हे हे सांसद हो गरीव जनता झुक्याइ ढाँट्छौ किन ?
मागी भोट जितेपछि प्रभु बनी सर्लक्क छाड्छौ किन ?
ज्यादै धूर्त चरो तिमी नकचरो यो देश भाँड्छौ किन,
भ्रष्टाचार अचार भुल्न नसकी त्यो र्याल काढ्छौ किन ?
मन्त्री जङ्गलको बनेपछि स्वयं आरक्ष फाँड्छौ किन ?
कुम्ल्याई बनको अकूत धन यी निर्दोष डाँड्छौ किन ?
आफैं रक्षक हौ भने स्वजनको नै शीर काट्छौ किन ?
बाचाबन्धन अस्तिको सब भूली त्यो थूक चाट्छौ किन ?
भन्छौ शान्ति म दिन्छु मात्र मुखले क्षेप्यास्त्र हान्छौ किन ?
खोटो द्रव्य मुठ्याउदै बस परी यो देश खान्छौ किन ?
मद्योन्मत्त र स्वार्थका बस परी अस्तित्व गाड्छौ किन ?
यो नेपाल बपौति हैन टुकुरा पारेर बाँड्छौ किन ?
नेपाली पहिचान अर्थ नबुझी यो झेल खेल्छौ किन ?
त्यागी वस्त्र घरेलु झट्ट परदेशी वस्त्र फेर्छौ किन ?
हाम्रो देश सखाप पार्न सबले इच्छा गर्या हो ? भन
साच्चै नै यदि हो भने अब छिटै जल्नेछ है जीवन ।।
प्यारो थियो सुन्दर बाल्यकाल ।
इलाम मेरो घर तोरिबारी,
सुरम्य चारैतिर बाँसघारी ।
(घेरेर बस्छन् जहिल्यै पहाड,)
वसन्तमा कोकिलको कमाल,
प्यारो थियो सुन्दर बाल्यकाल ।
म भन्दथें छैन पिता समान-
बलिष्ठ अग्लो र सुरो जवान ।
आएन कैल्यै झुट, छद्म जाल,
प्यारो थियो सुन्दर बाल्यकाल ।
गुच्चा तथा डन्डिबियो र घ्वाइँ
खेल्थ्यें सुरेली म खुबै रमाई ।
पठाउँथ्यो शीतलता हिमाल,
प्यारो थियो सुन्दर बाल्यकाल ।
लाग्थ्यो मलाई सम लोष्ठ-स्वर्ण,
हुन्थें म आना जतिमा प्रसन्न ।
कुडिन्नथ्यो यो मन-सत्तिसाल,
प्यारो थियो सुन्दर बाल्यकाल ।
रुन्थें म, तत्काल खितित्त हाँस्थें,
टाँकी तथा गोगन घाँस छ्याँस्थें ।
खान्थें मीठो ओलन, भात-दाल,
प्यारो थियो सुन्दर बाल्यकाल ।
म बाल-नेता, तर स्वार्थ लेश,
एकै थियो बाहिर-भित्र वेश ।
संझन्छु, यो चित्त थियो विशाल,
प्यारो थियो सुन्दर बाल्यकाल ।