Literature

सर्वजाको सार्विक पक्ष

Komal photo259927_106752439417415_395541_n

लेखक

झापाली स्रष्टा तेराख प्रयोगवादी लेखकका रूपमा परिचित छन् । पुस्तकाकार कृतिका रूपमा उनका निकै सिर्जनाहरू प्रकाशित छन् तापनि उनको सर्वजा उपन्यासको स्थूल अध्ययन गर्नु मात्र प्रस्तुत लेखको प्रमुख उद्देश्य हो । साहित्यका मूल विधाहरूमध्ये यो उपन्यास साहित्यिक गद्याख्यान अन्तर्गत रहेको देखिन्छ । यो बृहद् आकारको समसामयिक समाख्यान हो । आख्यानको सामान्य अस्तित्व सार्वकालिक र सार्वदेशिक हुन्छ । यस दृष्टिबाट हेर्दा प्रस्तुत उपन्यासको सामान्य अस्तित्व पनि उपर्युक्त अनुसारनै रहेको पाइन्छ । यो विधा सामान्य आख्यान नभएर एउटा महाख्यान हो । यसको महत्वपूर्ण घटकका रूपमा कथानक र समाख्याता रहेका हुन्छन् । यस उपन्यासको कथानक प्रमुख पात्र सर्वजालाई केन्द्रबिन्दु पारेर वर्तुलित भएको देखिन्छ तापनि त्यो वर्तुलाकारको रेखा ठाउँ ठाउँमा खण्डित भएको छ । सो खण्डित कथानकले पृथ्वीको आकारझैँ गोलो भएर पृथ्वीकै परिभ्रमण गरेको छ । त्यसो त बिचरा पृथ्वी माता पनि सहस्रशः खण्डित छन् र बिन्दु जत्रो उनको एक खन्ड नेपाल पनि सयौँ खण्डमा टुक्रिदै छ । यसरी हेर्दा सर्वजाको कथानकले समसामयिकता प्रदर्शन गरेको देखिन्छ ।
प्रस्तुत उपन्यासको दोस्रो घटक समाख्याता हो र यो म पात्रका रूपमा यहाँ आएको छ । म पात्रका मनोगत क्रियाकलाप नै उपन्यासका अन्तर्वस्तु बनेका छन् । मको पटक पटकको रूपान्तरणले भगवद्गीताको दोस्रा अध्यायको २२सौँ श्लोक— वासांसि जीर्णानि यथा विहाय, नवानि गृह्णाति नरोऽपराणि । तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही ।।
अनुसार पूर्वीय अध्यात्ममूलक पुनर्जन्मको गम्भीर प्रभाव उपन्यासमा परेको अनुभव हुन्छ । यस उपन्यासमा रहेको अन्तरङ्ग प्रथम पुरुषात्मक म पात्रलेसुरुदेखि अन्त्यसम्म अर्थात् सर्वजासँग मकोभेटदेखि उपसंहारसम्म आफ्नाे कथा आफैँ भनेको छ ।
प्रस्तुत उपन्यासमा तेराखले साहित्यको विधागत र रूपगत मानकलाई भत्काएका छन् । उपन्यासको स्थापित परिभाषाले यस कृतिलाई परिभाषित गन सक्तैन । उपन्यास संस्मरणात्म निबन्धजस्तो देखिनु प्रस्तुत उपन्यासको प्रयोगात्मक नवीनता हो । प्रत्येक कृतिले आप्mनो छुट्टै परिभाषा निर्माण गर्ने हुनाले यस कृतिको परिभाषा यसैलाई हेरेर निर्धारण गर्नुपर्ने हुन्छ ।
अन्य औपन्यासिक कृतिकोभन्दा सर्वजाको संरचना अलिक फरक किसिमको छ । यसरी हेर्दा यो अध्याय,भाग,परिच्छेदमा विभक्त छैन । यसभित्र छब्बीस उपशीर्षक रहेका छन् । अब यसलाई उपन्यास अथवा छब्बीसवटा कथाहरूको संग्रह जे पनि भन्न सकिन्छ । यस कृतिका पाठकहरूले छब्बीसवटा छुट्टाछुट्टै शाीर्षकलाई छुट्टाछुट्टै संरचना मान्न पनि सक्छन् । यसो गरेको खण्डमा यो कथा संगालो हुनसक्छ। ; तर छब्बीसवटा शीर्षकहरू परिच्छेद मानिए भने यो उपन्यास हुन्छ । यिनै संरचनात्मक विशेषताले गर्दा यसलाई समालोचकहरूले नवीन कृति मानेका छन् । यसबाहेक यस उपन्यासको अर्को फरक विशेषता के छ भने यसभित्र समायोजित प्रत्येक शीर्षकलाई उपन्यास मान्न सकिन्छ । यसरी हेर्दा सर्वजाले आफ्नाे गर्भमा प्रसस्त अरू उपन्यास बोकेको छ । विश्व ब्रह्माण्डको गर्भभित्र अनेकौं प्रणाली रहेझैं यस उपन्यासभित्र पनि ससाना उपन्यास रहेका छन् ।

यस उपन्यासकाे पहिलो विशेषता आध्यात्मिकता हो । यस विशेषतालाई समालोचक प्राडा गोविन्दराज भट्टराई, कुमारप्रसाद कोइराला र दधिराज सुवेदीले पुष्टि गरिसकेका छन् । यी समालोचकहरूको समालोचकीय दृष्टिसमेतलाई आधार मानी अध्ययन गर्दा प्रस्तुत उपन्यासले हिन्दूवैदिक दर्शनलाईसमेत आत्मसात गरेको पाइन्छ । उपन्यासभित्रको वृक्षश्राद्धको चर्चाले हाम्रा पूर्वीय कर्मकाण्डको रूपमा गरिने एकोद्दिष्ट श्राद्ध, महालय श्राद्ध मात्र होइन यीभन्दा अझ परसम्म पुगेर जीवित र मृत प्राणी मात्रको भलाइका लागि गरिनुपर्ने श्राद्धसंबन्धी विचार नयाँजस्तो देखिए तापनि यो नयाँ चाहिँ होइन । हाम्रा प्राचीन ऋषिमहर्षीहरूले श्राद्ध गर्नु अघि या पछि गरिने तर्पणको अन्त्यमा आब्रह्मस्तम्बपर्यन्तम् भनेर ब्रह्माण्डका यावत् स्थावर र जङ्गम प्राणी जगत्लाई तर्पण दिने प्रचलन अद्यावधि छँदैछ । यसैलाई यहाँ तेराखले वृक्षश्राद्ध भनेको पाइन्छ । यति मात्र होइन यस पुस्तकमा एउटा शीर्षक नै वसुधैव कुटुम्बकम् भन्ने पूर्वीय चिन्तनमा आधारित छ ।

अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्,

परोपकार पुण्याय पापाय परपीडनम्

भन्ने व्यासको धर्मसूत्रको समेत अनुसरण गरी यो उपन्यास लेखिएको मान्न सकिन्छ । सर्वजाको त्रि अक्षरलाई त्रिदेव,त्रिशक्ति,त्रिगुण, स्वरूपमा देख्नुलाई धार्मिक स्मन्वयवादका रूपमा नि सकिन्छ ।

यस उपन्यासको दोस्रो विशेषता मनोविश्लेषणात्मकता हो । यसलाई पनि समालोचकत्रयले नै पुष्टि गरेका छन् । खासगरी साहित्यको मनोविज्ञान भन्नाले लेखकका मनको,पाठकका मनको अथवा पात्रका मनको व्यवस्थित अध्ययन भन्ने बुझिन्छ । फ्रायडका अनुसार सपना र कविता अथवा काल्पनिक कृतिमा समानता पाइन्छ । तर यो कुरा यथार्थवादी साहित्यमा नभएर अतियथार्थवादी साहित्यमा लागु हुन्छ । ‘कलाकार मनस्तापी व्यक्ति भएकाले ऊ कलामा आफ्नै मनस्तापलाई व्यक्त गर्छ‘’ भन्ने फ्राइडको भनाइका आधारमा यो उपन्यास तेराखको मनस्तापको सफल उदात्तीकरणको नमुना हो । डा गोविन्दराजका भनाइमा यस उपन्यासको सम्पूर्ण कथा मनोवाद र एकालाप हो । त्यसमा पनि कामवासनाको उखरमाउलोबाट अन्तु डाँडामा बक्बकाउनु तथा यौनले धतुलाएको को पहाडी यात्रा र सर्वजाका दुई रूप जस्ता शीर्षकहरूमा उपन्यासकारको प्रतिनिधि पात्र मको मनोवाद कामवृत्तितिर उन्मुख मनःस्नायुविकृतिले ग्रस्त छ कि जस्तो लाग्छ । यसमा लेखकको भनाइ अभिधार्थक नभएर ध्वन्यार्थक भएको भए यो स्थिति ऋणात्मक बन्ने थियो ।

जैविक अद्वैतवाद यसको तेस्रो विशेषता हो । वृक्षश्राद्धबाट वनस्पतिजगत्प्रति श्रद्धाभाव प्रकट गर्नु, एकोऽहम् बहुष्याम भन्ने पूर्वीय मान्यताको अनुसरण गर्नु, रूपान्तरणमा विश्वास गर्नु तथा पृथ्वीमा भएका झारपात, वनस्पति, नदीनाला, पहाड,माटो, पानी, तेज वायु,आकाश आदि र मानिसमा एकत्वभाव राख्नु जस्ता कुराले एकोऽहम् द्वितीयो नास्ति भन्ने उक्तिकाे स्मरण गराउँछ । उपर्युक्त दुई भनाइमा पहिलोले आत्मा र दोस्रोले परमात्माको स्मरण गराउँछन् । यस विशेताको पुष्टि  पनि उपर्युक्त तिन जना समालोचकले गरेका छन् ।
यसको चौथो विशेषता दार्शनिकता हो । यस कृतिको मुख्य वेदान्त दर्शन जीव र प्रकृति अथवा पुरुष र पकृ्तिमा आधारित छ । यी दुवै कहिल्यै नजन्मने र कहिल्यै नमर्ने भएकाले पुरुषलाई अज र प्रकृतिलाई अजा भन्ने गरेको पाइन्छ । सर्वजाकी सर्वजाले प्रकृति र पुरुष दुबैको प्रतिनिधित्व गरेको देखिन्छ । यस उपन्यासकी प्रमुख पात्र सर्वजालाई परा शक्तिका रूपमा र पृथ्वी,जल,अग्नि,वायु,आकाश,मन,बुद्धि र अहङ्कार जस्ता विभिन्न तत्वलाई अपरा शत्तिका रूपमा लिन सकिन्छ । यसरी हेर्दा प्रस्तुत कृतिमा द्वैताद्वैतवादी दर्शनको प्रभाव परेको देखिन्छ ।  । समालोचक भट्टराई  सुवेदीद्वयले सर्वजामा पूवीैय दर्शन घुसेको छ भन्ने कुरा स्विकारेका छन्।

यसरी पात्रहरूमा मानवेतर शक्ति आरोपित गर्ने कला उत्तरआधुनिक अनेक आख्यानमा पाइन्छ  (भट्टरार्इ) ।

सर्वजा अपरम्परित छ, प्रयोगपरक छ, उत्तरआधुनिक छ । एउटै उपन्यासभित्र अनेक वाद मिसिनु उपन्यासको बहुलवादी चरित्र हो भने बहुलवादी चरित्र हुनु नै उत्तरआधुनिकता हो (कोइराला)।  

अन्त्यमा सिर्जनाको सिद्धान्तमा बहुलवाद नै उत्तरआधुनिक प्रयोग भनिदै आएको आजको सन्दर्भमा प्रस्तुत उपन्यास धेरै अगाडि बढेको अनुभव हुन्छ (सुवेदी,२०६१ )।

यसरी तिनजना समालोचकले यस उपन्यासको औपन्यासिक विशेषताका रूपमा रहेको उत्तरआधुनिकतालाई सकारेका छन् भने अर्का समालोचक राजेन्द्र सुवेदीको भनाइ भने अलिक फरक किसिमको छ । उनका विचारमा यो उपन्यास उत्तरसंस्कृतिको संयोजन हो । उनले उत्तरसंस्कृतिवाद किंवा उत्तरसंंरचनावादका विशेषता केलाउने क्रममा यसभित्र विभग्नता, विवस्तुता, विपात्रता, विपरिवेशात्मकता, विमिथकीयता, विधाविभग्नता जस्ता विशेषताको उल्लेख गरेका छन् । उत्तर संरचनावादलाई विकसित तुल्याउने प्रमुख चिन्तकहरू रोलाँ बार्थ,जाक लकँ, जाक डेरिडा हुन् भने उत्तरआधुनिकताको सिद्धान्त प्रतिपादनमा पनि यिनिहरूकै महत्त्वपूर्ण भूमिका रहको पाइन्छ । यसरी हेर्दा उत्तरसंस्कृतिवाद, उत्तरसंरचनावाद र उत्तरआधुनिकतावाद उस्तैउस्तै देखिन्छन् । यसो हुँदा उपर्युक्त सबै समालोचकको कुरा ठ्याक्कै मिलेको देखिन्छ । उपर्युक्त वादहरूका आलोकमा सर्वजाको अध्ययन गर्दा यसका प्रमुख प्रवृत्तिहरू निम्नानुसार रहेका पाइन्छन् —
१. विधा विचलन (एउटै विधामा परिभाषित नहुनु)
२. संस्कृति विचलन (बहु सस्कृतिको अनुसरण गर्नु)
३. वैचारिकता विचलन (एउटै विचारमा नअडिनु)
४. संरचना विचलन (विधागत संरचना भत्काउनु)
५. अन्विति विचलन  (अन्वितित्रयको नामनिसान नरहनु)
६. आयाम विचलन (अनुच्छेद,अध्याय आदिको आयाममा अनेकरूपता हुनुु)

७. मानसिकता विचलन (लेखकको मानसिकता मनोरोगीको जस्तो हुनु)

प्रस्तुत उपन्यासले विश्वका महत्वपूर्ण कुराहरूमा समन्वय कायम गरेकोछ । विश्वधर्म समन्वय,साँस्कृतिक समन्वय, एैतिहासिक समन्वय, भौगोलिक समन्वय,सर्वदर्शनगत समन्वय, प्राकृतिक समन्वय, लैङ्गिक समन्वय,जातिगत समन्वय,रङ्गगत समन्वय जस्ता कुराहरू उपन्यासभित्र समेटिएका हुनाले यस उपन्यासलाई समन्वयवादी उपन्यास भन्न सकिन्छ । यसो भन्नुको अर्थ प्रस्तुत उपन्यासको एउटा विशेषता समन्वयात्मकता पनि हो ।
सर्वजाले हिन्दू धर्म, इस्लाम धर्म, क्रिस्चियन धर्म, बुद्ध धर्म लगायत विश्वका सवै धर्म र संप्रदायलाई उत्तिकै प्राथमिकता दिएर विश्वधर्मसमन्वयको वकालत गरेको छ । विविध धर्म हुनु एउटै धर्मको रूपान्तरण मात्र हो भन्ने कुरा उपन्यासले सकारेको छ तापनि एसियालाई महान् धर्म,दर्शन र चिन्तनको उद्गमस्थलका रूपमा स्विकारेर लेखकले पूर्वीय अध्यात्म दर्शनप्रति आफ्नो आस्था, श्रद्धा र विश्वास प्रकट गरेका छन् । त्यसैगरी पौरस्त्य र पाश्चात्य संस्कृति जस्ता विश्वका प्रमुख संस्कृतिको समन्वयको कुरा मात्र होइन विश्व ब्रह्माण्डकै सांस्कृतिक समन्वयको कुरा उठेको छ यस उपन्यासमा । माथि उल्लेख गरिएका  सालोचकहरू सबैले सर्वजालाई समन्वयवादी उपन्यासमानेका छन् ।
प्रयोगपरकता यस उपन्यासको अर्को नौल्याइँ हो । मयवादको कुरा उठाउने तेराखले साहित्यमा मात्र होइन सर्वत्र मयवाद छ भन्न खोजेका छन् । सर्वजामा ब्रह्ममयं जगत् , देवीमयं जगत् , नारीमयं जगत् , प्रकृतिमयं जगत् , यौनमयं जगत् , ज्ञानमयं जगत् , पञ्चमहाभूतमयं जगत् , अन्तरिक्षमयं जगत् , जीवमयं जगत् , वनस्पतिमयं जगत् , जलस्थलमयं जगत् , संस्कृतिमयं जगत् जस्ता कुरालाई बीजमन्त्रका रूपमा लिएको पाइन्छ । उपर्युक्त बाहेक यस चराचर जगत्लाई उनले द्वैताद्वैतमयका रूपमा पनि लिएका छन् । यसरी हेर्दा

जले विष्णुः स्थले विष्णुः विष्णुः पर्वतमस्तके ।

ज्वालामाला कुले विष्णुः, सर्वं विष्णुमयं जगत्

भन्ने पूर्वीय दार्शनिक विचारलाई मयवादका रूपमा आत्मसात् गरेको पाइन्छ । यो प्रयोगको एउटा उदाहरण हो ।
केही विद्वान्हरूले साहित्यमा प्रयोगलाई पनि एउटा वादका रूपमा लिने गरेको छ तापनि केही विद्वान्हरूले भने यसलाई वाद मानेका छैनन् । साहित्य सिर्जनाको समग्र परंपराबाट मुक्त भएर नयाँपनको प्रयोग र आविष्कार गर्नु वा त्यसको अनुसरण गर्नु प्रयोगवाद हो । शैलीविन्यास , वाक्यविन्यास , दर्शन , दृष्टिकोण , स्थापित मान्यता , परंपरामध्ये कुनै एक वा सवैलाई भत्काएर पनि सर्जकले आफ्नो सिर्जनालाई जीवित राख्ने चेष्टा गर्नुलाई प्रयोगवाद भन्न सकिन्छ । हिन्दी साहित्यका समीक्षकहरुले त्यहाँको प्रयोगवादी कवितामा मूलतः चार प्रवृत्ति रहेको देखाएका छन् , जस्तै, नवीन र विचित्र प्रयोगद्वारा पाठकलाई आश्चर्यचकित पार्नु, कवितालाई अकविता बनाउनु अर्थात् काव्य र गद्यको मौलिक अन्तर मेट्नु ,समस्त मान्य धारणा र परम्परालाई अस्विकार गर्नु, विवेचन, विशलेषण र खण्डन—मण्डन गर्नु आदि । नेपालका प्रयोगवादी साहित्यकारहरुको प्रवृत्ति पनि भारतका प्रयोगवादी साहित्यकारहरुको जस्तै छ , किनभने नेपालका प्रयोगवादी प्रवृत्तिहरु प्रायः आयातित नै देखिएका छन् । यस उपन्यासले पनि आंशिक रूपमा उपर्युुुक्त अनुसारकै प्रवृत्ति ग्रहण गरेको देखिन्छ । सर्वजा प्रयोगपरक छ भन्ने कुरामा भट्टराई, सुवेदीद्वय, कोइराला, जस्ता समालोचकहरु सहमत देखिएका छन् ।
रूपान्तरणात्मकता यस उपन्यासको अर्को विशेषता हो । हिन्दू दर्शनको पुनर्जन्मलाई लेखकले रूपान्तरण भनेको हुनसक्छ । श्रीमद्भगवद्गीताको

वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि,

तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देहि ।

भन्ने गीताको पुनर्जन्मपरक दर्शनलाई उपन्यासले आफ्नो भावभूमि बनाएको छ । अधियथार्थकै रुपमा भएपनि विभिन्न मानव जाति, वनस्पति, फूल, आदिमा आफ्नाे  रुपान्तरणात्मक पुनर्जन्म देखाएर यहाँ लेखकले हिन्दू दर्शनप्रति  अगाध आस्था देखाएका छन् । समालोचक कुमारप्रसाद कोइराला भन्छन् रुपान्तरण आन्तरिक र बाह्य दुई किसिमको हुन्छ । भावना, मन, धर्म, संस्कृति बाहिरी रुपान्तरण हो भने वनस्पति पशुप्राणीमा र पशुप्राणीहरु वनस्पतिमा रुपान्तरण हुनु भित्री रुपान्तरण हो । उपर्युल्लिखित चारैजना समालोचकहरुले सर्वजाभित्रको रुपान्तरणलाई विशेषता मानेका छन् ।
स्वैरकाल्पनिकतालाई यस उपन्यासको सर्वव्यापक विशेषताका रुपमा लिन सकिन्छ । यस उपन्यासको अधिकतम प्रतिशत स्वैरकल्पनाले ओगटेको देखिन्छ भने केही प्रतिशत यथार्थले ओगटेको पाइन्छ । स्वैरकल्पनात्मक कथानक दुई किसिमको हुन्छ, यथार्थवादी स्वैरकल्पनात्मक कथानक र भावनाप्रधान स्वैरकल्पनात्मक कथानक । यस उपन्यासका कथानकको अधिकांश भाग भावनात्मक स्वैरकल्पनाले लिएको पाइन्छ । यसरी हेर्दा म पात्र, केही व्यक्तिपात्र, स्थानवाचक नाम मात्र याथार्थवादी स्वैरकाल्पनिक देखिन्छन् । प्रस्तुत उपन्यास आधारभूमिको परिवेशमा आरम्भ भएर स्वैरकल्पनाको अमूर्त परिवेशतिर उन्मुख भएको छ । प्रा राजेन्द्र सुवेदीको यस भनाइबाट पनि यो उपन्यास स्वैरकल्पनात्मक हो भन्न सकिन्छ । डा कुमारप्रसाद कोइरालाका विचारमा यस उपन्यासको कथावस्तु स्वैरकल्पना र यथार्थको सम्मिश्रणबाट तयार भएको छ ।
त्योभन्दा ठुलो कुरो उनी नारीलाई यथार्थवादी आध्यात्मिक उचाइ प्रदान गर्दछन् ( डा भट्टराई, भूमिकाः ट ) । यस भनाइबाट के थाहा पाउन सकिन्छ भने प्रस्तुत उपन्यासले नारीलाई सर्वश्रेष्ठ मानेर उपन्यासको शीर्षक नै नारीका नाममा राख्नु नारीप्रतिको श्रद्धा र पे्रम हो । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता जस्तो पवित्र आर्षवचनको उद्घोष गर्ने वैदिक सूक्त एवं उपनिषद्का आलोकमा लेखकले नारीप्रधान उपन्यास लेखेको हुन सक्छ ; तर स्त्रीहरु यथार्थमा कसैका प्रिय छैनन्, यिनीहरु एकसंग कुरा गर्छन् त अर्कोसंग यौन विलासका दृष्टिले हेर्दछन्, निदानमा यिनीहरुले आफ्ना हृदयमा अर्कैको चाहना राखिराखेका हुन्छन् जस्ता अर्थ बोकेको श्रृङ्गार शतकका श्लोकहरुलाई महत्वकासाथ उपन्यासमा समावेश गरेर नारीप्रति अन्याय पनि गरिएको छ । यसलाई कृतिको निकै ठुलो सीमाका रुपमा लिन सकिन्छ । यसरी यो उपन्यास पूर्णतया नारीपक्षपाती नदेखिएकोले यसलाई नारीवादी उपन्यास नभनेर नवनारीवादी उपन्यास भन्नु उपयुक्त देन्छि ।
उपन्यासको पर्यावरणीयतालाई यहाँ ११औँ विशेषताकका रुपमा लिइएको छ । यस ब्रह्माण्डभित्रका समस्त स्थावर–जङ्गम प्राणी जगत्प्रति प्रेमास्था प्रकट गनु पर्यावरणीयता हो । यस विषयमा डा भट्टराई सर्वजाको भूमिकामा लेख्छन्—आज इकोसिस्टमले त्यही भन्छ, आज ब्रह्माण्डका ब्ल्याकहोलले त्यही भन्छ—हामीले पृथ्वी डढाउदैछौँ, पोल्दैछौँ, नास्दैछौँ आफ्नै वासस्थानलाई । हाम्रा हिन्दू जगत्ले हजारौँ वर्षदेखि गरेको पुकारा कसैले सुनेका थिएनन् । उपन्यासले भन्छ—झारपात, वनस्पति, नदीनाला, पहाड, वृक्ष, जल, वायु, तेज यावत् कुराहरु यथावत् हुनुपर्छ । पृथ्वीको कणकण जीवित पदार्थ हो, त्यो नष्ट हुदैन, परिवर्तित हुन्छ …….। यी सबै तत्वहरु एउटा अज्ञात आकर्षणले तानिएर एकै ठाउँमा एउटै अस्तित्वमा गाँसिएका छन् । त्यो महत्व बुझेर सृष्टिका सारा वनस्पति र जीवमाथि प्रेमको दृष्टिले हेर्नु पर्छ । डा भट्टराईको उपर्युक्त विचार हजारौँ वर्षअघि रचना गरिएको वैदिक उपनिषदीय सूत्र वसुधैव मुटुम्बकम्मा आधारित छ । यही सूक्तिलाई पश्चिममा पर्यावरणवाद भन्न थालेका रहेछन् भर्खर मात्र । तेराखको सर्वजामा वसुधैव कुटुम्बकम् नै पर्यावरणीयतामा रुपान्तरित भएको पाइन्छ ।
सार्वदेशिकता यस उपन्यासको १२औँ विशेषता हो । यसमा पूर्वीय हिन्दू–वैदिक धर्म, बौद्ध धर्म,सिख धर्म, इस्लाम धर्म, पश्चिमका क्रिस्चियन धर्म लगायत विश्वका सवै धर्मको कुरा उठेको छ । पृथ्वीका यावत् जलचर, स्थलचर,खेचर प्राणीहरु र वनस्पति, ढुङ्गा, माटा,े पानी विश्वका साझा सम्पत्ति हुन् । पश्चिमबाट उठान भएका साहित्यका विभिन्न वाद र प्रयोगहरु र पूर्वका विभिन्न धर्म र दर्शनहरु सार्वदेशिक भइसकेका छन् । यिनै वैश्विक विषयवस्तुको चयन भएको हुनाले सार्वदेशिकतालाई यस उपन्यासको विशेषताका रूपमा लिइएको छ । डा. भट्टराई यो उपन्यास सार्वदेशिक छ भनेर यसरी लेख्छन् — उनी सार्वदेशिक, सार्वकालिक भएर त्यहाँ उभिन्छन्, सर्वदृश्य हुन्छन् ।
अन्तरभावना अनुसार प्रत्येक मान्छेको आआफ्नै नै किसिमको दृष्टि रहेको हुन्छ भन्ने कुरा व्यासकृत श्रीमद्भागवत दशमस्कन्ध ४३औँ अध्यायको १७औँ श्लोकले बताएको छ ःकंसको रंगशालामा कुस्ती खेल्न पुगेका कृष्ण र बलरामलाई रंगशालामा उपस्थित दर्शकहरुले आआफ्नै भावना अनुरुप यसरी देखेका थिएः

*पहलमानहरुले वज्रझैँ कठोर शरीर भएकाव्यत्तिका रुपमा,
*साधारण मानिसले नररत्नका रुपमा,
*नवयौवना स्त्रीहरुले मूर्तिमान् कामदेवका रुपमा,
*गोपहरुले आफन्त व्यक्तिका रुपमा,
*दुष्टहरुले दण्ड दिने शासकका रुपमा,
*मातापिता समान वृद्धहरुले शिशुका रुपमा,

*कंसले आफ्नो मृत्युका रुपमा,

*योगीहरुले परमतत्वका रुपमा,

*अज्ञानीले सामान्य छेत्री केटाका
*वृष्णिवंशीयहरुले इष्टदेवका रुपमा ।
उपर्युक्त दृष्टान्त यस लेखमा पनि सान्दर्भिक देखिएको छ ; किनभने हामी पूर्वेलीहरु कसैले पश्चिमबाट सूर्य उदाउँछ भन्यो भने अँ होत्त नि ! भन्दै त्यतै दगुर्छौं, साहित्यको पाठक प्रतिक्रिया सिद्धान्तलाई पश्चिमतिरबाट आएको भनी ठोकुवा गर्छौं, यसको स्थापना र प्रयोग सन् १९७०को दशकमा अमेरिकामा भएको मान्छौं; तर पौराणिक कालदेखि नै दर्शक वा पाठकलाई अधिकतम महत्व दिंदै आएको व्यासको उपर्युक्त दर्शनलाई मान्दैनौं; किनभने हाम्रो मन मस्तिष्क नै पराभिमुख छ । यसको प्रत्यक्ष प्रमाण खोज्न टाढा जानु पर्दैन । हामी हाम्रै देशको अमूल्य जडीबुटीबाट तयार भएको दवाईको खोल हेरेर भन्छौं—अँ नेपालको भन्दा यो भारतीय दवाई राम्रो हुन्छ । यी पूर्वका हाम्रा र पश्चिमका अरुका कुरा जे जसो भएतापनि सर्वजालाई हृरेर यहाँ के भन्न खोजिएको हो भने पाठक प्रतिक्रिया सिद्धान्त पूर्व र पश्चिम दुवैतिरका समालोचकहरुले मानेको सिद्धान्त रहेछ । यस सिद्धान्तका आधारमा प्रस्तुत उपन्यासलाई विभिन्न पाठक वा समालोचकले आआप्mना भावनात्मक आँखाले हेर्दा यसप्रकार देख्न सक्ने भए
पाठक÷समालोचक उनीहरुको हेराइ
१. स्वच्छन्दतावाद  : कल्पनात्मकता र भावुकताको चित्रण ।
२. यथार्थवादी  : स्वप्नवत् यथार्थ (जादुगरीय यथार्थ) को चित्रण ।
३. उत्तरआधुनिकतावादी  : खिच्रोजस्तै विविध विषयवस्तु र स्वादयुक्त राम्रो कृति ।
४. स्वैरकल्पनावादी  : सत्य एवं तथ्यको अतिक्रमण गरी लेखिएको सुन्दर कृति
५. लीलावादी  : लेखकको भ्रमपूर्ण खेल वा लीलाको उत्तम संग्रह ।
६. नारीवादी  : विश्व नारीमय छ तर नारीलाई विस्वास गर्नु नहुने रहेछ
७. यौनवादी  : कुनै टपिक्स त पढेर कहिल्यै नअघाइने क्या मीठो कृति !
८. माक्र्सवादी  : माक्र्सवादी सौन्दर्यशास्त्रको परित्याग÷ भ्रमको खेती
९. नवमाक्र्सवादी : लेखक माक्र्सवादी, कृति अतियथार्थवादीः सुन्दर नवप्रयोग
१०. मनोचिकित्सक  : यस कृतिका लेखक मनोरोगी पो छन् कि !
११. सर्वसाधारण  : यस पुस्तकमा कताको जिली, कताको गाँठी केही थाहा भएन
१२. अध्यात्मवादी  : प्रगतिवादी लेखकको अध्यात्मवादी चिन्तन सारै राम्रो लाग्यो
उपर्युक्त हेराइहरु केही सीमित पाठक वा समीक्षकका हेराइ मात्र हुन् । यिनका अतिरिक्त मान्छेका भावना पिच्छेका अन्य अनगिन्ती हेराइ हुनसक्छन् । यस किसिमको हेराइ÷दृष्टिबाट के थाहा पाउन सकिन्छ भने कुनै पनि कृति छापी लोकार्पणमस्तु गरेर लोकलाई जिम्मा लाएपछि लेखक स्वतः हराउँदो रहेछ । अब जस्ले जे देख्यो, जे लेख्यो त्यही नै ठीक । यहाँ यस लेखमा लेखिएका पनि ठीक अन्यत्र अरुले लेखेको पनि ठीक ।
सन्दर्भसूची
उप्रेती, सन्जीव, ( २०६८ ), सिद्धान्तकाकुरा, काठमाडौंः उपलब्धि प्रकासन प्रा लि ।
कोइराला, कुममारप्रसाद ( २०६७ ), बहुलवादी उपन्यास टुँडालमा आँखा
बल्झिँदा, गरिमा, वर्ष २८, अंक १२ ।
———— ( २०६१ ), सर्वजालाई सर्सर्ती हेर्दा ( नोबेल साहित्य वार्षिक
पत्रिका ), काठमाडौं ः नोवेल एकेडेमी
गौतम, कृष्ण (दोस्रो स २०५०), आधुनिक आलोचनाःअनेकरूप अनेक पठन, ललितपुरः साझा प्रकाशन ।
तेराख, ( २०६० ) सर्वजा, झापा ः तेजराज खतिवडा ।
भट्टराई, गाविन्दराज ( २०५५ ), नेपाली साहित्यकोश, काठमाडौं ः ने। रा। प्र। प्र। ।
—————————( २०६० ), सर्वजा ( भूमिका ), झपा ः तेजराज खतिवडा ।
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल ( २०६३) पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त
( दो. स. ) काठाडौं ः विद्याथी पुस्तक भण्डार ।
शर्मा, मोहनराज ( २०५५ ) समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं ः
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
————आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना, काठमाडौं ः क्वेस्ट
पब्लिकेसन ।
सुवेदी, दधिराज ( २०६१ ), सर्वजा उपन्यासको सम्पूर्णता र रूपान्तरण प्रक्रिया, विराटनगर ः प्रतिभा पुरस्कार प्रतिष्ठान ।
सुवेदी, राजेन्द्र ( २०६२/६३ ) सर्वजा उपन्यास ः नवचेतनात्मक मूल्यका सन्दर्भमा,
कुञ्जिनी, साहित्य समालोचना विशेषाङ्क, काठमाडौं ः नेपाली केन्द्रीय विभाग,
त्रि.वि. ।

.

Advertisements
Standard

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s