Literature

गुरुकुल शिक्षा ः अाजकाे अावश्यकता

गुरुकुल शिक्षाः आजको आवश्यकता

 

१. गुरुको परिचय

 

गुरु पूर्वको एउटा अनन्त एवं महत्त्वपूर्ण खोज हो भने गुरु-शिष्य परम्परा पूर्वको पहिचान हो । यस अनुलोम परम्परालार्इ पूर्वले नियमित, प्राकृतिक तथा सुल्टो परम्पराका रूपमा लिएको छ । यसले गुरुको महत्त्व राम्ररी बुझेको छ, गुरुको गरिमा र आयामको यथातथ्य पहिचान गरेको छ । यति मात्र होइन पूर्वका लागि गुरु सर्वव्यापक हो । यो परम्परा खोलो धाउँने परम्परा नभएर तिर्खा धाउँने परम्परा हो, अर्थात् यस परम्परामा शिष्य गुरुका समीपमा जान्छ र इच्छानुसार आफ्नो ज्ञानको तिर्खा मेटाउँछ । गुरुका बारेमा पूर्व के भन्छ हेरौं –

गु शब्दस्त्वन्धकारश्च रु शब्दस्तन्निवारकः

अन्धकार निरोधत्वात् गुरुरित्यभिधीयते

गुरुर्ब्रह्मा गुरर्विष्णुः गुरुर्देवो महेश्वरः,

गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।

अर्थात् गुरु सच्चा ज्ञानको आविष्कारक र त्यसको संरक्षक हो भने अज्ञानको संहारक पनि हो । समग्रमा गुरु यस जगत्को सिष्टकर्ता, पालनकर्ता, संहारकर्ता सर्वशक्तिमान् परब्रह्म परमात्मा हो ।  गुरुका बारेमा गोस्वामी तुलसीदासको भनाइ यसप्रकार रहेको छ –

गुर बिनु भवनिधि तरइ न कोई ।

जों बिरंचि संकर सम होई ।। (राम चरितमानस) ।

अर्थात् कुनै व्यक्ति ब्रह्मा, शंकर समान नै किन नहोस् गुरुबिना ऊ भवसागर पार तर्न सक्दैन ।

बंदउँ गुरु पद कंज कृपा सिंधु नररूप हरि ।

महामोह तम पुंज जासु बचन रबि कर निकर (राम चरितमानस)

अर्थात् म ती गुरु महाराजका चरणकमलको वन्दना गर्दछु, जो कृपाका सिन्धु तथा नर रूपमा श्रीहरि नै हुनुहन्छ र जसको वचन महामोहरूपी अन्धकारलार्इ नाश गर्ने सूर्यको प्रकाश हो ।

अर्का सन्त कविरको विचार –

तीरथ गए तो एक फल, संत मिले फल चार ।

सद्गुरु मिले तो अनन्त फल, कहे कबीर विचार ।

अर्थात् तीर्थ जाँदा एक फल प्राप्त हुन्छ भने सन्त समागमबाट चार गुणा फल प्रप्त हुन्छ र अझ सद्गुरुको सान्निध्यबाट त झन् अनन्त फल प्राप्त हुन्छ ।

श्रीमद्भगवद्गीताको उद्घोष –

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।

अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच: । (गीता १८/६६

अर्थात् सबै साधनहरूलार्इ छोडेर केवल नारायण स्वरूप गुरुको शरणागत हुनुपर्दछ । उहाँले नै सबै पाप नाश गरिदिनुहुन्छ । यसमा शोक गर्ने काम छैन ।

जनिता चोपनेता च यस्तु विद्यां प्रयच्छति

अन्नदाता भयत्राता पञ्चैते पितरः स्मृताः ( चाणक्य नीति) ।

अर्तात् जन्मदाता, उपनयनकर्ता, विद्यादाता, अन्नदाता र भयत्राता यी पाँच पिता मानिन्छन् । यसरी हेर्दा गुरु र पितामा अलिकति पनि फरक छैन ।  नीति भन्छ –

विद्या ददाति विनयं विनयाद्याति पात्रताम्

पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मं ततः सुखम् (चाणक्य नीति) ।

 

एकमेवाक्षरं यस्तु गुरुः शिष्यं प्रबोधयेत्

पृथिव्यां नास्ति तद्द्रव्यं यद्दत्वा चानृणीभवेत् -अत्रिसम्हिता_

यसरी वास्तवमा गुरु पूर्वको अटल सम्पत्तिका रूपमा रहेको देखिन्छ भने पश्चिमलार्इ गुरुको नाम र महत्त्व मात्र होइन ठेगाना पनि थाहा छैन । पश्चिमले कहिल्यै जानेन गुरुको आयाम । पश्चिमको शब्द कोशमा शिक्षक-विद्यार्थी (Teacher-student) मात्र रहेको देखिन्छ, त्यसैले पश्चिमाहरू शिक्षक र विद्यार्थीका बारेमा मात्र राम्ररी बताउन सक्छन् । उनीहरूलार्इ गुरु-शिष्यको ज्ञान अलिकति पनि नभएकाले अहिलेसम्म उनीहरू यस रसबाट सर्वथा वञ्चित रहेका छन् । वर्तमान समयमा विश्वभर पश्चिमबाट अयातीत अधुनिक शिक्षा प्रणालीको वर्चस्व रहेको हुनाले पूर्वकाहरू पनि सोही लहैलहैमा लागेर गुरुशिष्य परम्पराबाट ओझेल पर्न थालेका छन् । वर्तमान शिक्षा प्रणाली प्रतिलोम शिक्षा प्रणाली भएको हुनाले यस प्रणालीमा शिक्षक शिक्षार्थीको अनुगामी हुन्छ । शिक्षार्थी जहाँ छ त्यहाँ गएर शिक्षकले शिक्षा दिनुपर्छ । त्यसैले पूर्वका लागि यो परम्परा अप्राकृतिक र उल्टो हो । वास्तवमा शिक्षाको आशय ज्ञान हो भने ज्ञानका आकांक्षी शिक्षार्थी हुन् र सो आकांक्षा शिक्षकले पुरा गराउँछन् । प्राचीन शिक्षा प्रणालीलामा गुरुले ज्ञान प्रदान गरेको देखिन्छ भने अहिले गुरुको स्थान शिक्षकले लिएको छ । गुरु र शिक्षकमा भिन्नता रहेको छ । त्यसबेला गुरुका लागि शिक्षण पेसा नभएर आनन्द थियो, सुख थियो । शिक्षकले अतीतबाट प्राप्त सूचना वा जानकारीलाई अघि बढाएको पाइन्छ भने गुरुले ज्ञान प्रदान गरेको देखिन्छ ।

२. गुरुकुलको परिचय

घरमा नबसी गुरूका अधीनमा रहेर ब्रह्मचर्यपूर्वक त्याग एवं तपस्यायुक्त जीवन यापन गर्दै विद्या आर्जन गर्नु परम्परागत गुरूकुल शिक्षा प्रणालीको प्रमुख उद्देश्य हो । यस प्रणालीमा मूलतः तीन तत्त्व पाइन्छन् । तिनमा गुरु र शिष्यको आत्मिक सम्बन्ध, सत्य, तप, दम, शम आदि साधनहरूद्वारा दृढ चरित्र निर्माण तथा स्वाध्याय अर्थात् अपरा विद्या प्राप्ति । यसका लागि ६ वर्षको उमेरमा गुरूकुलमा प्रवेश गरिन्छ । कुनै कुनै गुरूकुलमा सो उमेर भन्दा बढी उमेरकाले पनि प्रवेश पाउने गरेको देखिन्छ ।  प्राचीन कालमा आठ वर्षमा उपनयन संस्कार सम्पन्न भएपछि गुरुको सान्निध्यमा रहेर विद्या अध्ययन गर्नुपर्ने प्रावधान थियो ।  अहिले पनि गुरूकुल शिक्षाले दिने अर्थ यही नै हो ।  त्यतिबेला विद्यार्थीले २५ वर्ष नपुग्दासम्म गुरूको साथमा बसेर विद्या अध्ययन गर्नुपर्थ्यो ।   पूर्ण ब्रह्मचर्यमा रहेर विद्या अध्ययन गर्नुपर्ने भएकाले यसलार्इ ब्रह्मचर्याश्रम पनि भनिन्थ्यो ।  प्राचीन गुरूकुलहरूमा वेद, दर्शन, उपनिषद्, व्याकरण आदि आर्ष ग्रन्थ पढ़ाउनुका साथसाथ गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, सामाजिक विज्ञान, चिकित्सा, भूगोल, खगोल, अन्तरिक्ष , गृह निर्माण, शिल्प, कला, संगीत, तकनीकी, राजनीति, अर्थशास्त्र, न्याय, विमान विद्या, युद्ध-आयुध निर्माण, योग, यज्ञ एवं कृषि इत्यादि मनुष्यका भौतिक तथा आध्यात्मिक उन्नतिका लागि आवश्यक पर्ने सबै विषय अध्यापन गराइन्थ्यो । कृष्णले गुरुकुलमै चैसठ्ठी कलासम्बन्धी विद्याध्ययन गरेको कुराबाट यसको पुष्टि हुन्छ ।

प्राचीन गुरूकुलमा  पढ़ाइको समय तालिका सूर्योदयदेखि लिएर सूर्यास्तसम्म हुन्थ्यो । सूर्यास्तको समयपछि शिक्षार्थीहरू संध्या, अग्निहोत्र आदि कार्य सम्पन्न गरी रात्रिको भोजनपश्चात् विश्राम गर्थे । केवल दुर्इ पटक मात्र भोजन हुन्थ्यो । किनभने मान्छेको दीर्घायुका लागि दुर्इ पटक भोजन गर्नु समीचीन ठहर्छ । उपर्युक्त अनुसार गर्नु गराउनु पर्ने कुरालार्इ मनन गरेर  आजका गुरुकुलले आध्यात्मिक आदर्शको कोशेढुङ्गा बन्न सक्नु पर्छ । यही नै आजको आवश्यकता हो ।

३. गुरुकुलको उद्देश्य

प्रत्येक व्यक्तिको जीवनको उद्देष्य वैदिक साहित्य, पुराण, ब्रह्मसूत्र, गीता, उपनिषद् जस्ता पूर्वीय वाङ्मयको अध्ययन मनन तथा सन्ध्यावन्दन, यज्ञयागादिको अनुशीलन, मातापिता, गुरूजन, बृद्ध व्यक्तित्वको सेवा साथै जीवजन्तु, पशुपक्षी, एवं बोटबिरूवाप्रति आत्मिक मैत्रीभावबाट मात्र प्राप्त हुन सक्छ ।  यस प्रकारको उद्देश्य प्राप्ति गुरूकुलीय शिक्षाबाट मात्र सम्भव छ । यसका साथसाथै गुरुकुलमा अध्ययन अध्यापन गर्ने आचार्य र विद्यार्थीहरूले योगाभ्यासद्वारा र्इश्वरको सक्षात्कार गरेर भौतिक पदार्थबाट पाउन नसकिने आनन्द प्राप्त गर्न सक्नु पर्दछ । सर्वव्यापक एवं आनन्दस्वरूप र्इश्वरको प्राप्ति गुरुकुलीय शिक्षाबाट नै सम्भव छ भन्ने कुरा गाउँले सर्बसाधारण समेतमा पुर्याउनु पनि यस शिक्षाको एउटा उद्देश्य हो । गुरुकुलमा संस्कृत अथवा नेपाली भाषाका माध्यमबाट अध्यात्म, वैदिक साहित्य, उपनिषद्, पैराणिक साहित्य जस्ता विषयहरू अध्ययन अध्यापन हुनु नितान्त आवष्यक छ । यस प्रणालीमा गुरुकुलीय शिक्षाका साथसाथ आधुनिक शिक्षा पनि दिन सकिने हुँदा यसको उद्देश्य पवित्र, गहन, व्यापक एवं सर्वतोमुखी हुनु अत्यावश्यक देखिन्छ । यस शिक्षाका केही प्रमुख उद्देश्यहरू –

  • गुरु-शिष्यका बिच पिता-पुत्रको सम्बन्ध हुन्छ भन्ने परम्परागत नैतिक अदर्शलार्इ पुनस्थापित गर्नु ।
  • बालकको शारीरिक, मानसिक तथा आध्यात्मिक विकास गर्नु ।
  • विद्यार्थीहरूको चरित्र विकास गर्नुका साथै प्राचीन पूर्वीय संस्कृतिप्रति अस्था जगाउनु ।
  • वैदिक तथा संस्कृत साहित्यलार्इ शिक्षामा उपयुक्त स्थान दिलाउनु ।
  • प्राचीन पूर्वीय ज्ञानविज्ञान एवम् अधुनिक ज्ञानविज्ञानको समन्वय स्थापित गर्नु, गराउनु ।
  • पूर्वीय अध्यात्म दर्शन, विज्ञान, इतिहास जस्ता विषयमा शोध गर्नु, गराउनु ।

४. गुरुकुलको तिहासिकता

भारतवर्षको प्राचीन इतिहासमा गुरुकुलको ज्यादै ठूलो महत्त्व थियो । त्यसबेला प्रसिद्ध आचार्यद्वारा सञ्चालित गुरुकुलमा अध्ययन गरेका शिक्षार्थीले ठुलो सम्मान पाउँथे । रामले महर्षि विश्वामित्र एवं वशिष्ठद्वारा सञ्चालित गुरुकुलमा अध्ययन गरेको देखिन्छ भने कृष्णले सान्दीपनि गुरुका गुरुकुलमा अध्ययन गरेको पाइन्छ । त्यसैगरी पाण्डवले ऋषि द्रोणाचार्य गुरुका गुरुकुलमा अध्ययन गरेको कुरा संस्कृत साहित्यको इतिहासबाट स्पष्ट हुन्छ । गुरुकुलमा अध्ययन गरेका राम, कृष्ण र पाण्डव जस्ता अध्येताहरूले कति सम्मान पाएका थिए भन्ने कुराको लेखाजोखा गर्न सकिदैन ।

भारतवर्षको प्राचीन इतिहास हेर्दा त्यस बखत तिन प्रकारका शिक्षण संस्था रहेको पाइन्छ, जस्तै-  गुरुकुल, परिषद् र तपस्थली । गुरुका आश्रममा गुरुका साथ रहेर अध्ययन गर्ने संस्थालार्इ गुरुकुल भन्ने गरेको पाइन्छ भने विषय विशेषज्ञद्वारा दीक्षा दिने संस्थालार्इ परिषद् भन्ने गरेको पाइन्छ । त्यसैगरी सभा सम्मेलनमा प्रवचनद्वारा ज्ञान प्राप्त गर्ने स्थानलार्इ तपस्थली भन्ने गरेको देखिन्छ । उदाहरणका लागि प्राचीन नैमिसारण्यलार्इ तपस्थलीका रूपमा लिन सकिन्छ ।

प्राचीन कालको गुरूकुलीय शिक्षा सर्वथा निःशुल्क थियो । गुरुकुलको खर्च गाउँलेको दान र सरकारी अनुदानबाट चल्थ्यो । गुरूकुलीय शिक्षाको व्यवस्था गाउँदेखि टाढा जङ्गलमा गरिन्थ्यो । त्यसबेला छात्र र छात्रा दुबैका लागि  गुरूकुलीय शिक्षा दिने गरेको पाइन्छ । तर छात्र र छात्रा अध्ययन गर्ने गुरूकुलको दूरी लगभग १२ कोस हुनेगरको देखिन्छ । गुरूकुलहरूमा शिक्षाको माध्यम संस्कृत नै रहेको पाइन्छ भन्ने कुरा तलको उद्धरणबाट थाहा पाउन सकिन्छ –

संस्कृतम् देवभाषास्ति वेदभाषास्ति संस्कृतम् ।

प्राचीन ज्ञानभाषा च संस्कृतं भद्रमण्डनम् ।

(अर्थात् संस्कृत देवताको भाषा हो, संस्कृत वेदको भाषा हो, यो प्राचीन ज्ञानको भाषा पनि हो र यसले  भाग्यलार्इ सिंगार्दछ ) ।

पौराणिक कालभन्दा धेरैपछि गुरुकुलीय शिक्षाले विश्वविद्यालय तहसम्म फड्को मारेको देखिन्छ । यसै क्रममा प्रचीन भारतवर्षमा नालंदा विश्वविद्यालय, तक्षशिला विश्वविद्यालय, वल्लभीपुर आदि प्रसिद्ध गुरूकुल संस्थाको स्थापना भएको देखिन्छ भने आधुनिक कालमा सर्वप्रथम हरिद्वारको  कांगड़ी नामक गाउँमा सन् १९०२ मा गुरूकुल कांगडी विश्वविद्यालयको स्थापना स्वामी श्रद्धानन्द सरस्वतीले गरेको देखिन्छ । हाम्रो देश नेपालमा पनि केही स्थानमा गुरूकुल शिक्षा सञ्चालित छन् । यस प्रणालीको विकास, विस्तार र पुनःस्थापना गर्नु वर्तमान समयको आवश्यकता हो । यसबाट मात्र राष्ट्रको गुमेको अध्यात्म, संस्कृति र परम्परागत गरिमा पुनः प्राप्त हुन सक्छ ।

५. नेपालमा गुरुकुल शिक्षा

प्राचीन कालमा गुरुकुलको जुन किसिमको स्वरूप थियो नेपालका गेरुकरलहरूमा पनि त्यही किसिमको स्वरूप रहेको पाइन्छ । खासगरी भारतवर्ष (उत्तरमा हिमालयदेखि शृङ्खलादेखि खक्षिणमा कन्याकुमारीसम्म र पूर्वमा बङ्गालको खाडीदेखि पश्चिममा अरब सागरसम्म) को गुरुकुल पद्धति दुइर्वटा परम्परामा रहेको पाइन्छ – शैव परम्परा र वैष्णव परम्परा । शैव परम्परामा शिवबाट पार्वतीले प्राप्त गरेका विद्या पर्दछन्, जसमध्ये व्याकरण, तन्त्रविद्या, सङ्गीत विद्या आदि प्रमुख छन् भने वैष्णव परम्परामा नारायणबाट ब्रह्मा → वशिष्ठ → शक्ति → परासर → व्यास → शुकदेव → गौडपाद → शङ्कराचार्य आदिका क्रमले विकसित भएको पाइन्छ । विशेष गरी नेपालका शिमशृङैखलालार्इ प्रचीन ऋषिमुनिको साधनास्थलका रूपमा लिइन्छ । व्यासको साधनाभूमि र याज्ञवल्क्यको साधनाभूमि नेपाल नै हो मन्ने मान्यता रहिआएको छ ।

५.१ लिच्छविकालीन गुरुकुल

लिच्छवि कालमा गुरुकुल शिक्षाको विकास राम्रोसँग भएको थियो भन्ने कुरा इतिहासले सिद्ध गरेको छ । त्यसबेलाको राजकीय भाषा संस्कृत थियो भएको कारणबाट पनि गुरुकुलको मान्यता कति थियो भन्ने कुरा हामी भन्न सदक्छौं । त्यसबेला वेद, व्याकरण, न्याय, साहित्य, दर्शन, व्योतिष जस्ता विषयहरू पठन पाठन हुने गरेको पाइन्छ । त्यसो भएर पनि लिच्छवि काललार्इ नेपालको इतिहासमा स्वर्णकाल मानिन्छ ।

५.२ मल्लकालीन गुरुकुल शिक्षा

लिच्छवि कालमा संस्कृत गुरुकुल मात्र सञ्चालित रहेको पाइन्छ भने मल्ल कालमा संस्कृतका साथै बोद्ध गुरुकुलको पनि स्थपना भएको देखिन्छ । साहित्य, कला, विज्ञान जस्ता विषयमा त्यसबेला लेखिएका ग्रन्थहरू अद्यावधि उपलब्ध छन् । लिच्छवि कालका तुलनामा यसबेला गुरुकुल शिक्षा केही कमजोर देखिन्छ ।

५.३ शाहवंशीय गुरुकुल शिक्षा

पृथ्वीनारायण शाहभन्दा अघिदेखि नेपालमा गुरुकुल परम्परा रहेको पाइन्छ । त्यसबेला गोर्खा, लमजुङ्, तनहु, कास्कीलगायत स्थानमा गुरुकुल रहेको देखिन्छ । पछि राणा शासन कालमा गुरुकुल शिक्षामा निकै ह्रास अयो । पछि देवसनशेरका पालामा केही सुधार भएके थियो ।

५.४ वर्तमान गुरुकुल शिक्षा

२००२ मा पद्मसमशेर प्रधानमन्त्री भएपछि कमजोर हुंदै गएको गुरुकुल शिक्षा पाचासको दशकदेखि क्रमश: कछुवा गतिमा अगाडि बढ्दै गएको छ । वर्तमान समयमा नेपाल सरकार शिक्षा मन्त्रालयले पनि गुरुकुल शिक्षालार्इ मूल प्रवाहमा ल्याएको छ । देवघाटमा रहेका गुरुकुलमा महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल, वेदवेदाङ्ग गुरुकुल निकै सम्पन्न देखिन्छन् । यिनिहरूको सञ्चालन व्यवस्था पनि उत्कृष्ट रहेको पाइनछ ।

झापामा तेइसवटाभन्दा बढी गुरुकुलहरू सञ्चालित रहेका पाइन्छन् । तिनमध्ये केही गुरुकुलरू –

  • वेदवेदाङ्ग संस्कृत पाठशाला, साधुटार
  • विवेकाश्रम साङ्गवेद संस्कृत मावि, चारपाने
  • अर्जुनधारा संस्कृत वेद विद्यापीठ अर्जुनधारा
  • कृष्णद्वैपायन गुरुकुल वेदविद्याश्रम, महेशपुर

५. गुरुकुलका विशेषता

    गुरुकुलमा अध्ययन गर्ने बालकहरू गुरुकुलका अङ्ग बन्दछन्, उनीहरू जन्म दिने अफ्ना मातापिताको सानो परिवारबाट आचारको शिक्षा दिने आचार्यको ठुलो परिवारको सदस्य बन्दछन् । उनीहरूलार्इ त्यहाँ तपस्यापूर्ण जीवनको अभ्यास गराइन्छ । बालकहरूले त्यहाँ निशुल्क शिक्षा प्राप्त गर्दछन् । त्यहाँ धनी-गरीव, उच-नीच, महिला-पुरुषको कुनै भेदभाव रहँदैन । यसरी सबैले शिक्षाको समान अवसर पाउनु पनि गुरुकुल शिक्षाको एउटा विशेषता हो ।

६. सनातन धर्म र गुरुकुल

झुल्कनु पूर्वमा सूर्य अस्ताउनु यथा क्रम,

शास्त्रले भनिआएको यही नै हो सनातन ।

सृष्टिको सुरुदेखिन् नै हावा बग्छ धमाधम,

अरुकै लागि यो बग्छ यही नै हो सनातन ।

नदीमा मिल्नु खोल्साले नदी सागर सङ्गम,

गूढार्थ जसले बुझ्छ बुझ्यो त्यस्ले सनातन ।

जसका दुधले हाम्रो हृष्टपुष्ट छ यो तन,

साक्षात् गौ, धरणी, माता नै हुन् हाम्रा सनातन ।

ब्रह्माण्ड सृष्टिको पूर्व निस्केको पहिलो स्वर,

प्रणवाक्षरलाई नै भन्छन् शुद्ध सनातन ।

पृथिवी जल आकाश वायु तेज मिलीकन,

हाम्रो देह बनेको छ, हुन् यी पाँच सनातन ।

सनातन धर्ममा जल, अग्नि, सूर्य, पृथ्वी, वायु आकाश, रुख, ढुंगा, माटो लगायतका प्रत्येक प्राकृतिक वस्तुहरूलाई देवताको रूपमा पूजा गर्ने परम्परा छ । प्रत्येक वस्तुमा देवताको वास हुन्छ भन्ने मान्यता अनुसार प्रकृतिका हरेक अंगको पूजा गर्दै तिनको समुचित प्रयोग गर्न जोड दिइएको छ । शुक्ल यजुर्वेदको ३६ र १७ मा रहेको यस ऋचामा सनातन धर्ममा प्रकृतिको महत्वबारे यसरी बताइएको छ – द्यौः शान्तिः अन्तरिक्षम् शान्तिः पृथ्वी शान्तिः आपः शान्तिः ओषधयः शान्तिः वनस्पतयः शान्ति विश्वेदेवाः शान्तिः ब्रह्म शान्तिः सर्वम् शान्तिः शान्तिरेव शान्तिः सामाशान्तिरेधि – अर्थात् आकाश, अन्तरिक्ष,  पृथ्वी,  जल, औषधी, वनस्पति, विश्वेदेव, ब्रह्मरूप ईश्वर लगायत सबैमा शान्ति होस् र सबैतिर भएको शान्ति मेरो लागि पनि होस् । यसरी हेर्दा कति विशाल र उदार देखिन्छ हाम्रो सनातन धर्म । आज मानिसकै कारणले गर्दा जलका भण्डार, बोटविरुवा आकाश पाताल सम्पूर्ण प्राकृतिक वस्तुहरू दूषित बन्न पुगेका छन् तिनमा अशान्ति छाएको छ । यसको परिणाम देखिन थालिसकेको छ । जलका स्रोतमा फोहोर गर्नु हुँदैन बिनाकारण रुख विरुवा काट्नु हुँदैन भन्ने मान्यताले गर्दा प्रकृतिको संरक्षण भएको थियो ।

तर हिजोआज विज्ञानको नाममा प्रकृति केही होइन, हामीले जतिसक्दो उपयोग र उपभोग गर्नुपर्छ भन्ने मान्यताले गर्दा तिनको दयनीय अवस्था बनेको देखिन्छ । जलका देवता वरुण, आगोका देवता अग्नि औषधिका देवता सोम लगायतका देवतत्व देख्ने परम्पराले प्रकृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको थियो । प्रकृति पूजा गर्दै तिनीहरूको समुचित प्रयोगबाट वैदिक ग्रन्थमा मानिसको आयुलाई सय बर्षसम्म बाँच्न प्रेरित गरेको छ । धर्मग्रन्थहरूमा पनि बोटविरुवा नैं मानव जीवनको मूल आधार भएको बताइएको छ ।

वैदिक ग्रन्थमा बोटविरुवाले ढाकिएका स्थानको प्रशंसा गर्दै तिनले मानवको रक्षा गरुन् भन्ने प्रार्थना गरिएको पाइन्छ । वृक्षारोपणको महिमा भविष्यपुराण, स्कन्दपुराण, रामायण, महाभारत आदि ग्रन्थमा पनि पाइन्छ । वैदिक धर्ममा वृक्षारोपणलाई लौकिक धर्मको रूपमा प्रसंशा गरिएको छ । बिनाकाममा रुख विरुवाका हाँगा पात आदि भाँच्ने, काट्ने, लुछ्ने आदि कार्यलाई सनातन धर्मले निषेध गरेको छ । यतिमात्र होइन कतिपय बोटविरुवाहरूलाई त देवी देवताको अवतारको रूपमै पूजा गर्ने गरिन्छ ।

कतिपय बोटविरुवाहरू धार्मिक कार्यमा नभई हुदैनन् । कतिपय बोट विरुवाहरू देवी देवता पितृलाई चढाउन प्रयोग हुन्छ । कति वनस्पतिका फल र फूल धार्मिक अनुष्ठानहरूमा भोजनको रूपमा प्रयोग नगरी हुँदैन । यिनीहरूको अनिवार्यताले मानिसको स्वास्थ्य रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । हाम्रो संस्कृतिमा प्रकृतिको मात्र होइन तिनमा आश्रित ठूलादेखि साना जीवहरूको सुरक्षा गर्न प्रेरित गरेका छन् । सर्प, नागदेखि लिएर गाई जस्ता प्राणीहरूको सम्मानले प्रकृतिको सन्तुलनलाई कायम राख्न मद्दत गर्दथ्यो ।

तर हिजोआज प्रकृतिमाथि धावा बोल्ने कार्यले गर्दा मानव अस्तित्व नै खतरामा पर्न थालेको सन्दर्भमा अन्य जीवहरूप्रति उदार बन्ने कसले? हजारौं वर्षसम्म स्वच्छ रहेको भूमण्डलको वातावरण विगत एक सय वर्ष यता तीव्र विनाश हुँदै गइरहेको छ । यसको कारण खोज्ने हो भने भौतिक उन्नतिको एकोहोरो सोच र भौतिक सुविधा भोग्ने प्रतिस्पर्धा नै हो । यस किसिमको प्रतिस्पर्धाले सम्पूर्ण भूमण्डललाई दूषित पार्ने कस्तो अकल्याणकारी परिणाम ल्याउँदो रहेछ भन्ने सबैले बुझेकै तथ्य हो । भौतिक विकासले पानीका स्रोतमात्र दुषित भएका छैनन्, हामीलाई प्रत्येक पल आवश्यक पर्ने हावा पनि दुषित भएको छ । सूर्यका हानिकारक किरणलाई छेक्ने ओजोन तहको प्वाल दिनानुदिन बढ्दो छ । भौतिक विकासका कारण अत्यधिक रूपमा प्रदूषित विश्वलार्इ धर्मो रक्षति रक्षितः, वेदोSखिलो धर्ममूलम्, द्यौः शान्तिः, वसुधैव कुटुम्बकम् जस्ता वैदिक उद्घोषलार्इ केन्द्रविन्दुमा राखेर शिक्षा दिने स्थान गुरुकुल नै भएको हुनाले गुरुकुल शिक्षा र सनातन धर्म एक सिक्काका दुर्इ पाटा हुन् भन्दा अतिशयोक्ति नहोला ।

७. उपनिषद्, नैतिक शिक्षा र गुरुकुल

उपनिषद् शब्द उप+नि पूर्वक सद् धातुबाट क्विप् प्रत्यय लागेर बनेको हो । अर्थात् उप+नि+सद्+क्विप् = उपनिषद् । यस व्युत्पत्ति अनुसारको अर्थ हुन्छ – सम्पूर्ण अनर्थलार्इ पैदा गर्ने सांसारिक क्रियाकलापलार्इ उपनिसदले नाश गर्छ, संसारको कारणस्वरूप अविद्यालार्इ शिथिल तुल्याउँछ वा समाप्त पार्दछ र ब्रह्मज्ञान प्राप्त गराउँछ । यसको अर्को व्युत्पत्ति यसप्रकार रहेको छ – उप समीपे ज्ञान प्राप्त्यर्थं निषीदति इति उपनिषद् (अर्थात् मुमुक्षु शिष्य अफ्ना गुरुका समीप ज्ञान प्रप्त गर्नका लागि बस्नु वा संलग्न हुनु) । यसरी हेर्दा उपनिषद् नै गुरुकुल र गुरुकुल नै उपनिषद् रहेको देखिन्छ । उपनिषद्ले दिने शिक्षाका केही उदाहरणहरू यसप्रकार छन् –

  • मा गृधः कस्यस्विद्धनम्

कसैको पनि धन प्राप्त गर्ने आसक्ति नगर  (र्इसावास्योपनिषद् मन्त्र १)।

  • सत्यं वद । धर्मं चर । स्वाध्यायान्मा प्रमद –

सदा सत्य बोलधर्मको आचरण गरस्वाध्यायबाट कहिल्यै विमुख नहोउ (तैत्तिरीयोपनिषद् अनुवाक् ११) ।

  • मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, अतिथिदेवो भव

मातालार्इ देवता मान, पितालार्इ देवता मान, गुरुलार्इ देवता मान, अतिथिलार्इ देवता मान (एैजन, ऐजन) ।

  • यानि अवद्यानि कर्माणि तानि सेवितव्यानि नो इतराणि

निर्दोष कर्म गर्ने गर, दोषयुक्त कर्म नगर (ऐजन, ऐजन) ।

  • विद्ययामृतमश्नुते

विद्याद्वारा अमृतको प्रप्ति हुन्छ (र्इसावास्योपनिषद् मन्त्र ११)

  • उत्तिष्ठत जाग्रत वरान्निबोधत

उठ, जाग र श्रेष्ठ वर पाएर परमात्मालार्इ जान (कठोपनिषद् वल्ली ३, मन्त्र   १४)

  • सह नाववतु सह नौ भुनक्तु सहवीर्यंकरवावहै । तेजस्विनावधीतमस्तु मा विद्विसावहै –

हे परमात्मा हामी दुबै गुरुशिष्यलार्इ एकै साथ रक्षा गर्नुहोस्, पालन गर्नुहोस् । हामी दुबैले एकैसाथ बल प्राप्त गरौं । हामी दुबैले अध्ययन गरेको विद्या तेजिलो होस् । हामीमा द्वेष नहोस् (कठोपनिषद् शान्ति पाठ)

  • सत्यमेव जयते नानृतम् –

सत्यको नै विजय हुन्छ असत्यको होइन (मुण्डकोपनिषद् तृतीय)

८. उपनिषद्बारे केही पाश्चात्य विद्वान्हरूको दृष्टिकोण

  • हामी पूर्वीय सभ्यताप्रति चिर ऋणी छौं किनकि उनीहरूले हामीलार्इ गणित सिकाए, त्यसका अभावमा कुनै सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन (महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन (थ्योरी अन रिलेटिभिटी अर्थात् सापेक्षतावादका आविष्कारक) ।
  • युरोपेलीहरुको उच्चतम् दर्शन पनि वेदान्तको तुलनामा एउटा निस्तेज फिलिङ्गो जस्तोमात्र देखिन्छ (जर्मनीका महान् विद्वान्, कवि तथा समालोचक स्लेगेल) ।
  • कुनै पनि मानवभाषामा विद्यमान सर्वाधिक उदात्त एवं म्भीरम एक मात्र गीत गीता नै हो (जर्मनीका दार्शनिक, प्रतिभाशाली भाषा वैज्ञानिक र स्रष्टा विलहेल्म भोन हुम्बोल्ट) ।
  • वेदमा आजसम्म लेखिएका कुराले अत्यन्तै बिशुद्ध रुपमा अनन्त सत्यलाई प्रस्तुत गर्दछन् । तिनै वेदले मलाई सर्वप्रथम भारत वर्ष पुर्याए । तिनैले मलाई त्यहा अड्याए र तिनले मलाई अझै तानिरहन्छन् (क्यानडाका प्रसिद्द् पत्रकार, समालोचक, उपन्यासकार तथा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पौल विलियम रोबर्ट्स्) ।
  • प्रत्येक बिहान म आफ्नो विचारशक्तिले भगवद्गीताको भव्य र विश्वोत्पत्ति विषयक ब्रह्माण्ड दर्शनमा स्नान गर्दछु । त्यतिखेर यसका तुलनामा आधुनिक जगत् र यसक साहित्य अत्यन्तै निरीह र तुच्छ लाग्दछन् । वेदको एउटा ऋचा पनि म्यास्याचुसेट्स राज्यभन्दा अनेकौं गुणा ठूलो हुन्छ (लेखक, समाजशास्त्री एवम् अध्यात्मवादी चिन्तक एवं दार्शनिक हेन्री डचाभिड थोरो) ।
  • सम्पूर्ण विश्वमा त्यस्तो प्रकारको संरचना कतै छैन, जसभित्र हामीले चैतन्यलाई बहुल स्वरुपमा पाउछौ (क्वान्टम फिजिक्सका पिता बीसौं शताब्दीका एक महान् अष्ट्रियन भौतिकशास्त्री आर्बिन श्रोडिङ्गर)
  • भागवद्गीता र उपनिषद्का अंशहरु र पतञ्जलीको योगसूत्रमा डुब्दै थिए भने गीता मेरा लागि अत्यन्तै प्रिय ठहरिएको थियो । (कवि, लेखक मेरिया क्रिस्टिना बेजार, फिलिपिन्स) ।

९. गुरुकुल र हारविहार

येनकेन प्रकारेण पेट भर्नु मात्र मानवको उद्देश्य होइन । आहार, निद्रा, भय, मैथुन  जस्ता विशेषताहरू पशुप्राणीमा समेत रहेको छ । कुनै प्रकारबाट आहार प्राप्त गर्नु  उनीहरूको अभीष्ट हो । यावत् प्राणीमा जीवन बाँच्नका लागि अदम्य इच्छा रहन्छ, तर खान नपाएर मर्न लाग्दा पनि शाकाहारी पशुले मासु खाँदैन । हामीले जानेबुझेको कुरा हो विश्वका जीवजन्तु, कीटपतङ्ग सबैले जीवनलार्इ बचाइराख्न मानिसले प्रयोग गरेका कीटनाशक औषधिका विरुद्ध प्रतिकार शक्ति उत्पन्न गर्छन् । रोगका सूक्ष्मातिसूक्ष्म जीवाणु (Bacteria) ले पनि केही समयपछि रोग प्रतिरोधक दबाइका विरुद्ध जीवन बचाउने तरिका खोज्छन् र विष पनि सजिलै पचाइदिन्छन् । यो तिनको अदम्य जिजीविषाको परिणाम हो । यहाँ सबैले बाच्न चाहेको, कसैले पनि मर्न नचाहेको देखिन्छ । यसरी हेर्दा प्राण बचाउनका लागि संघर्षरत पशुहरूलार्इ स्वादका लागि मात्र हत्या गर्नु क्रूरता र विकृतिको पराकाष्ठाबाहेक अन्य केही पनि देखिंदैन, त्यसैले गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीहरूलार्इ दुध, फल तथा शुद्ध शाकाहारी भोजन गराइन्छ । मद्य, मांस, धुम्रपान जस्ता आमिषजन्य वस्तुहरू अत्यन्त कडाइका साथ बर्जित गरिएका हुन्छन् यस संस्थामा । सादा जीवन उच्च विचारलार्इ गुरुकुलका आचार्य तथा विद्यार्थीहरूले पूर्णरूपेण परिपालन गर्नुपर्छ र गरेका हुन्छन् ।  हाम्रा पूर्वीय मनीषिहरूले आहार शुद्धौ सत्त्वशुद्धिः भनेर गरेको उद्घोषलार्इ अहिले आएर विज्ञानले समेत अनुसरण गरेपछि सात्विक भोजनको महत्त्व र गरिमा चुलिंदै गएको छ । तुलनात्मक रूपमा शाकाहार गर्ने मानिस  मांसाहार गर्ने मानिस भन्दा अधिकतम स्वस्थ र दीर्घजीवी भएको छ र हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ ।

शाकाहारीहरूमा मुटुसमबन्धी रोग कम हुने गरेको र उनीहरूमा कोलेस्ट« तथा कम घनत्व भएको लायप्रोटिन कोलेस्ट«को मात्रा सामान्यतया कम हुने गरेको पाइन्छ । अर्को कुरा शाकाहारीहरूमा उच्च रक्तचापको सम्भावना मांसाहारीहरूमा भन्दा कम हुनेगरेको र ठुलो अन्द्राको क्यान्सरको संभावना पनि कम हुने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ, किनभने शाकाहारीहरू रेसायुक्त फल तथा सब्जीको अधिक प्रयोग गर्दछन् । वैज्ञानिकहरूले विश्वभरिको तथ्याङ्कबाट पुष्टि गरेका छन् वनस्पतिमा आधारित भोजन गर्ने मानिसहरूमा स्तन क्यान्सरको संभावना पनि कम देखिएको छ । आहार विशेषज्ञ भारतीय डाक्टर भुवनेश्वरी गुप्ता भन्छिन् – शरीरका लागि शाकाहारी भोजन सबै भन्दा उत्तम हो । उनका विचारमा भारतमा ह्दयसँग सम्बन्धित मधुमेह, क्यान्सर अन्य रोगहरूको दिनप्रतिदिन बृद्धि भइरहेको छ । यसको प्रमुख कारण अंड, मांस डेरीका उत्पादनहरु ( नौनी, पनीर तथा आइसक्रि दि) को बढी खपत हुनु रहेको छ । विश्व खाद्य तथा कृषि संगठनले दिएको रिपोर्ट अनुसार आज पर्यावरणको गंभीर समस्या देखापर्नुमा मांस उद्योग नै प्रमुख कारण रहेको छ । एकजना वैज्ञानिकले भनेका छन्- एक शाकाहारी व्यक्तिले एक वर्षमा २०० पशुहरूको ज्यान बचाउन सक्छ । उत्तरी अमेरिकाको शाकाहार सोसाइटीले शाकाहारी जीवन शैलीलार्इ बढ़ावा दिनका लागि १९७७ एक अक्टुबरका दिन शाकाहार दिवस मनाउन शुरूआत गरेको थियो । पछि त्यसलार्इ अंतरराष्ट्रिय शाकाहार संघले पनि समर्थन गर्यो र अद्यावधि प्रत्येक साल एक अक्टुबरका दिन अंतर्राष्ट्रिय शाकाहार दिवस  मनाइँदै आएको छ ।

अब हेरौं शाकाहारका प्रमुख विशेषताहरू :

१. हृदयमा दयाभावको उपस्थिति,

२. विश्व शान्तिको भावोत्पत्ति,

३. हिंसाको अल्पीकरण तथा अहिंसाको सोपान,

४. महत्त्वपूर्ण प्राथमिक पोषण,

५. स्वस्थ एवं दीर्घ जीवनको आधार,

६. आरोग्य संवर्धनमा सहायक

७. मानवीय जीवन-मूल्यको संरक्षण,

८. पर्यावरणीय सन्तुलनको सर्वोत्तम उपचार,

९. प्राकृतिक संसाधनको सही उपभोग,

१०. नैतिक मूल्य र मान्यताको अनुसरण,

उपर्युक्त कुराहरू गुरुकुल शिक्षा प्रणालीसंग अन्तर्सम्बन्धित छन् ।  यसबाट गुरुकुल शिक्षाको उपादेयता कति रहेछ भन्ने कुरा स्वतः प्रमाणित हुन्छ ।

सन्दर्भ सूची

१.सुवेदी, गुरुप्रसाद (प्र.सं.२०७०), गुरुकुल सन्देश, काठमाडौं : शिक्षाविभाग, गुरुकुल आश्रम शिक्षापरिषद्, नेपाल ।

 

Advertisements
Standard

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s