Literature

सांसदुर्वशीस्ताेत्र

हाम्रा सांसद नेपाली नामका मात्र छन् तर,

उर्वशी ओठमा लाली घसेर बस्तछे वर ।

निजी सचिव छे आफैं कखरा पनि जान्दिन,

किन हो घरमा झ्याम्ले नराखे बस्न मान्दिन ।

रोस्टं घेर्नुपरे त्याहाँ पहिल्यै झट्ट पुग्दछे,

अर्का सांसदले आँखा झिम्क्याए मख्ख पर्दछे ।

राजधानी बसी काली कर्णालीमा छ भन्दछे,

मेचीका साँधको खम्बा टनक्पुर्भित्र गन्दछे ।

सांसद् नै हुुुुन् बडा मान्छे यिनै हुन् जननायक,

भनी भत्ता थपे धेरै हर्षले आँसु झार्दछे ।

बसाहा मन्त्रि छन् जस्का सालासाली त स्याल छन्,

झर्ला र खाउँला भन्दै औंलाले दिन गन्दछन् ।

खिर्खिरे पछि लागेर न ता क्यै हात पार्दछन्,

बिचरा दुःख पाएर तुरुक्क आँसू झार्दछन् ।

सांसद् वानर हुन् अर्काकाे खोसी पेट भर्दछन्,

उनी ता नर हुन् झूटो बोलेर देश ठग्दछन् ।

यसो हुँदा नदी हाम्रा स्थान छाडेर बग्दछन्,

गाउँका मुखिया ठाडै बाटामा पनि हग्दछन् ।

नेपालमा हिजो आज उर्वशी छ पतिव्रता,

नाम डम्फु बजाउर जमेकी छ जता तता ।

कर्ता भर्ता बनी गर्छे उर्वशी नकली कुरा,

सधैं सदन दन्काई तन्काई असली सुरा ।

आफ्ना भक्तहरूलाई धेरै द्रव्य दिलाउने,

देब्रे र दाहिने हात एकैसाथ मिलाउने ।

सांसद् प्रिये नखर्मौली काँङदेवी कुहेश्वरी

बामदेवीहरू जम्मै फुटेर सकिएश्वरी ।

पञ्चेश्वरी र सद्भाव  फाेरम् नकचरेश्वरी,

देश टुक्र्याउने खेल खेल्ने हे अधमेश्वरी ।

यस बाहेकका ढेडू अघिल्ला जन्मका सब

ज्यानमाराहरू तिम्रै भक्त हुन् के कहाैं अब ।

यो स्तोत्र जसले प्रातः उठेर पाठ गर्दछ,

आफ्नो जीवनामा त्यस्ले हसुरी पेट भर्दछ ।

Advertisements
Standard
Literature

दुःख अर्थात् आवश्यकता

र्पूर्णिमा रातमा जूनको दुःख छ,
गीतसङ्गीतमा धूनको दुः छ ।
सून देशैभरी नूनको दःख छ,
मेषका गोठ छन् ऊनको दुःख छ ।

धान धेरै फल्यो खानको दुःख छ,
देश रित्याउँदै लानको दुःख छ ।
धेर मन्त्री बने चोरको दुःख छ,
प्राज्ञ थुन्ने ठुलो खोरको दुःख छ ।

माथि नेता गए भाँडको दुःख छ ।
जाँड धोक्छन् सबै राँडको दुःख छ ।
स्वस्थ छन् सुन्दरी गाँडको दुःख छ,
देश थारो भयो साँडको दःख छ ।

सिंहदर्बारमा ढाँटको दुःख छ,
लाखका छन् पलङ् खाटको दुःख छ ।
शूर छन् वीर छन् आँटको दुःख छ,
देश टुर्क्याउने भाटको दुःख छ ।

आज भन्सारमा भव्यको दुःख छ,
खान्न कोही घूस द्रव्यको दुःख छ ।
नेत्र छन् बार सौ दृष्टिको दुःख छ,
दर्र पानी पर्यो वृष्टिको दुःख छ ।

बृद्धलाई अझै बैंसको दुःख छ,
केश पाक्यो सबै ऐसको दुःख छ ।
सत्य छाड्ने यहाँ ओठको दुःख छ,
बस्तु छन् छ सए गोठको दुःख छ ।
जाँच दिन्छन् पढी चीटको दुःख ।
चीट राख्ने नयाँ सीटको दुःख छ ।
जाति धेरै भए जातको दुःख छ,
देश सम्पन्न भो भातको दुःख छ ।

राजधानी छिर्यो गन्धको दुःख छ,
फिर्न खोज्यो भने बन्दको दुः छ ।
रोग कम्ती हुँदा भोग के मिल्दथ्यो १
भन्दछन् रोगविद् रोगकै दुःख छ ।

बा नबस् जा छिटै साथ स्वास्नी लिई,
भन्नमा पोख्त सत्पुत्रको दुःख छ ।
खान्छु आफू मिठो खा न सासू पिठो,
भन्दिने घर्वधूको ठुलो दुःख छ ।

Standard
Literature

दुर्बुद्धि विनोद

कहाँ थियो वास तथा म को थिएँ ?
कसो हुँदा त्यो दरबारमा पुगें ?
फिर्नेछु धेरै सुन साथ लीकन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

त्यहीं थियो वास म बस्दथें जहाँ,
अघाँउजी खान म पाउँथें कहाँ ।
मन्त्री हुनासाथ अथाह भो धन
थाहा तँलार्इ छ कि यो कुरा मन ? ।

बुढो भएँ केश सबै झरी गए,
बत्तीस अाफ्नै घरमा सरी गए ।
तथापि थाे बैंस बुढासँगै किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

अचार्य व्यासासनमा बसेका,
ती ब्रह्मचारी सबले गनेका ।
मान्छे लुकी प्रीत लगाउँछन् किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

विद्वान् धनी प्राज्ञ र वर्दिधारी,
भिरेर प्राध्पापकको उपाधि ।
कनीकनी गेस पढाउँछन् किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

जस्को छ सत्ता त्यसकै छ भत्ता,
चम्चे भरौटे उसका प्रयोक्ता ।
तथापि आहारिस गर्दछन् किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

उही कुलो खेत बिउ सबै उही,
उसै गरी रोपिदिए कतै कहीं ।
उम्रन्न बीजादिक गर्भमा किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

पत्नी घरै छे छ विदेशमा पति,
पठाउँछ प्राप्त कमाइ जे जति ।
तथापि सोझै लज धाउँने किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

पत्नी सुशीला र मनोरमा अनि,
पतिव्रता झन् नवयौवना पनि ।
छँदा छँदै पर्तिर भ्याउँछन् किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

बोकाहरू मात्र सयौं हजारन,
छानेर लाए पनि धान झारन ।
सकिन्न गोरु द्वय चाहियो किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

मातापिता बृद्ध तथा अशक्त छन्,
सुपुत्र बृद्धाश्रममा सशक्त छन् ।
छोरा भएमा अब फुर्कने किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

जोडी कुनै ढुक्कुरको अति प्रिय,
एकात्ममा रम्छ सधैं सधैं तर,
पत्नी बिते तत्क्षण ल्याउछन् किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

बं बं गरी बंबुटिमा रमेर,
लुगा पँहेला सबले भिरेर।
ठिटाठिटी बोल्बम धाउँछन् किन,
थाहा तँलार्इ छ कि यो कुरा मन ?

Standard
Literature

प्रश्नोत्तर

के गर्नुलार्इ पुरुषार्थ भनेर मान्नु ?
ठग्ठाग् गरेर जन छल्नु रहेछ जान्नु ।

कुन् वस्तु हो अति मिठो दलले चुनेको ?
सत्ता मिठो छ सबमा तिनले भनेको ।१।

को भन्छ जित्छु र बनाउँछु सम्विधान ?
सांसद् बनेपछि उही सुरु गर्छ खान ।

नेता विशिष्ट र गुणी भनिदेउ न को छ ?
सत्ता हडप्न र हसुर्न सिपालु जो छ ।२।

को गिर्छ उच्च गिरिको चुलिमा पुगेर ?
मैमत्त हुन्छ जुन व्यक्ति घमन्डिएर ।

को हो गरीव र अकिञ्चन सर्बहारा ?
जो नित्य लिन्छ हेलिकेप्टरको सहारा ।३।

को तुच्छ मान्छ मतदान र सम्बिधान ?
जो माग्छ सीट असि, टन्न बसेर खान ।

कस्ले भन्यो सुरुमहाँ मतदान च्वाँक ?
हार्ने भएपछि उही त निकाल्छ झ्वाँक ।४।

सोझा भनेर चिनिने जन अाज को हुन् ?
यो देशका मत दिने जनता जनार्दन ।

Standard
Literature

बाेकाकाे दाइँ

दाईँ गर्नुछ गोरु छैन घरमा बोकाहरू मात्र छन्,
उग्राएर बसी मुतेर सबले बर्बाद झन् पार्दछन् ।
बोकाबाट गरेर आस यसरी बस्नै यहाँ सर्म भो,
बाख्रीका पछि लाग्नु मात्र यसको सारै ठुलो धर्म हो ।।

गाई दूध दिने बडा गजबको श्री कामधेनू थियो,
दिन्थ्यो दूध सदैव एकगतिले मन्ले चिताए पुग्यो ।
मीठो दूध र भातले कि किन हो खाने सबै मात्तिए,
बोकाका मुखमा अटेन कि कसो खान्दानले पात्तिए ।।

आफ्नै दाजु र भाइ खूब झगडा गाई कुटी गर्दछन्,
हेर्चाहा छ कता कता त डुँडको घाँसै समेत् चोर्दछन् ।
कल्चौँडो छ प्रयोजनै सब मिली बेजोडले तान्दछन्,
गाई हान्न समर्थ छैन सिंगले भन्ने कुरा जान्दछन् ।।

बाछो स्वस्थ शरीर सुन्दर थियो मारे यिनै दुष्टले,
बाछो मैहुँ भनेर तान्न मुखले थाले यिनै दुष्टले ।
हल्सारो बिचरा कठै पशु न हो के बोल्न सक्थ्यो बरा,
खाली पेट लिएर आज कसरी फूँ गर्न सक्थ्यो बरा ।।

भाले बास्छ कुयाममा प्रकृतिको निद्रा बिथोल्ने गरी,
होसै गुम्दछ मध्य रात बिचमा भूकम्प आए सरी ।
भाले यो घरको अजङ्ग कहिल्यै काटेर काटिन्न है,
मापाको छ कतै लगेर पनि यो साटेर साटिन्न है ।।

अर्को पीरछ साँधमा जखमले तल्लाघरे बस्दछ ,
रातारात स्वयं लुकेर उसले आली उँभो कस्दछ ।
आफू मात्र गई भन्यो कि त त्यहाँ डाँका ठुला गर्दछ ,
राखी पञ्च कुरा गर्याे यदि भने अाफैं गयल पर्दछ ।

पाखा खेत जहाँ छ सानु घरको बारी त्यहीं पर्दछ
बर्सेनी नपुगेर खान यतिले बेसाउनै पर्दछ ।
साहूले पनि दिन्छ एकदिन ता घर्खेत मिल्ला भनी,
भाका नाघ्छ जसै खुरुक्क त्यसले सम्पूर्ण लेला पनि ।।

बस्नै यो घर भत्किएर अहिले सप्पै भताभुङ्ग भो,
आफ्नाे घर्व्यवहार आज सहसा जम्मै लथालिङ्ग भो ।
बाजेले कति दुःखले श्रम गरी आर्जे म बेचूँ भने,
थामी खान बडा कठिन् हुनगयो साँच्चै नबेचूँ भने ।।

साथी हो म त पीरमा छु अहिले घर्बार यो लान्छ कि !
कोही छैन सघाउने हृदयले अस्तित्व नै जान्छ कि !
केही गर्नुछ लौ यही समय हो आऊ बचाऊ घर,
मेरा निम्ति तिमी सर्याै अघि भने बच्नेछ तिम्रो घर ।।

Standard
Literature

मेरो राजिनामा

 

आँखा स्वस्थ र स्वच्छ छन् तर यहाँ देख्नै नसक्ने भएँ,

हो यो सत्य भनेर तथ्य घटना लेख्नै नसक्ने भएँ ।

नाङ्गो देश छ लाज आज सजिलै ढाक्नै नसक्ने भएँ,

मीठो हैन सिधो पिठो पनि यहाँ चाख्नै नसक्ने भएँ ।।

केही काम लिई कतै पनि म ता धाउनै नसक्ने भएँ,

कुर्सी घुम्दछ आँ गरी फनफनी ख्वाउनै नसक्ने भएँ ।

अर्कालाई तिरेर अन्न घरमा हुल्नै नसक्ने भएँ,

गोजी शून्य छ साहुका नजिकमा डुल्नै नसक्ने भएँ ।।

खाऊँ दिन्भरिको सिकार तर यो खानै नसक्ने भएँ,

जाऊँ मन्दिर जान्छ देह मन ता लानै नसक्ने भएँ ।

आशा बन्धनभित्र राख्नु कसरी थाम्नै नसक्ने भएँ,

आफ्नै बान्धवको मुटू पनि यहाँ छाम्नै नसक्ने भएँ ।।

को ज्ञानी शठ को भनी सहजले बुझ्नै नसक्ने भएँ,

बाछो सानु म साँडका अघिसरी जुध्नै नसक्ने भएँ ।

अन्धाका पछि दौडँदै म त्यहाँ पुग्नै नसक्ने भएँ,

गोठालो हुँ तथापि गोठ कहिल्यै रुङ्नै नसक्ने भएँ ।।

उत्तर्दक्षिण पूर्व पश्चिम कतै भिड्नै नसक्ने भएँ,

माटाको महिमा बुझ्यो कि कसले चिन्नै नसक्ने भएँ ।

निस्वार्थी अनि स्वच्छ छन् कि त कुनै, जान्नै नसक्ने भएँ,

आफ्नै हार्दिक मित्रलाई पनि ता छान्नै नसक्ने भएँ ।।

स्वप्नामा पनि कानले शुभ कुरा सुन्नै नसक्ने भएँ,

आफ्नै रक्त गनाउदोछ अरुता सुँघ्नै नसक्ने भएँ ।

उस्बेला बरु बोल्दथें अब त झन् बोल्नै नसक्ने भएँ,

निस्फिक्री मनका व्यथा त कहिल्यै खोल्नै नसक्ने भएँ ।।

सत्तामा अरु मित्र नै किन नहुन् हेर्नै नसक्ने भएँ,

सत्ता चुम्बक नै रहेछ कि कसो छुट्नै नसक्ने भएँ ।

अर्काका शिरको लिखा र त्यसको खुट्टा म देख्ने भएँ,

आफूभित्र अजङ्गका जखमले भैंसी नदेख्ने भएँ ।।

बोक्रे राष्ट्रियता सुगा रटनमा घोक्नै नसक्ने भएँ,

मेरा आत्मविरोधका स्वरहरू रोक्नै नसक्ने भएँ ।

मैले मात्र विदेशका ऋण सबै बोक्नै नसक्ने भएँ,

देशै शून्य गरी विदेसिइसके छेक्नै नसक्ने भएँ ।।

त्रासैत्रास भएर पीर मनको पोख्नै नसक्ने भएँ,

आफ्नै रक्षकलाई भित्र मनले जोख्नै नसक्ने भएँ ।

मेरा शैल हिमाल स्वच्छ कहिल्यै राख्नै नसक्ने भएँ,

किं कर्तव्य छु गुप्त अङ्ग अब ता ढाक्नै नसक्ने भएँ ।।

साँडे छन् अनगिन्ति, झन् गडगडी रोक्नै नसक्ने भएँ ,

बाछी एक कठै ! बलात्कृत हुँदा छेक्नै नसक्ने भएँ ।

आँखा हेर्नु सिबाय क्यै अरु कुरा गर्नै नसक्ने भएँ,

यै चालासित तड्पिएर सजिलै मर्नै नसक्ने भएँ ।।

Standard
Literature

के इलामे म हैन र ?

बर्बोटेभित्रको गाऊँ तोरिबारी प्रसिद्ध छ,

त्यहीं नै जन्मिएँ हुर्कें के इलामे म हैन र ?

रामकान्त त्यहीं जन्मे डिल्लिराम पनि त्यहीं,

पिता राम त्यहींका हुन् के इलामे म हैन र ?

मैले पढें चुरेघाँटी टीकाराम थिए गुरु,

त्य जान्ने थोर छन् आज के इलामे म हैन र ?

काशीनाथ र गायत्री जान्दथे गुरु नारद,

परंधाम पुगेका छन् के इलामे म हैन र ?

मलाई चिन्दछन् वृक्ष खोला नाला सबै तर,

नचिन्दा व्यक्तिले आज के इलामे म हैन र ?

सारा जङ्गल बक्नेथ्यो इलामे हो भनीकन,

काटिए बेचिए देख्ने के इलामे म हैन र ?

चिर्बिच्र्यार्र गरी बोल्ने गौंथली प्रस्ट चिन्दथे

सन्तान मासियो तिन्को के इलामे म हैन र ?

झुप्रामा जन्म भो मेरो त्यहीं नै म बढें पनि,

ठुला महलका मात्र इलामे हुन् ? म हैन र ?

थिएँ भर्खरको लक्का जवान मत्यहाँ छँदा,

वसन्त सत्तरी काटें के इलामे म हैन र ?

घ्वाँईं डन्डिबियो खेल्ने गोरेटा धुलितस्थल,

पिचले थिचिएका छन् के इलामे म हैन र ?

ऐंसेलू क्यामुनू चुथ्रो मेरा बाल्य सखा सब,

कहाँ गए भेतिदैनन् के इलामे म हैन र ?

बिहेमा बज्दथ्यो पन्चैबाजा रन्की यतस्तत,

अहिले डर्रड्रं हुन्छ के इलामे म हैन र ?

पूजाआजा हुँदा जम्थ्यो लोकगीत र बालुन,

रिमिक्स् भा’छन् सबै आज के इलामे म हैन र ?

श्रुतिस्मृति यही भन्छ वसुधैव कुटुम्बकम्

झापामै वास मेरो छ के इलामे म हैन र ?

इलामे लाममा नाम लेखिएन भने पनि

आमा इलाम हुन् मेरी के इलामे म हैन र ?

०००

Standard