय थिएन ।

उज्यालो हुन अझै एक घण्टा जस्तो बाँकी थियो होला बुद्धि भाइ ! ! !  भन्ने लामो आबाज आयो बाहरिबाट । मातृकाको स्वर प्रस्ट चिनियो । जुरुक्क उठेर बुद्धि भाइले भन्नुभयो, मातृका दाइ, हामी यहाँ छौं । आङ्खनो गाउँले साथीका नाताले सबभन्दा धेरै पिर बुद्धि भाइलाई परेको थियो । भेट भएपछि हामी सबै एकछिन हर्षले रोयौं । एकछिनपछि मित्रबिछोडको पीडा त्यहीँ समाप्त भयो ।

हामी गफका धुनमा थियौं उज्यालो भएछ । बिहानको नित्यकर्मपश्चात् हामी त्यस होटलबाट बाहिरियौं । साथमा एक पैसा पनि नभएकाले र भुटेको चना पनि सकिएकाले हामी चारै जनाभित्र भोकले एकछत्र राज्य गर्न थालिसकेको थियो । हामीमध्ये उमेरले कान्छो बुद्धि भाइलाई भोकले धेरै सताएको कुरा उहाँको अनुहारमा अध्ययन गर्न सकिन्थ्यो, तर त्यसको ओखती हामीसँग थिएन ।

आआङ्खना कुम्ला कुटुरा छुट्यायौं र बाटा लाग्यौं । दार्जिलिङ मोडमा आइपुगेर हामीले पानीघट्टातिरको बाटो समायौं । यसो गर्दा बाटामा पर्ने चिया कमानका नेपाली बस्तीहरूमा हाम्रो भोकको ओखती मिल्ने सम्भावना थियो । तर आशा हि परमं दुःखम् नैराश्यं परमं सुखम् साकार भएरै छोड्यो, बाटामा पर्ने नेपाली चिया मजदुरका घरहरू सबै बन्द पाइए । एउटा घरमा मात्र केटाकेटी भेटिए, तर त्यस घरमा पनि ढोका बन्द थियो । त्यस घरमा हाम्रा इलामका जस्तै बाहिर सुकेका मकैका झुत्ता झुन्ड्याइएका रहेछन् । यही सुकेको मकै भए पनि टोक्दै हिड्नुहुन्थ्यो, बुद्धि भाइले भन्नुभयो । केटाकेटीसँग दुई घोगा मकै माग्यौं र बाटा लाग्यौं । त्यही भएपनि बाटामा कुटुक् कुटुक् गर्दै हिड्ने हाम्रो उत्कट आशा थियो, तर पूरा हुन सकेन, किनभने मकै ढुङ्गा जत्तिकै कडा रहेछन्  । मरेर एक दुई दाना चपायौं । नेपाली बस्तीमा पुगेर दुई, तिन दिनको भोक मेटाउने कल्पनामा कावा खाँदै लखतरान भएर साँझपख हामी पानीघट्टा आइपुग्यौं ।

हामीले सुनेका थियौं पानीघट्टा एक रमणीय स्थान हो र त्यहाँ नेपालीहरू मात्र छन् । वास्तबमा पानीघट्टा सुन्दर रहेछ । अब हाम्रो काम वास माग्नु थियो । सर्वप्रथम एउटा नेपालीका घरमा गएर भन्यौ, हामी वृन्दावनबाट आएका नेपाली विद्यार्थी हौं । आज एक रातका लागि वास दिनुहोस् न ।

एउटी अधबैंसे महिलाले घरबाट निस्किंदै भनी, हामी विद्यार्थी सिद्यार्थी केही जान्दैनौ । यस ठाउँमा कसैले पनि वास दिदैनन्, जुन बाटो आएका थियौ त्यही बाटो लाग, नत्र अप्ठारो पर्ला । हामीले त्यहाँका अधिकांश घरमा वास माग्यौं सबैले एउटै कुरा दोहोर्याए ।

हामी भोकले सारै शिथिल भएका थियौं । हातगोडा चल्न छाडिसकेका थिए । पानीघट्टा छाडेर अन्त जान सक्ने हुती प्रायः समाप्त भइसकेको थियो । अँध्यारो बढ्दै गएकाले सर्पले टोक्ने त्रासले मन चसक्क चस्किंदै थियो । वास नदिने जातका त्यस ठाउँका नेपालीलाई शिष्ट तरिकाले गाली गर्ने उद्देश्यले सानो र मिठो स्वरका धनी बुद्धि भाइलाई तलका संस्कृत र नेपाली श्लोकहरू लयबद्ध वाचन गर्न लगाएर विस्तारै गाउँ परिक्रमा गर्न थाल्यौं । त्यस आपत कालमा हाम्रा लागि यसभन्दा अर्को कुनै उपाय थिएन ।

अभ्यागतातिथिर्यस्य गृहात्प्रतिनिवर्तते,

स तस्य दुस्कृतं दत्वा पुण्यमादाय गच्छति ।

(साँझमा घर आएका फर्कन्छन् पाहुना भने,

आफ्नाे पाप त्यहीं छाडी लान्छन् पुण्य सबै तिनी )।

दूरागतंं पथि श्रान्तं अतिथीं गृहमागतम्,

तिरस्कृत्वा च यो भुङ्क्ते स वै चाण्डाल उच्यते ।

(थाकेका पाहुनालाई वास दिन्नन् भने यदि,

शास्त्रमा भनिएको छ साक्षत् चाञ्डाल हुन् तिनी) ।

हाम्रो त्यस वाचनलाई सुनेर निधारमा श्रीवैष्णवको तिलक लगाएका ३५/४० जस्तो देखिने एकजना व्यक्ति अगाडि आएर सोधे, तपाईंहरू कहाँबाट आउनुभएको ? घर कहाँ हो ?

हामी चारै जनाले छोट्करी रूपमा सबै बेलीबिस्तार लगायौं । निधारमा तिलक देखेपछि हाम्रो माटामुनिको आशा अलिकति टुसायो ।

यहाँहरू जस्ता वैष्णव गृहस्थी बसेका ठाउँमा हामीजस्ता वैष्णव विद्यार्थीले वास पाएनौ यसभन्दा महा अचम्म के हुन्छ  !  मैले भने । बुद्धि भाइले पनि थप्नुभयो ।

यो ठाउँ यस्तै छ । ऊ त्यो मेरो घर हो । तपाईंहरू त्यहीं गएर बस्तै गर्नुहोस् । नौ बजे मेरो ड्युटी सकिन्छ म आएपछि कुरा गरौंला, ती वैष्णवले भने ।

त्यसपछि हामीले वर्णनातीत खुसीको अनुभव गर्यौं । अद्यावधि त्यस किसिमको खुसीलाई दोस्रो बनाउने कुनै खुसीको अनुभव गर्न सकेको छैन मैले ।

त्यसबेला हामीले अरू कुरा सोध्न आवश्यक ठानेनौ । तिनले देखाएका घरमा सरासर गयौं । बाहिर सिकुवामा आट र खाट दुबै थिए । हामी आटमा के बस्न लागेका थियौं अरू घरमा जस्तै भित्रबाट यहाँ वास बस्न पाइदैन, अन्यत्रै जाऊ, जाइहाल भन्ने आवाज आयो ।

यही घरका दाइले पठाएर आएका, त्यसै आएका होइनौ भन्ने कुरा हामीले निकै पटक दोहोर्यायौं, तर हाम्रोे भनाइको अलिकति पनि सुनुवाइ भएन । हामी पनि सुनेको नसुन्यै गरी बसिरह्यौं । हामीसँग यसो गर्नुको कुनै विकल्प थिएन ।

नौ बजेपछि ती दाइ आए । भित्र गएर के भने कोनि उनकी श्रीमती राडी लिएर बाहिर निस्किइन् र खाटमा ओच्छ्याइदिइन् । उनले हामीलाई खाटमा बस्न अनुरोध गरे । हामी मख्ख पर्दै खाटमा गएर बस्यौं । अब थाहा भयो, त्यो कार्की छेत्रीको घर रहेछ ।  वैष्णव हुनुभन्दा अघिका रामबहादुर कार्की वैष्णव भएपछि रामशरण कार्की भएका रहेछन् । उनका बा रहेछन् लगभग नब्बे बर्षका । दुई तिन वर्षअघि उनी बालाई लिएर वृन्दावन गएका रहेछन् । त्यसैबेला बाबुछोरा वैष्णव भएका रहेछन् । हाम्रा लागि अर्को थप भलाइ हुने कुरा के रहेछ भने रामशरणकी श्रीमतीको माइत घर हाम्रै इलामको साङ्रुम्मा रहेछ । बुद्धि भाइको वृन्दावन वर्णनले घरका बाबै समेत सबै तिन छक्क परेका थिए ।

केहीबेरमै रामशरणी श्रीमतीले चिया ल्याएर टर्क्याइन् । आधा थकाइ र आधा भोक मेटाउन सक्ने त्यो बास्नादार चिया अहिलेसम्म मेरा स्मृतिमा सेलाएको छैन, ताजै छ ।

चिया खाइसकेको आधा घण्टापछि दालभातबाहेक अन्य परिकार तयार भएछ ।  दालभात पकाउन हामीमध्ये उमेरमा कान्छो बुद्धि भाइलाई नै  भित्रबाट अनुरोध आयो । धोती फेरेकै थियो कुर्ता खोलेर उहाँ भित्र जानु भो ।

हामी त्यसबेला वास्तबमै कट्टर थियौं । अर्को कुरा, त्यस परिस्थितिमा हाम्रा ठाउँमा जोसुकै भए पनि कट्टर बन्नै पर्थ्याे । वृन्दावनबाट आएका ब्राह्मण विद्यार्थी, त्यसमा पनि ठाडो तिलक लगाएका नाताले मात्र हामीले त्यहाँ वास पाएका थियौं ।

भित्र खाना तयार हुँदै थियो । त्यहाँ आशा हि परमं दुःखम् हाम्रा लागि आशा हि परमं सुखम् मा रूपान्तरित हुँदै थियो । केवल मुखले मात्र हामी अध्यात्मपरक कुराकानीमा मस्त थियौं । हाम्रो मन चाहिं पाक्तै गरेको खानाको वरिपरि परिक्रमा गर्दै थियो । यसरी हेर्दा बास्तवमा हाम्रा पूर्वीय मनीषिहरूको बुभुक्षितः किं नकरोति पापम् भन्ने उद्गार यथार्थतामा आधारित देखिन्छ ।

घरकी दुलहीले भान्सा तयार भएको सङ्केत दिइसक्ता नसक्ता हामी तयार भएर गइसकेका थियौं भान्सा कोठामा ।

दाल र भात मात्र भए ऐश्वर्य हुन्छ भोक पीडितहरूका लागि । हामी सोही अवस्थामा थियौं । हाम्रा लागि जुटाइएका वस्तुहरू देखेर मैले आफैंलाई चिमोटिहेरें । बुद्धि भाइबाहेक हामी एकछिन मुखामुख गर्यौं र खान बस्यौं ।

बहत्तर घण्टापछिको भोजनका रूपमा मात्र नभएर त्यसबेलासम्म र सम्भवतः अहिलेसम्मकै  ऐतिहासिक भोजनका रूपमा रहेको छ त्यस दिनको भोजन । वृन्दावनबाट रुखिएर फर्किएका त्यसमा पनि बहत्तर घण्टा भोकै बसेका, बासै नपाएर हैरान भएका विद्यार्थीका लागि घिउ, दही, दुध, मोही, अचार, दुई किसिमको सब्जी, मुङको दाल र मसिना चामलको भात प्राप्त हुनुलाई हामीले त्यसबेला स्वर्गादपि गरीयसी भनेका थियौं । बुद्धि भाइ अस्तिसम्म त्यसै भन्दै हुनुहुुन्थ्यो, म त्यसै भन्दैछु, सायद अरू दुई जना साथी पनि त्यसै भन्नुहुन्छ होला ।

भात खाइसकेपछि हामीलाई भाते निद्राले छोप्यो । रात पनि निकै बितिसकेको थियो । हामी दुई दुई जना गरेर दुई ठाँउँमा सुत्यौं । बिहान बिउँझिदा मात्र थाहा पायौं हाम्रा गोडामा चिल्लो पनि लाइदिएछन् । हामीलाई लाग्यो पक्कै पनि त्यो कुनै अदृश्य शक्तिको काम नभएर घरकै मानिसको काम हो ।

यसप्रकारको त्यहाँको अतिथि सत्कारले हामी नतमस्तक भयौं । विहान हिड्ने तरखर गर्दा रामशरणले खाना नखाई जानु हुदैन भन्ने कुरा गरे । हामीले अब बिहान पनि दुःख दिन उचित ठानेनौ, किनभने हामीलाई अति दर्पे हतालङ्का भन्ने कुरा अलि अलि थाहा थियो । धेरैधेरै आभार व्यक्त गरी हामी  घरबाट निस्कियौं । निस्कनुभन्दा अघि रामशरणले टीका लगाएर दक्षिण समेत दिए । हामीलाई तिन दिन नखाई घर पुग्ने आँट पलाइसकेको थियो त्यसमा पनि अब झन् भारु.दुई दुई रुपयाँ दक्षिणा समेत पाउँदा त हामी के भयौं के ।

आजभन्दा लगभग बाउन्न वर्षअघिको यस स्मृतिलाई संस्मरणात्मक निबन्धका रूपमा प्रकाशित गर्ने र बुद्धि भाइलाई पनि पढ्न दिने मेरो धोको पूरा हुन नपाउँदै उहाँ यस भौतिक संसारबाट बिदा हुनुभएको छ । यसका लागि म अत्यन्त दुःखी छु । म दुःखी भएकै बेला उहाँको स्मृतिग्रन्थ प्रकाशित हुन लागेको र मेरा लेखले स्थान पाएको हुनाले आत्मीय साथीको विछोडबाट लागेको घाउमा खाटा बस्ने सङ्केत देखिएको छ । स्मृति ग्रन्थ प्रकाशन जस्तो महान् कार्यमा संलग्न बुद्धि भाइका परिवारजन र इलामेली साहित्य प्रतिष्ठानप्रति धन्यवाद ज्ञापन गर्दै यो संस्मरणात्मक लेख बुद्धि भाइका आध्यात्मिक शरीरमा सश्रद्धा समर्पण गर्दछु ।

कनपा ३, सुरुङ्गा, झापा

Advertisements
Standard