Literature

अात्रेय गाेत्रीय पानी पाेखरेेल : एक सर्वेक्षण


(साेमनाथ भट्टद्वारा निर्मित साेमनाथ मन्दिर)

१. परिचय

“गोत्र” भनेको वंश हो । यसले “थर” भन्दा अझ व्यापक स्थान ओगटेको हुन्छ । वंशलाई वेदवृक्षसंग तुलना गरेर अध्ययन गर्न पनि सकिन्छ । ‘ऊध्र्वमूलमधः शाखः’ भनेर गीतामा वेदवृक्षको जसरी वर्णन गरिएको छ त्यसरी नै वंशवृक्षको पनि वर्णन गर्न सकिन्छ । उँभोतिर जरा र उँधोतिर हाँगा, पात हुँदै विस्तृत एवं व्यापक रूपमा निरन्तर फैलिएको वंशवृक्षको पहिचान गरी जरादेखि हाँगा र पातसम्म पुग्नु अत्यन्त जटिल कार्य हो । यसको अध्ययन, अनुसन्धान जति गरे पनि अपूर्ण नै रहन्छ । ‘आत्रेय–गोत्रीय पानी पोखरेल’ का बारेमा अनुसन्धानात्मक लेख लेख्नु वास्तवमा महासागरको गहिराइलाई एउटा टेक्ने लठ्ठीले आकलन गर्नु जत्तिकै हो, तर यसो भन्नुको अर्थ असम्भव कुराको अध्ययन अनुसन्धान नै नगर्नु भन्ने चाहि किमार्थ होइन । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने महाकवि देवकोटाको सदुक्ति उनको भौतिक देह समाप्त भएपछि सार्थक भयो । त्यसो हुँदा यसबाट असम्भव भन्ने कुरा केही पनि छैन भन्ने शिक्षा पाउन सकिन्छ, तर पनि यो लेख वंशमहासागर भित्रको एक चञ्चुप्रवेश मात्र हो । निम्न लिखित आधारमा एकसरो परिचय प्रस्तुत गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ ।

२. सांस्कृतिक आधार

संस्कृति आफ्नो पहिचान हो । यसले मानिसलाई आफू को हुँ र कहाँबाट आएको हुँ भन्ने कुराको ज्ञान दिन्छ । आधुनिक र अत्याधुनिक भएर आफैंलाई बिर्सनु राम्रो होइन । आफ्नो संस्कृतिलाई चटक्क त्यागेर उपेक्षा गरेका कारण आज पश्चिमी मुलुकका मान्छेहरू त्यसको परिणाम भोगिरहेका छन् । वास्तवमा जीवजन्तु र बोटबिरुवाको संरक्षण जत्तिकै महत्वपूर्ण रहेछ संस्कृतिको संरक्षण र संवर्धन पनि । यो कुरा समय बितिसकेपछि पश्चिमेलीहरूले बुझे, त्यसैले हामी पूर्वेलीहरूले बेलैमा सचेत हुनु जरुरी छ । सांस्कृतिक आधारलाई निम्नानुसार वैदिक र पौराणिक गरी दुई भामा अध्ययन गर्न सकिन्छ ः

२.१ वैदिक आधार

आजसम्म प्राप्त प्रामाणिक शास्त्रहरूमा वेदलाई सर्वप्राचीन ग्रन्थ मानिएको छ । वेदोखिलो धर्ममूलम् यो उपनिषद्को उद्घोष हो । यसरी हेर्दा मानव सभ्यताको सर्वप्राचीन ऐतिहासिक ग्रन्थ वेद नै हो भन्ने कुरा प्रस्ट हुन्छ । संसारभरका इतिहास एवंं पुरातत्वविद्हरूको अध्ययन अनुसन्धान अनुसार सृष्टिदेखिको विश्वको इतिहास बताउने पहिलो ग्रन्थ वेद नै हो । कतिपय पश्चिमेली विद्वान्हरुले वेदको उद्भव र महŒवलाई स्विकारेका छन् । उनीहरु इसापूर्व ६००० देखि २००० सम्मको समयलाई वेदको रचना काल वा उद्भव काल मान्दछन् । प्रो. म्याक्समुलर, कीथ, ग्रासम्यान, मेकडोनेल आदि विद्वान्हरू यस मतका अनुयायी हुन् ।

आत्रेयगोत्रीय पानी पोखरेलका आदि पुर्खाको उल्लेख भएको सबभन्दा पुरानो ग्रन्थ वेद हो । वेदमा अत्रि, आत्रेय, अर्चनानस, श्यावाश्व आदि ऋषिहरुको उल्लेख यत्रतत्र पाइन्छ । चार वेदमा सबभन्दा पुरानो ऋग्वेद हो । यसको पञ्चम मण्डल पूर्णतः आत्रेयमण्डलकै रुपमा देखिन्छ । यस मण्डलका सूक्तहरुमा विभिन्न नामबाट आत्रेयहरुको उल्लेख भएको पाइन्छ । उदाहरणका लागि केही नाम लिन सकिन्छ, जस्तै बुधगविष्टर आत्रेय, कुमार आत्रेय, बसुश्रुत आत्रेय, प्रयस्वान् आत्रेय, अत्रिभौम आत्रेय, अर्चनानस आत्रेय, श्यावाश्व आत्रेय, आपाला आत्रेयी आदि । यी बाहेक अष्टममण्डलका केही सूक्तहरूमा पनि आत्रेयहरूको नामोल्लेख भएको पाउन सकिन्छ ।
त्यसैगरी यजुर्वेदमा पनि अत्रिभौम आत्रेय, अत्रिदुहिता आत्रेय, विश्ववारा आत्रेयी, इष आत्रेय, वसुयु आत्रेय, श्यावाश्व आत्रेय, स्वास्त्यात्रेय, बुध गविष्ठर आत्रेय, प्रतिक्षत्र आत्रेय, आदि नामहरू रहेका पाइन्छन् । त्यस्तै सामवेदमा बुधगविष्ठर आत्रेय, श्यावाश्व आत्रेय, अत्रिमौम आत्रेय, आदि नामहरू रहेका देखिन्छन् भने अथर्व वेदमा पनि आत्रेय”पिता अत्रिको नामोल्लेख भएको देखिन्छ ।
यसरी वेदमा यत्रतत्र आत्रेयहरूको नामोल्लेख हुनु र उनीहरु मन्त्रद्रष्टा ऋषिका रूपमा प्रतिष्ठापित हुनु हामी समस्त आत्रेयका निमित्त अत्यन्त गौरवको विषय हो, किनभने सर्वज्ञानमयो वेदः भनेर वेदलाई संस्कृति, धर्म, दर्शन, साहित्य, इतिहास आदि सम्पूर्ण ज्ञानको स्रोतका रुपमा मानेर त्यसको अनुशीलन गर्ने गरिएको छ । यसबाट के पनि थाहा पाउन सकिन्छ भने आत्रेयहरूको सर्वप्राचीन वंशावली वेद नै हो । त्यसैले वेदविहित कार्य गरी आफ्ना पूर्वजहरूको अनुसरण र अनुकरण गर्नु आत्रेयहरूको कर्तव्य हो भन्ने कुरा उनीहरूका व्यवहारले देखाउँदै आएको छ ।
उत्तर वैदिक युगको अन्तिममा आएर आत्रेयहरूका पूर्वजले नै उपनिषद् को रचना गरेका हुन् । ‘उपनिषद्’लाई वेद सम्बन्धी अन्तिम रचनाका रुपमा लिइन्छ । आत्रेयहरूका पूर्वज ऋषिमुनिहरुले कस्तो आदर्श स्थापित गरेका थिए भन्ने कुरा निम्नलिखित औपनिषदिक सुक्तिहरुबाट अवगत गर्न सकिन्छः–
मा गृधःः कस्यस्विद् धनम् (ईषावास्योपनिषद्, मन्त्र १) कसैको पनि धन प्राप्त गर्ने आशक्ति नगर ।
 विद्ययाद्रमृतमश्नुते (पूर्ववत्, मन्त्र ११) विद्याद्वारा अमृतको प्राप्ति हुन्छ ।
उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत (कठोपनिषद्, वल्ली ३, मन्त्र १४) उठ, जाग र श्रेष्ठ वर पाएर परमात्मालाई जान ।
 ॐ सहनाववतु सह नौ भुनक्तु । सहवीर्यं करवावहै । तेजस्विनावधीतमस्तु मा विद्विषावहै (कठोपनिषद्, शान्तिपाठ) हे परमात्मा, यहाँले हामी दुवै (गुरु–शिष्य) को साथ–साथ रक्षा गर्नुहोस , पालना गर्नुहोस् । हामी दुवैले साथसाथ बल प्राप्त गरौं । हामी दुवैले अध्ययन गरेको विद्या तेजिलो होस् । हामीमा द्वेष नहोस् ।
ॐ भदं्र कर्णेभिः श्रृणुयाम देवाः भद्रं पश्येमाक्षभिर्यजत्राः (कठोपनिषद्, शान्तिपाठ) हे देवगण, हामी कानले कल्याणकारी वचन सुनौं र हाम्रा आँखाले कल्याणकारी द्दश्य देखून् ।
सत्यमेव जयते नानृतम् (मुण्डकोपनिषद्, तृतीय) सत्यको नै विजय हुन्छ, असत्यको होइन । शरीरं मे विचर्षणम् । जिह्वा मे मधुमत्तमा (तैत्तिरीयोपनिषद्, अनुवाक् ११) हाम्रो शरीर अत्यन्त फुर्तिलो होस् । हाम्रो वाणी अतिशय मधुवर्षिणी होस् ।
सत्यं वद । धर्मं चर । स्वाध्यायान्मा प्रमद । (तैत्तिरीयोपनिषद्, अनुवाक् ११) सदा साँचो बोल । धर्मको आचरण गर । स्वाध्यायबाट कहिल्यै विमुख नहोऊ ।
मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव अतिथिदेवो भव , यानि अवद्यानि कर्माणि तानि सेवितव्यानि नो इतराणि (तैत्तिरीयोपनिषद् अनुवाक् ११) मातालाई देवता मान, पितालाई देवता मान, गुरुलाई देवता मान, अतिथिलाई देवता मान, निर्दोष कर्म गर्ने गर । दोषयुक्त कर्म नगर ।

२.२ पौराणिक आधार

पुराणहरू सम्यताको सूर्योदयदेखि नै ऐतिहासिक आख्यानद्वारा विशेष प्रसिद्ध छन् । पुराणको अर्थ हुन्छ ‘पुरानो’ । पुराना आख्यानहरुको सङ्कलन गरिएको हुनाले यस्ता ग्रन्थको नाम पुराण रहेको हो । पुराना आख्यानहरू वैदिक कालमा पनि प्रचलित थिए भन्ने कुरालाई ऋचः सामानि छन्दांसि पुराणं यजुषा सह भनेर अथर्ववेद संहिताले पुष्टि गरेको छ । ‘अथर्ववेद संहिता’को यस उक्तिबाट ऋग्वेद, सामवेद, यजुर्वेद र पुराणको आविर्भाव एकैसाथ भएको मान्न सकिन्छ । शतपथ ब्राह्मण, शाङ्करभाष्य र छान्दोग्योपनिषद जस्ता ग्रन्थहरूमा पुराणको नामोल्लेख हुनुले पनि पुराणको प्राचीनता मुखरित भएको पाइन्छ ।
प्राचीन ग्रन्थहरूमा पुराण र इतिहासको घनिष्ठ सम्बन्ध रहेको कुरा उल्लेख भएको देखिन्छ । कतिपय आधुनिक विद्वान्हरू महाभारतलाई मात्र इतिहास मान्छन् तर कतिपय विद्वान्हरू र कौटिल्य समेतले ‘पुराणलाई इतिहासको श्रेणीमा राखेको पाइन्छ । यसरी हेर्दा पुराण र इतिहासको क्षेत्र एउटै देखिन्छ । अतिरञ्जनात्मक प्रसङ्गलाई पन्छाउँदा पुराणले विश्व–ब्रह्माण्ड सृष्टिदेखि लिएर मानव सभ्यताका साथै प्राचीन आख्यान एवं घटनाहरुको वर्णन गर्ने हँुदा यिनलाई ‘प्राचीन इतिहास’ भन्नु उचित देखिन्छ । प्राचीन भारतवर्षको इतिवृत्त पुराणमा पाइने हुनाले यिनको सम्बन्ध आधुनिक इतिहाससँग पनि छ । यति हँुदाहुँदै पनि पौराणिक इतिहास र आधुनिक इतिहासलाई जोड्ने सेतु के हो र कहाँ छ भन्ने कुराको अध्ययन अनुसन्धान नहुनुले ‘पौराणिक इतिहास’ आधुनिक इतिहासबाट उपेक्षित देखिन्छ ।
अठार पुराण र अठार उपपुराणहरुका रचनाकार वेदव्यास हुन् । वेदलाई आधार मानेर रचना गरिएका पुराणहरुमा यत्रतत्र पानी पोखरेलका आदि पुरुष अत्रि र आत्रेयका बारेमा उल्लेख भएको पाइन्छ । श्रीमद्भागवत नवमस्कन्धको चौधौं अध्यायको दोस्रो श्लोकले अत्रि ऋषिलाई ब्रह्माका मानसपुत्र मानेको छ भने गण्डकी महात्म्यको पृष्ठ १२२ मा पनि सो कुराको पुष्टि भएको छ । ब्रह्मर्षि वर्गमा पर्ने अत्रिलाई सप्तर्षिमध्ये एक मानिएको छ । प्रथम स्वायम्भुव मन्वन्तरमा यिनी सप्तर्षि गणमै प्रतिष्ठापित थिए भने वर्तमान वैवस्वत मन्वन्तरमा पनि यिनी सोही गणमै रहेका पाइन्छन् । यिनै अत्रिपुत्र आत्रेय हाम्रा गोत्र एवं वंश प्रवर्तक मूल पुरुष हुन् । ‘अत्रःे अपत्यं पुमान् आत्रेयः भन्ने विग्रहबाट ‘आत्रेय’ शब्दको व्युत्पति भएको छ । यस आधारमा हेर्दा ‘आत्रेय’ अत्रिकै पुत्र हुन्, अत्रिकै वंशज हुन् । ‘आत्रेय’लाई अत्रिपुत्र मान्दा मान्दै पनि यहाँ एउटा अर्को शङ्का उब्जिएको छ । त्यो के हो भने ‘अत्रिगोत्र’ र आत्रेयगोत्र’का बीचमा हुने गरेको बिहाबारी । यस प्रचलनले ‘अत्रि’ र आत्रेयहरू सगोत्री हुन् कि होइनन् , हुन् भने किन शास्त्रद्वारा निषिद्ध सगोत्रीय विवाह चलाए र होइनन् भने बाबु–छोराबाट कसरी दुईवटा गोत्र चल्यो भन्ने जस्ता प्रश्नहरुले हामीलाई अलमल्याएको छ । अन्य गोत्रका विद्वान्हरूबाट पनि यदाकदा यस किसिमको प्रचलन नहुनु पर्ने हो भन्ने कुरा उठ्दै आएको छ ।
यस प्रकारको विवाहप्रथा प्रचलनमा आउनाले कसैलाई नकारात्मक सन्देश दिएको छ भने धेरैका लागि यो सकारात्मक पनि छ । सगोत्रीय विवाहप्रथा राम्रो होइन । यो हामी सबैले भन्ने गरेका छौं, तर अत्रि र आत्रेय गोत्रमा हुने गरेको विवाहप्रथा सगोत्रीय हो वा अन्तर्गाेत्रीय, यो चाहिं सबभन्दा महत्वपूर्ण कुरा हो । यस विषयमा अत्रि र आत्रेय गोत्रका विद्वान् तथा बृद्ध अनुभवीहरु र धार्मिक व्यक्तित्वहरुलाई प्रश्न गर्दा चित्त बुझ्दो उत्तर प्राप्त हुन सकेन । यस बारेमा प्रकाण्ड विद्वान् एवं पुरातŒवविद् योगी नरहरिनाथको भनाइ य’प्रकार रहेको छ ड्ड अत्रिका आश्रममा अध्ययन गर्ने धेरै शिष्यहरु थिए । ती शिष्यहरुमध्ये उनका आफ्नै छोराहरु पनि त्यही समूहमा अध्ययनरत थिए । दीक्षान्त पछि अत्रिका केही शिष्यहरुले गुरुकै गोत्र सञ्चालन गर्नपाऊँ भनी निवेदन गर्दा उनले ती शिष्यहरुलाई पनि आफ्नो गोत्र प्रदान गर्ने निधो गरे, तर उनका पुत्रहरूले शिष्य र पुत्रलाई एउटै गोत्रको बन्धनमा राख्दा कालान्तरमा पुत्रत्व र शिष्यत्वको पहिचान नरहने कुरा देखाउँदै पितालाई पुनर्विचार गर्न अनुरोध गरे । त्यसपछि छोराहरूको तर्कलाई उपयुक्त ठानी अत्रिले शिष्यहरुलाई अत्रि गोत्र चलाउने र छोेराहरुलाई आत्रेय गोत्र चलाउने अनुमति दिए । यसकुराको पुष्टि ब्रह्मवैवर्त पुराणको ‘अत्रेःशिष्यश्चात्रि प्रोक्ता, आत्रेयारत्रिवंशजाः’ भत्रे कथनले पुष्टि गरेको छ ।
योगी नरहरिनाथको उपर्युक्त कथनलाई नै आधार मानेर यस पङ्तिकारले भत्रे गरेको छ, अत्रि र आत्रेय गोत्रमा हुने गरेको विवाह सगोत्रीय नभएर अन्तर्गोत्रीय हो । वंशत्वबाट चलिआएको गोत्र र शिश्यत्वबाट चलिआएको गोत्र परम्परालाई ख्याल गरेर नै हाम्रा पुर्खाहरुले अत्रि र आत्रेय गोत्रमा विवाह गर्ने गरेका रहेछन् । यसभन्दा अझ विश्वसनीय शास्त्रीय प्रमाण प्राप्त भएमा यसैलाई आधार मानिरहनु पर्ने देखिंदैन । हाम्रा अत्रि र आत्रेय गोत्रसंग आवद्ध विद्वान् अनुसन्धाताहरुलाई यसबारेमा अझै नजिक पुग्न आह्वान गरिन्छ ।
आत्रेय’ ऋषिका सन्तान विभित्र थरबाट परिचित छन् । तिनमध्ये पानीपोखरेल पनि एक हो । प्रचलनमा आए अनुससार थरका अगाडि दुईवटा नामिक पद प्रयुक्त छन् ‘पानी’ र ‘दूध’ । पानी पोखरेलहरुको ‘आत्रेय गोत्र’ रहेको पाइन्छ भने ‘दूध पोखरेलको ‘भारद्वाज’ गोत्र’ । जतनपुरे पानीपोखरेलको ‘वंशावली’ भत्रे पुस्तकमा प्राः बालकृष्ण पोखरेलले पश्चिम नेपालतिर आत्रेयगोत्री दूध पोखरेल पनि पाइएको कुरा उल्लेख गरेका छन् । यस कुराको पुष्टि हुनु आवश्यक छ ।
‘आत्रेय’ सँग पानी को के कस्तो सम्बन्ध रहेको छ भत्रे कुराको सामान्य चर्चा गर्ने क्रममा ब्रह्मर्षि ‘अत्रि’सम्म पुग्नुपर्ने हुन्छ । तर अत्रिसम्म पुग्ने ऐतिहासिक सोपान अद्यावधि पाप्त भइनसकेको हुनाले पौराणिक इतिहासलाई नै यसको सहायक सन्दर्भ मान्नु पर्ने हुन्छ । पौराणिक इतिहासलाई प्रामाणिक मान्न नसक्नु आफ्नै ठाउँमा छ, तर त्रिकालदर्शी कृष्णद्वैपायनकृत महाभारत र पुराणहरू जस्ता प्राचीन ग्रन्थहरू मानववंश विस्तारका प्रमुख आधार हुन् भत्रे कुरालाई नकार्न सकिन्न ।
प्रत्यक्षबाट कुनै कुरा थाहा पाउन सकिएन भने अनुमानबाट पनि सो कुराको अनुसन्धान गर्न सकिन्छ, त्यति गर्दा पनि नभएमा वेदको सहारा लिनुपर्छ भनेर शास्त्रले यसरी बताएको छः–
‘प्रत्यक्षेणाद्रनुमित्या वा यस्तूपायो नविद्यते ।
एतं विदन्ति वेदेन तस्माद् वेदस्य वेदता ।।’
वेदव्यासले वेदकै आधारमा पुराणादिको रचना गरेका हुन् । त्यसो भए पुराणलाई आधार मान्नु पनि वेदलाई आधार मान्नु जत्तिकै हो । पुराणलाई आधार मान्दा हामी आत्रेयहरु, मूलतः पानी पोखरेलहरूसंग ‘पानी’को नाता कति पुरानो छ भन्नेकुरा थाहा पाउन सकिन्छ —
अत्रेर्भार्यानसूया च पञ्चात्रेया नसूयत ।
कन्यका च श्रुतिंर्नाम माता शङ्खपदस्य च ।।
सत्यनेत्रश्च हव्यश्चआपोमूर्तिशनैश्चर’
सोमश्च पञ्चमस्त्वेते पञ्चात्रेयाः प्रकीर्तिता’’
तेषांं पुत्राश्च पौत्राश्च ह्यात्रेयाणांं महात्मनाम्’
स्वायम्मुवेन्तरेऽतीताः शतशोऽथ सहस्रशः। (शिवपुराण वायवीय संहिता पूर्वखण्ड १७÷३०,३१,३२,)
शिवपुराणको उपर्युक्त कथनले अत्रिपत्नी अनसूयाका गर्भबाट सत्यनेत्र, हव्य, आपोमूर्ति, शनैश्चर र सोम गरी ५ पुत्र प्रादुर्भाव भएको कुरा देखाएको छ । यस कथनलाई आधार मानेर पानी पोखरेलका गोत्र प्रवर्तक पुरुष कुन चाहिं हुन् भनी खुट्याउनु पर्दा भत्र सकिन्छ ‘आपोमूर्ति आत्रेय’हाम्रा गोत्र प्रवर्तक हुन्, किनभने ‘आपोमूर्ति’ भत्रे नामसंग ‘पानी’ जोडिएको छ । अमरकोषमा ‘आप’(पानी) का पर्यायवाची शब्द प्रसस्त छन, तीमध्ये एउटा शब्द ‘पानीय’ पनि हो । पानीय तद्भव ‘पानी’ भएको हो । यसप्रकार ‘आपोमूर्ति आत्रेय’ ‘पानीय आत्रेय’ र कालान्तरमा पोखरेल थरको प्राप्ति पछि ‘पानीय पोखरेल’ हुदै ‘पानी पोखरेल’भएको कुरालाई धेरै प्रतिशत विश्वास गर्न सकिन्छ । यही अनुमानलाई सत्यको केही नजिक गरेर ‘आपोमूर्ति आत्रेय’लाई आत्रेयगोत्री पानी पोखरेलका प्रथमपुरुष मान्न यो पङ्तिकार तम्सिएको हो । यस अनुमानको खण्डन गरी अझ विश्वस्त तथ्य अगाडी आएमा त्यसैलाई मम भन्न पछि नपर्ने गरी यो पौराणिक तथ्य अघि सारिएको छ । यसरी हेर्दा सबै आत्रेय ‘आपोमूर्ति आत्रेय’कै सन्तान हुन् कि होइनन् ? हुन् भने उनीहरुले आफ्ना थर अगाडि ‘पानी’ लेख्न किन छाडे ? र होइनन् भने उनीहरू कुन आत्रेयका सन्तान हुन् त ? भन्ने कुरा अध्ययन अनुसन्धानको विषय बनेको छ ।
हाम्रा आदिपुरुष ‘आपोमूर्ति आत्रेय’ले ‘पानी’ लाई विशेष महŒव दिएर विशेषणकै रुपमा प्रयोग गरेको हुनाले हामी आधावधि आफ्ना प्रातः स्मरणीय आदिपुरुषको अनुकरण र अनुसरण गर्दै आएका छौं । त्यसो त हाम्रा पूर्वजहरू पौराणिक कालदेखि नै पानी प्रिय थिए । उनीहरू त्रिकाल स्नान गर्थे । कालान्तरमा उनीहरू कृषिकार्यमा संलग्न भए र पानीसंग उनीहरूको घनिष्ठता अझ बढ्यो । पोखरी (पोखर)का नजिक घर बनाएर उनीहरु पोखर+आलय’= पोख¥यालय हुँदै पोखर्याल र पोखरेल भए अथवा पानीको पोखरी खनेर उनीहरु ‘पानी पोखरेल’ भए । जे जसरी भए पनि उनीहरु पानीप्रेमी हुन् यो कुरा स्पष्ट छ । वर्तमान समयमा अधिकांश ‘पानी पोखरेल’ कृषिमै आत्मनिर्भर रहेका पाइन्छन् । यसबाट पनि ‘पानी पोखरेलहरू’ ‘आपोमूर्ति आत्रेय’ कै वंशज हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।
यसरी ‘शिवपुराण’लाई आधार मान्दा ‘अत्रि’ ऋषिका अनसूयातर्फका पुत्रहरूमध्ये ‘आपोमूर्ति आत्रेय’ ‘पानी पोखरेल’का वंशपुरुष ठहरिन्छन् । यिनका छोरा अर्चनानस र नाती श्यावाश्व हुन्, तर पौडेल वंशावलीमा ब्रह्माका मानसपुत्र अत्रिकी पत्नी अनसूयाबाट सोम, दत्तात्रेय र दुर्वासाको जन्म भएको उल्लेख गर्दै ‘आत्रेयलाई’ अत्रिका अन्य दश पत्नीबाट जन्मिएका मानिएको छ । दश पत्नीमध्ये कुन चाहिं पत्नीबाट हाम्रा पुर्खाको जन्म भएको हो भन्ने कुरामा वंशावली मौन छ ।

३. ऐतिहासिक आधार

आत्रेयहरूको अस्तित्वलाई वेद र पुराण दुवैले महत्व दिएका छन् तापनि वैदिक काल र पौराणिक काल प्रागैतिहासिक कालका रूपमा नै रहेका पाइन्छन् । त्यसो त इतिहास लेखन कार्य आजभन्दा दुई हजार बर्ष अघिसम्म पनि पुग्न सकेको पाइदैन । यसको प्रमुख कारण हाम्रो जस्तो देशमा मानववंश एवं नृशास्त्रको अध्ययन–अनुसन्धान कार्यले अग्रगति लिन नसक्नु नै हो । वंशको अभिलेख राख्ने र त्यसलार्ई अद्यावधिक गर्ने चलन र चासो नभएर पनि यसरी पछि परेको हुन सक्छ ।
वंशको अभिलेख राख्ने क्रममा केही प्रयासहरू हुँदै नभएका चाहि भन्न मिल्दैन, किनभने उदयानन्द खर्यालको ‘अर्याल वंशावली’ पं. विद्यापतिद्वारा लिखित संस्कृत पद्यात्मक ‘आत्रेय वंशावली’ सूर्यविक्रम ज्ञवालीको ‘वंशवर्णन कविता’ एकराज अर्यालद्वारा लिखित वंशावली, पं. टेकनाथ गौतमद्वारा लिखित ‘गौतम वंशावली’ आदिमा भएका दिग्दर्शनले वंशावली लेखन कार्यलाई निकै नै सहयोग पुर्याएको पाएन्छ । त्यसै गरी योगी नरहरिनाथकोे इतिहास प्रकाश (२०१३) र उहाँकै इतिहास प्रकाशमा सन्धिपत्र संग्रह (२०२२) जस्ता अन्वेषणात्मक कार्यले वंशावली लेखनमा पुर्याएको सहयोग प्रशंसनीय एवं स्तुत्य छ । कृष्णचन्द्र पोखरेलको पोखरेल वंशावली (२०४२), डा.माधवप्रसाद पोखरेलको काशीदासको ऐतिहासिकता (२०५६), रेवामणि पोखरेलको प्रयासमा लेखिएको पोखरेलको इतिहास (२०५७), पौडेल वंशावली (२०६०), बालकृष्ण पोखरेलको जतनपुरे पानी पोखरेलको वंशावली (२०५६), जस्ता कृतिहरूले वंशावली लेखन कार्यलाई मलजल गरेका छन् । यसबारेमा अझै गहनतम अध्ययन अनुसन्धान हुनु जरुरी छ । यसरी हेर्दा अहिलेसम्म वंशावली लेखन कार्यका लागि निकै प्रयासहरु भएको पाइएता पनि कालक्रमिकता प्रदान गरी लेखिएको एकमात्र कृति प्राः बालकृष्ण पोखरेलको ‘जतनपुरे पानी पोखरेलको वंशावली’ रहेको पाइन्छ ।
आत्रेयहरूको ऐतिहासिकता पहिल्याउने क्रममा ‘पौडेल वंशावली’ र ‘जतनपुरे पानी पोखरेलको वंशावलीले सोमनाथ आत्रेय (वि.स.५२०) लाई आत्रेहरुका ऐतिहासिक मूल पुरुष ठहर्याएका छन् । यी दुई वंशावलीलाई आधार मानेर अब आत्रेयहरू वंशावलीको सोपान चढ्दै सोमनाथसम्म पुग्नसक्ने भएका छन् । यस कार्यबाट पानी पोखरेललाई मात्र होइन आत्रेय गोत्र धारण गर्ने सबैलाई आआफ्नो वंशावलीमा जोड्न सरल भएकोछ ।
सोमनाथ आत्रेयको जन्म वि.स. ५२० तिर कर्णाटकको मैसुरमा भएको थियो । यिनी प्रतिहारवंशी गौर्जर ब्राह्मण थिए । यिनी निकै धनवान् थिए । यिनले गुजरातको सौराष्ट्रमा सोमनाथको भव्य मन्दिर बनाएका थिए र त्यसमा ज्योतिर्लिङ्गको स्थापना गरेका थिए । काबेरी नदीको बायाँ किनारमा ‘सोमनाथ पुरम्’ नामक नगर पनि यिनैले बसालेका थिए । यिनी ज्योतिर्लिङ्गको नित्य पूजा गर्ने गर्थे । (पौडेल वंशावली २०६०ः १८)
यसरी ‘सोमनाथ’ आत्रेयहरूका ऐतिहासिक मूलपुरुष ठहरिएका छन् भने ‘पानी पोखरेल’का मूलपुरुष काशीदास/कुशभद्रा (वि.सं.९५०) ठहरिएका छन् । काशीदासको ऐतिहासिकतालाई पुष्टि गर्ने केही तथ्यहरु निम्ननुसार छन् ः

१. काशीदास कन्नौजका राजा भएको र अलाउद्दीन खिल्जीले गद्दीबाट हटाएपछि बाहुनको भेष लिएर नेपाल पसेका थिए । (मोहन बहादुर मल्ल २०३५)
२. काशीदासका सन्तानले सोह्रवटा वाइसी राज्यमा राज्य गरेको पाइन्छ । केही चौबिसी राज्यमा पनि काशीदासका सन्तान राजा भएको प्रमाण भेटिएका छन् । (डा. राजाराम सुवेदी २०४५)
३. काशीदासका पुर्खा कन्नौज वा चित्तौरका राजा थिए । कन्नौजका अन्तिम राजा मठिमल राइठोरले दिल्लीका सुल्तानसँग युद्धमा ज्यान गुमाएपछि उनका सन्तानले “शर्मा पाध्य” लेख्न थाले । (टुची)
४. काशीदासको साइनो कन्नौजका राजा ‘सोमवंशी राइठुर’हरूसँग थियो । ‘योगी नरहरिनाथ इतिहास प्रकाश २.१ः३६४)

५. जाजरकोटे राजाको वंशावली, सोम वंशावली, सल्यानी राजाको वंशावली, अज्र्याल वंशावली र गोतामे वंशावलीअनुसार पनि नेपालका सबै अत्रि र आत्रेय गोत्र हुने रैती र राजाका मूल पुर्खा कन्नौजबाट आएको पुष्टि हुन्छ । (डा. पोखरेल, पानी पोखरेल नालोबेलो २०५७)
६. पानी पोखरेलका पुर्खा काशीदास नेपाल पस्नमा कन्नौजमा मुसलमानको आक्रमण नै कारण थियो । (कृष्णचन्द्र पोखरेल २०४२)
७. काशीदास कन्नौजबाट जुम्ला आएका हुन् । उनी षट्शास्त्रका ज्ञाता थिए । डा. राजाराम सुवेदी २०५४)
८. मुसलमान गजनवीको बनारससम्मको आक्रमणले जर्जरित भएर प्रतिहार साम्रज्य ध्वस्त हुँदा कन्नौजका राजकुमार हिमालयमा शरण लिन पुगे ।
(राहुल सांकृत्यायन १९४८ ई. किन्नर देशमे)
९. काशीदासका पुर्खा अर्थात् गुर्जर प्रतिहारवंशी राजाहरू बाहुन थिए । (डा. कन्हैयालाल मुन्सी, १९८४ इ. ४६)
१०. नेपालमा अत्रि र आत्रेय गोत्रधारी बाहुन, क्षेत्री (ठकुरी समेत) मगर, चन्द्रवंशी, राजा आदि काशीदास कै सन्तान हुन् । (डा. माधवप्रसाद पोखरेल, काशिदासको ऐतिहासिकता ः २०५६)
११. काशीदास नेपाल आउँदा जुम्लामा आनन्दमल्ल र रिपु मल्लको शासन थियो, त्यसैले काशीदासले ती दुईमध्ये एकजना राजालाई भेटेको हुनुपर्छ र काशीदासको योग्यताबाट प्रभावित भएर राजाले उनलाई आफ्नी छोरी दिएर ठाकुरजी लेकदेखि दक्षिणतिर शासक बनाई दिए । (धनवज्र बज्राचार्यः२०२८)
१२. चित्तौरका अन्तिम राजा रत्नसिंह राठौर वंशका थिए । मुसलमानको अत्याचार सहन नसकी रत्नसिंहले पनि आफ्नो नाम ‘काशीदास पाध्य’ राखेर आफूलाई देववर्मा पाध्यका वंशज भन्ने चिनाएर मानसरोवर कैशाल पर्वतको तीर्थयात्रा गर्न भनी हिंडे । यसरी उनी जुम्ला आइपुगे, त्यहाँका राजालाई भेटे, आफ्नो सबै कहानी सुनाए र प्रभावित बनाए । (डा. पोखरेल, पानी पोखरेलको नालीबेली २०५७)
१३. रन्तसिंह (रत्नज्योति वा काशीदास पाध्य) जुम्ला राज्यमा अचानक देखा परे, कैशाल पर्वत र मानसरोवरको दर्शन गरे, दूधपोखरी, पानीपोखरी भर्नमा आफ्नो प्रतिभा पनि देखाए र जुम्लाकी राजकुमारी बिहे पनि गरे । उनको रहस्यमय सफलताले गर्दा त्यस क्षेत्रको लोकपरम्पराले उनैलाई जालन्धरी वा औतारी राजा भन्न थाल्यो । (इतिहास प्रकाश १.१ः६९)
१४. काशीदास नाउँका चन्द्रवंशी व्यक्ति षट्शास्त्रका ज्ञाता, वेदादिमा पारङ्गत र थु्प्रै चेलाहरुले सुशोभित थिए । उनी कन्नौज मुसलमानद्वारा आतंकित भएको देखेर यस ठाउँमा बस्न ठिक छैन भन्ने ठानी आफ्ना चेला साथ लगाएर साउन महिना लाग्दा सिजापति राजाका राज्यमा उल्मुख जात्रा चलिरहेको बेला त्यहाँ पुगेर राजाको मान र वृति पाएर बसे । (पं.वाणीविलास ज्योतिर्विद, सल्यानी राजाको वंशावली)
१५. “काशीदास भट्ट पोखरेल थरका मूल पुरुष हुन् (पौडेल वंशावली, २०६०ः ५२)”

१६……..तर मानव वंशको यस लामो यात्रालाई हाँक दिने शक्ति आफ्नो नभएको हुनाले मैले सोमनाथदेखि पुस्ताको गणना गरेको छु । उनको समयलाई सं ५२० देखि आरम्भ भएको स्वीकार गर्दै मैले आफ्नो वंशको प्रथम पुस्ताका पूर्वज उनलाई मानेको छु र आपूmलाई उनको ४७ औं पुस्ताको सन्तान मानेको छु । यसरी यस वंशावलीको सत्ययुग मैले सोमनाथको युगलाई र ब्रह्मा स्वयंं सोमनाथलाई स्विकारेको छु । उनी पोखरेल, पौडेल, पाहाडी, गोतामे, चापागाई, खतिवडा, आत्रेय वस्थी, आत्रेय भट्ट, आत्रेय मिश्र, आदिका साझे पूर्वज हुन् ।” (प्राः बालकृष्ण पोखरेल जतनपुरे पानीपोखरेलको वंशावली २०६५ः२१)
उपर्युक्त अध्ययनबाट अब आत्रेय वंश सोमनाथसम्म पुग्न सफल भएको देखिन्छ । अझ गहन अध्ययन अनुसन्धान हुन सकेमा सोमनाथ र चरकको सम्बन्ध स्थापित हुने सम्भावनालाई पनि नकार्न सकिंदैन । यसबाहेक काशीदास (कुशभद्रा) पानी पोखरेलका ऐतिहासिक मूलपुरुष हुन् भत्रे कुरा पनि माथिका उद्धृतांशबाट प्रमाणित भएको छ । पुस्ता खुट्याउने क्रममा यो पङ्क्तिकार सोमनाथदेखि ४७ औं पुस्तामा रहेको छ भने काशीदासदेखि ३४ औं पुस्तामा रहेको छ । त्यसैगरी कपिलदेवदेखि २१ औं पुस्तामा र काशीनाथ (जफेका प्रथम पुरुष) देखि १० औं पुस्तामा रहेको छ ।

४. उपसंहार

उपर्युक्त ऐतिहासिक अध्ययनबाट कुन कुरा स्पष्ट हुन्छ भने पानी पोखरेलका प्रथम पुरुष काशीदास भारतबर्षको दक्षिण–पश्चिमबाट भारतबर्षकै उत्तर–पूर्वतिर आएका हुन् । उनी भारतबाट नेपाल पसेका होइनन् भत्रे कुरा आफुलाई मात्र आदिबासी ठान्न्रहरुले बुझे हुन्छ, किनभने काशीदास वि.स.९५० तिर चित्तौरबाट जुम्ला आएका हुन् । त्यसबेला ‘नेपाल’ र ‘भारत’को जन्म भएकै थिएन । काशीदास चित्तौरबाट भागेर आफ्नो प्राणभूमि जुम्ला आउनु र भुटानी नेपालीहरूले आफ्नो प्राणभूमि नेपालमा शरण लिनु उस्तै उस्तै हो, किनभने भुटानी नेपालीहरूका पुर्खा पहिला नेपालतिरबाटै भुटान गएका हुन् र काशीदासका पुर्खा पनि उत्तराखण्डबाट दक्षिण–पश्चिम तिर गएका हुन् । यसरी हेर्दा हामी आत्रेयहरु वर्तमान नेपालका आदिबासी मात्र होइनौं अनादिबासी हौं ।
वेद र उपनिषद् जस्ता आर्ष ग्रन्थहरुको अध्ययन नै नगरी सर्वदा पश्चिमी इतिहासलाई मात्र आधार मान्नु र हाम्रा पूर्वजहरू पश्चिमतिरबाट आएका हुन् भत्रु आफ्नै संस्कृति र सभ्यतालाई नदेख्नु हो । आफु को हुँ, कहाँबाट आएको हुँ, आफ्नो प्रमुख पहिचान के हो भन्ने कुरातर्फ नलागी अर्काले तँ उतैबाट आएको, तेरा पुर्खा उतैका हुन्, तँ आदिवासी होइनस् भनेका भरमा हो हो पाडरीका पछि लाग्ने हो भने हाम्रो भन्दा नराम्रो हविगत कसैको हुदैन । अर्काले बताइदिएपछि आफ्नो पहिचान र उद्गमस्थल थाहा पाउने हामी ‘हनुमान्’ होइनौ । आफ्नै अध्ययन र अनुसन्धानबाट आफ्नो उद्गम स्थल पत्ता लगाउने खुवी भएका विद्वान्हरू हाम्रा वंशमा थिए र छन् पनि । पूर्वीय ग्रन्थहरुको विषद अध्ययनबाट मात्र तथ्यहीन आरोप लगाउनेहरुको मुखबुजो लगाउने खुवी हामीमा आउन सक्छ । यसका लागि हामीले ‘असतो मा सत्गमय’ भन्ने हाम्रा पूर्वजहरुको सदुक्तिलाई आफ्नो गायत्री मन्त्र ठान्नु पर्छ ।

प्राचीन वेद, उपनिषद्, पुराणादि पूर्वीय वाङ्मयसंग घनिष्ठ सम्बन्ध राख्ने गोत्रको इतिहास हिन्दू वैदिक परम्परा र प्रणालीमा आबद्ध छ । हाम्रा पूर्वज अत्रि र आत्रेयहरुको आश्रय स्थल मानिने वर्तमान नेपाल र भारत प्राचीन भारतबर्षको गर्भमा थिए । पौराणिक महापुरुष ‘भरत’ को नामबाट भारतबर्ष भएको कुरा सङ्लो पानी जतिकै स्पष्ट छ । यसै विशाल भूखण्डको उत्तरपूर्वतिर अवस्थित पवित्र भूमि नै आम्रा पूर्वजहको जन्मभूमि र कर्मभूमि हो । यस कुरालाई पुरातत्वविद् योगी नरहरिनाथले पुष्टि गर्नु भएको छ । हाम्रो देश नेपालमा पुरातात्त्विक अध्ययन अनुसन्धान पटक्कै हुन सकेको छैन । पुरातात्विक स्थलहरुको पहिचान गरी उत्खनन कार्यलाई अघि बढाउने र उत्खनन गरिएका वस्तुहरूको अध्ययन अनुसन्धान हुने हो भने आत्रेयहरूका पूर्वज अत्रि र आत्रेयले तपस्या गरेको प्राग्भूमि वर्तमान नेपाल अन्तर्गत नै रहेको पाइन्छ । स्कन्दपुराण यस कुराको साक्षी छ । यस देशका धरोहरका रूपमा रहेका मठमन्दिर, देवालय, व्यास–गुफा अत्रि आश्रम, सीता पँधेरो, सुरुङ्गा (पाँच पाण्डवले सुरुङ्ग खनेर गुप्तवास गएको ठाउँ), विराटपोखर किचकबध, जनकपुर, धनुषा, वराहक्षेत्र, देवघाट, पाशुपतक्षेत्र, पिण्डेश्वर जस्ता अनेकौं पौराणिक एवं ऐतिहासिक स्थलहरू यहीं छन् । पाँच हजार वर्षअघि रचना गरिएका पुराणहरुमा गण्डकी, कौशिकी कर्णाली, कनका जस्ता नदीहरूको सुन्दरता एवं पवित्रताको वर्णन एवं व्याख्या गर्ने महर्षि व्यास प्राचीन भारत वर्षकै उपज हुन् । उनलाई यसै पवित्र भूमिमा बसेर महाभारत एवं पुराणादिको रचना गर्ने सौभाग्य प्राप्त भएको थियो । गुरुकुलीय परम्परामा आधारित अति पवित्र शिक्षा–ज्ञान, योग, आयुर्वेद आदिको ज्योति फैलाउने महिर्षिहरूमध्ये अत्रि र आत्रेय पनि हुन् । यो कुरा जान्न पाउँदा हामी आत्रेयहरू गौरवान्वित हुनु स्वभाविक हो ।

सोमनाथदेखि यस पङ्क्तिकारसम्मको पुस्ताक्रम, नाम र वि.सं.
१. साेमनाथ  (५२०),

२. रङ्गनाभ (५५८),

३. पुरनाभ (५९४),

४. ब्रह्मनाभ (६३१),

५. प्रसरनाभ  (६८०),

६. भीमदेव  (७१८),

७. पूर्णदेव  (७५६),

८. देवदेव (देव शर्मा) (७९१),

९. कश्यपदेव  (८३५),

१०. विकुशभद्र प्रथम  (८५६),

११.हरिशङ्कर  (८७७ं),

१२. शिवशङ्कर  (८९७),

१३. विकुशभद्र द्वितीय  (९२०),

१४ं काशीदास (कुशभद्रा)  (९५०),

१५. जयाकर  (९८०),

१६. शिवदास  (१००५),

१७. विष्णुदास (१०३०)

१८. जयदास (१०५५)

१९. दिवाेदास (१०७७)

२०. धर्मदास (११००)

२१. देवाखर (११२४)

२२. सेवाकर (११५३)

२३. शेखर (११८०)

२४. हाेमकार/इमुकर (१२२०)

२५. रघुनन्दन (१२४२)

२६. भास्कर/सैगुणा (१२६५)

२७. कपिलदेव (१२९०)

२८. जगतानन्द/जयानन्द (१३१५)

२९. जगतमणि (१३४०)

३०. दुर्गादास (१३७५)

३१. विष्णुहरि (१४१०)

३२. कृष्णहरि (१४६०)

३३. गङ्गाधर (१४९०)

३४. हरिदत्त (१५३७)

३५. गजाधर (१५६८)

३६. हेमन्त (१६१०)

३७. कल्याणनाथ (१६४२) । खार्पा र जफेका साझा मूल पुरुष ।

३८. काशीनाथ (१६७४) । जफेली पाेखरेलहरूका मूल पुरुष ।

३९. जयपति (१७०९)

४०. गाैतम (१७४७)

४१. बलिपाध्ये (१७८३)

४२. यज्ञनिधि/परीक्षित  (१८५५) । (ताेरीबारी, इलामका वंशपुरुष)

४३. देवदत्त (१८४७)

४४. रामकान्त (१८८४)

४५. डिल्लिराम (१९२६)

४६. रामनाथ/प्रेमप्रसाद (१९७०)

४७. काेमलप्रसाद (१९९९)

काेमलप्रसाद पाेखरेलकी जेठी श्रीमती लाेकमाया (दिवंगत) र कान्छी श्रीमती धर्मादेवी । छाेराहरू – सूर्यप्रसाद (दिवंगत), तीर्थप्रसाद, गणेशप्रसाद । छाेरी  – कृष्णकुमारी (पुण्यप्रभा) र पुष्पादेवी, / बुहारी – राधा र दीपा । नातिनी- अजिता । नाती- अजित र अभिजित ।

सन्दर्भ सूची

गौतम, टेकनाथ (२०५०), राप्ती अञ्चलको इतिहास तथा केही संस्मरणहरू, काठमाडौं  :
नरहरिनाथ, योगी (२०१३), इतिहासप्रकाश, काठमाडौं ः इतिहासप्रकाश मण्डल ।
———-,योगी, (२०२२), इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, काठमाडौं  :
पोखरेल, कृष्णचन्द्र (२०४२), पोखरेलको वंशावली, काठमाडौं ः कुवेरप्रसाद पोखरेल ।
पोखरेल, डा.माधवप्रसाद (२०५६), काशीदासको ऐतिहासिकता, काठमाडौं  : मध्यमाञ्चल
साहित्य परिषद् ।
पोखरेल, बालकृष्ण (२०६५), जतनपुरे पानी पोखरेलको वंशावली, विराटनगर  : लेखक ।
बज्राचार्य, धनबज्र (२०२८), कर्णाली प्रदेशको ऐतिहासिक रूपरेखा,
मल्ल, मोहनबहादुर (२०३५), सिंजा, इतिहासको गोरेटो, काठमाडौं  : नेराप्रप्र ।
सम्पादक मण्डल (२०५७), पोखरेलको इतिहास, खोटाङ, खार्पा  : रेवामणि पोखरेल ।
सम्पादक मण्डल (२०६०), पौडेल वंशावली, चितवन : आत्रेयवंश अनुसन्धान प्रतिष्ठान ।
शिवपुराण, गीताप्रेस, गोरखपुर ।
श्रीमद्भगवद्गीता, गीताप्रेस, गोरखपुर ।

Advertisements
Standard

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s